१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

अधिनायकवादको लोकप्रियता

तामिलनाडुको तूतुकुडीमा अनुसन्धानकर्ता लोइस सोफियालाई भदौ १८ गते प्रहरीले गिरफ्तार ग-यो। उनीमाथिको अभियोग थियो– भारतीय जनता पार्टीको सरकारविरुद्ध नाराबाजी गरेको। भाजपाका तामिलनाडु राज्यप्रमुख तामिलिसिया सोन्दारा राजनले सोफियाविरुद्ध आफूले प्रहरीमा उजुरी गरेको बताइन् । सोफियाले ‘‘मुठ्ठी कसेर ‘फासीवादी’ भन्दै सरकारको विरोध गरेकाले त्यस्ता आतंकवादीलाई छोड्न हुन्न’’ भन्ने तामिलिसियाको तर्क थियो । चेन्नईदेखि तूतुकुडीसम्मको विमानयात्रामा सोफिया र तामिलिसिया एउटै विमानमा सवार थिए। विमानमा सोफियाले ‘भाजपाको फासीवादी सरकार–मूर्दावाद’को नारा लगाएकी थिइन्।

केही साताअघि भारतीय प्रहरीले भारतभरिका विख्यात अधिकारकर्मीहरूका घर र कार्यालयमा छापा मारे । उनीहरूमध्ये पाँच जनालाई गिरफ्तार गरियो । प्रहरीले पुणे अदालतसमक्ष ती अधिकारकर्मीले सरकारको विरोधमा ‘फासीवादविरोधी’ मोर्चा बनाएको अभियोग लगायो।

यी दुवै घटना मन बिथोल्ने खालका छन् । यी घटनामा प्रदर्शित विरोधाभास र अज्ञानता हास्यास्पद छ। दुःखद् कुरा, भारतीय जनता पार्टीले शासन चलाइरहेको आजको भारतमा भिन्न मत राख्नेहरूका लागि निकै साँघुरो ठाउँ मात्र बाँकी छ। सरकार वा उसको आक्रामक विचारधाराको आलोचना गर्ने अधिकारकर्मी, पत्रकार, वकिल, लेखक, शिक्षक, कलाकार वा अभिनेता जो कोही आज सरकारी निशानामा पर्ने खतरा छ । त्यस्ता व्यक्तिहरूको सन्दर्भमा राज्यले कि त उसले उपयोग गर्दै आएको आयको स्रोतमाथि जथाभावी कटौती गर्ने गर्छ, लेखापरीक्षणको आदेश दिने गर्छ, छापा मार्ने वा गिरफ्तारीका लागि आदेश दिने गर्छ। त्यत्तिले पनि नपुगे भाजपाका समर्थकहरूमार्फत त्यस्ता व्यक्तिलाई कुटपिट गर्ने वा भौतिक हमलाको धम्की दिने गर्छ । धर्मनिरपेक्ष बन्नु नै आज राष्ट्रविरोधी हुने भएको छ । फासीवादको विरोध गर्नु नै आतंकवादी हुने भएको छ । जंगली आरोपको भारी अन्त्यहीन गरेको छ।

तर किन यस्तो भइरहेको छ?

अतृप्त चाहना
प्रचारमुखी नेताहरू शक्तिका निम्ति उत्तेजनात्मक गतिविधिमा विश्वास गर्छन् तर घृणा भने सधैँ टिकाउन गाह्रो हुने गर्छ । सुरुमा भिन्न मतमाथिको दमनलाई धेरैले तुरुन्तै प्रशंसा गरेका थिए । हिन्दु राष्ट्रवादको विचार प्रवद्र्धन गर्न आवश्यक आक्रामक कदमका रूपमा त्यसलाई लिइएको थियो । भारतीय जनता पार्टीले गरेका राजनीतिक अभियानले धार्मिक अल्पसङ्ख्यक हुनु नै देशद्रोही बन्नु जस्तो वातावरण बनाइयो । दलित तथा आदिवासी समूहसहित गरिब र सीमान्तीकृत जनतालाई थप सामाजिक सुरक्षाको माग गर्नुलाई निषेध गरियो । मानवअधिकार रक्षाका लागि लडिरहेका समूह वा व्यक्तिमाथि देशको माया नभएको भनी सिध्याउन खोजियो।

सरकारले जब रोजगार र विकासका मागको खिल्ली उडाउन थाल्यो, अतृप्त चाहनामाथिको निराशा ठूलो चुनौती बन्दै गयो । सरकारप्रतिको समर्थन क्रमशः खस्कँदै गयो । दूराचारी नीतिका कारण जनजीवन असहज बन्दै गयो । लोइस सोफियाले भाजपाका नेताको विरोधमा नाराबाजी गरिन् । अरु विद्यार्थीले काला झन्डा देखाए।

आज भारतको अवस्था कुनै रंगशालाजस्तो महसुस हुन्छ जहा“ घरेलु टिमले खेल हार्दैछ । खेलमा विदेशी टोली हाबी बन्दै गएपछि आफ्नो देशको टिमलाई समर्थन गर्न रंगशालामा भेला भएका सबै समर्थकको उत्साहको पारो तल झरेजस्तो भइरहेको छ । उनीहरूले अनुहारभरि आफ्नो देशको समर्थनमा पोतेर आएको रंग खुलिएजस्तो भइरहेको छ । उनीहरूले गाउन ठिक्क बनाएको गीत र नाराले आवाज गुमाएजस्तो भएको छ । धेरै चाँडो त्यस्तो समर्थन केही भित्रियाको हल्लामा सीमित हुनेछ । उनीहरूको त्यो आवाजको थप प्रतिध्वनि सुनिनेछैन । अन्ततः तिनै मुठ्ठीभर मानिसले पनि वरपर हेर्दा जताततै समस्या नै समस्याको थुप्रो देख्ने गर्छन्।

सन् २०१४ मा भारतीय जनता पार्टी सरकारमा पुग्दा उठेको जनसमर्थनको उभार आज मृत्युशय्यामा पुगिसकेको छ । यसको एउटै कारण भनेको मोदी सरकारको अधिनायकवादी शासन हो।

बढ्दो अत्याचार
भारतीय जनता बहस छलफलमा रमाउने गर्छन् । तर अहिले स्वतन्त्र मिडियालाई नत्थी लगाइएको छ । कसैले मुसलमानहरूमाथि अविश्वास गर्न सक्छ तर गौरक्षक नामका भिजिलान्तेहरूबाट गोठालाहरूमाथिको आक्रमण गरिन्छ र ती अपराधीलाई भने सजायबाट जोगाइन्छ भने त्यो सन्देहको विषय बन्न पुग्छ । साधुलाई सुलीको उखान चरितार्थ गरिन्छ।

भारत कथा, कला र चलचित्रको लामो परम्परा बोकेको देश हो । आज ती क्षेत्रले एकै रंगको भाकामाथि प्रश्न गर्न थालेका छन् । आज ती क्षेत्रले मुसलमान भएकै कारण एक जना सानी केटीको बलात्कार भएको हेरी बस्न सकेका छैनन् । त्यसमाथि दोषीलाई सरकारले नै संरक्षण दिएको सह्य कुरा हुन सक्दैन। दलितमाथिको दमन र उनीहरूलाई आत्मपहिचानको अधिकार समेतबाट वञ्चित गर्ने चालबाजी ज्यादै दयनीय र दुःखद् हो।

मोदी सरकारले सुधारको लागि आलोचना अपरिहार्य भएको र कसैको आवाजमाथि दमनको भाषा बोल्दैमा समस्या समाधान नहुने पाठ सिकेर अझै पनि राम्रा काम गर्ने समय गुमाइसकेको छैन।

फेरि खेलकुदकै उदाहरण लिऊँ, शुरुमा आवश्यक कडा कारबाहीको रुपमा सबैले निकै खुसीसाथ लिएको फल बारम्बार दोहो-याइरहँदा त्यसप्रति सबैको उत्साह घटेको छ । विपक्षीलाई एक दुई पटक झट्का दिँदा त्यसलाई उत्साहको रुपमा लिएका समर्थक समेत विपक्षीमाथि आक्रामक हमलालाई अन्ततः आफ्नै टीमको राम्रो अभ्यास र खेल्ने सीपको अभावको रुपमा लिन थालिएको छ।

(मिनाक्षी गांगुली ह्युमन राइट्स वाचका दक्षिण एसिया निर्देशक हुन्। यसलाई स्क्रोल डट आइएनबाट नीरज लवजूले अनुवाद गरेका हुन्।)

प्रकाशित: ७ आश्विन २०७५ ०२:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App