१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

टेस्टमा सम्हालिएर खेल्ने

सिड्नी – अस्ट्रेलियाका ओपनर एरोन फिन्चले सीमित ओभरको क्रिकेटमा एक आक्रामक ब्याट्सम्यानको छवि बनाइसकेका छन् । तर पाकिस्तानविरुद्धको शृंखलासँगै टेस्ट क्रिकेटमा ‘डेब्यु’ गर्ने तयारीमा रहेका फिन्चले टेस्ट क्रिकेटमा भने सम्हालिएको प्रदर्शनको प्रयास गर्ने बताएका छन्।

३१ वर्षे फिन्चले ९३ एकदिवसीय र ४२ ट्वान्टी–२० खेलमा अस्ट्रेलियाबाट प्रतिनिधित्व गरिसकेका छन् । यस क्रममा उनले एकदिवसीय खेलमा ३ हजार ३ यस ६१ र ट्वान्टी–२० खेलमा १ हजार ५ सय ९६ रन जोडेका छन् । तर फिन्चले क्रिकेट खेलकै सबैभन्दा पुरानो र लामो संरचनाको खेल टेस्टमा भने खेलेका छैनन्।

टेस्ट क्रिकेटमा फिन्च स्वाभाविक आक्रामक शैलीमा उत्रन्छन् वा सम्हालिएको प्रदर्शन गर्छन, त्यो आगामी महिना पाकिस्तानविरुद्ध हुने २ टेस्टको शृंखलापछि मात्र थाहा हुनेछ । गत साता क्रिकेट अस्ट्रेलिया (सिए)ले फिन्चलाई पहिलो पटक समावेश गर्दै टेस्ट टोलीको घोषणा गरेको थियो।

गत वर्ष दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्ट दौरान बल टेम्परिङ गरेको भन्दै तत्कालीन कप्तान स्टिभ स्मिथ, उपकप्तान डेभिड वार्नर र क्यामरुन बेनक्रफ्ट प्रतिबन्धमा परेपछि अस्ट्रेलियाले खेल्न लागेको यो पहिलो टेस्ट शृंखला हो । फिन्चले आफूलाई कस्तो भूमिकामा मैदान प्रवेश गराइन्छ त्यसमा आफ्नो प्रदर्शन निर्भर हुने बताए।

‘आक्रामक छविकै कारण म एकदिवसीय र ट्वान्टी–२० क्रिकेटमा सफल ब्याट्सम्यान भएको हुँ । म प्लेइङ ११ मा परे पनि प्रशिक्षक र कप्तानले मलाई कुन नम्बरमा मैदान प्रवेश गराउँछन् । त्यसमा मेरो प्रदर्शन निर्भर हुन्छ,’ फिन्चले भने, ‘ओपनरको भूमिकामा पठाइए स्वाभाविक आक्रामक खेल खेल्नेछु । मध्यक्रममा पठाए भने मैले सम्हालिएको प्रदर्शन गर्न आवश्यक छ । म टोलीले दिएको भूमिका निर्वाह गर्न भने तयार छु्।’

शृंखलाअन्तर्गतको पहिलो खेल अक्टोबर ७ मा दुबईमा सुरु हुनेछ भने दोस्रो खेल अक्टोबर १६ मा अबुधाबीमा हुनेछ।

 

प्रकाशित: ६ आश्विन २०७५ ०४:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App