१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

देखाउनको लागि सम्झौता गर्दैनौँ

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो पहिलो औपचारिक विदेश भ्रमणको लागि चीन जाने भएका छन्। चीनको हाईनान प्रान्तको प्रान्तीय दिवसमा प्रमुख अतिथीको निम्तो मान्न उनी त्यहाँ जान लागेका हुन्।

मंगलबार चीनतर्फ लाग्ने भएतापनि गुरुङले सोमबार बिहान पोखरा विमानस्थलमा पत्रकार सम्मेलन गरेका छन्। पत्रकार सम्मेलनमा उनले प्रदेशको आवश्यकता अनुसार लगानी र अनुदानका लागि आह्वान गर्ने बताए। नेपाल सरकारले पनि विगतमा गरेका दातृ सम्झौताहरु कार्यान्वयन नहुने समस्या प्रति पत्रकारको चासोलाई उनले उधारो सम्झौता नगर्ने बताएका छन्।

‘संघमा समझदारी कार्यान्वयन नहुनु भनेको उधारो सम्झौताको कारण हो। हामी उधारो सम्झौता गर्दैनौं। आपसी समझदारी गर्छौं तर देखाउनकै लागि धेरै सम्झौता हुँदैनन्, उनले भने–आफ्ना स्वार्थ र हित, समृद्धी, लक्ष्यसँग मिल्ने कुरामा मात्रै हाम्रो ध्यान छ। साझेदारी मात्रै हुन्छ अन्तिम सम्झौता हुँदैन। लगानी केन्द्रित गर्न गृहकार्य गरेर आउने हो।’

गण्डकी सरकार गठन भएको करिब ८ महिनासम्म सरकारले रोडम्याप (गुरुयोजना) बनाउन सकेको छैन। तर प्राथमिकताका क्षेत्रहरु मात्रै भ्रमणमा छलफल हुने उनको भनाई छ। ‘हामीसँग कुनै डिपिआर छैन, सम्भाव्यता अध्ययन भएका छैनन्। तर, सम्भावनाका क्षेत्र देखाएर फर्किन्छौं, उनी भन्छन्, ‘यो भ्रमणबाट हौसिनुपर्ने कुरा छैन। स्वार्थ विना कसैले लगानीगर्न खोज्दैन, त्यही स्वार्थभित्र हाम्रो फाईदा खोज्ने हो। हाम्रा योजना र लक्ष्य सुनाउँछौं।’

भ्रमणको क्रममा गण्डकी प्रदेशले प्राविधिक शिक्षालय, अन्तराष्ट्रिय सम्मेलन केन्द्र, होमस्टे, अर्गानिक कृषि उत्पादन, हाईड्रो र सोलार उर्जा, प्रदेश भित्रका हरेक स्थानीयतहका केन्द्रमा सडक सञ्जाल विस्तार, विशेष औद्योगिक क्षेत्र निर्माणका लागि साझेदारी गर्ने केही सम्झौताहरु हुने मुख्यमन्त्री गुरुङले जानकारी दिए।

मुख्यमन्त्री गुरुङले हाईनान प्रान्तका प्राविधिक शिक्षालय, सम्मेलन केन्द्र, हाईड्रो र सोलार उर्जाको अवलोकन गर्ने कार्यक्रम रहेको मुख्यन्यायधिवक्ता राजेन्द्र घिमिरेले जानकारी दिए। उनले दुई प्रदेशबीच साझेदारी सम्झौतामात्रै हुने बताए।

‘सहयोग पायौं भन्दैमा अन्धाधुन्ध सहयोग लिने होईन। हाम्रा प्राथमिकताका क्षेत्रमा मात्रै सहयोग लिन्छौं, उनले भने, ‘म्यचुअल एग्रिमेन्ट हुन्छ।’ उनका अनुसार हाईनान र गण्डकी प्रदेशबीच भगिनी सम्बन्ध पनि कायम हुनेछ।

चीनमा सात दिने बिताउने मुख्यमन्त्रीको भ्रमण टोलीमा गण्डकी प्रदेशका मुख्यन्यायधिवक्ता राजेन्द्र घिमिरे, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्मा र प्रमुख सचिव लक्ष्मीराम पौडेल सहभागी छन्। यसबाहेक पर्यटन र उद्योग तथा वाणिज्यका क्षेत्रबाट पनि सहभागि हुनेछन् । टोली असोज १५ गते नेपाल फर्कने छ।

 

प्रकाशित: ८ आश्विन २०७५ ०८:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App