१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

नेपालमा बंगलादेशी नजर

मोहम्मद खोतिबुर रहमान
मैले सन् २००० मा पहिलोचोटी नेपाल भ्रमण गरेको हुँ । त्यो बेला म स्थलमार्ग हुँदै नेपाल आएको थिएँ। बंगलादेश–भारतको सिमावर्ती च्याङ्ग्राबन्दर प्रवेश गरेर रानीगन्ज हुँदै नेपालको काँकडभिट्टा प्रवेश गरेको थिएँ । त्यहाँबाट रात्रि बसमा काठमाडौं पुगेको सम्झना ताजै छ । पर्यटन व्यवसायीका रूपमा त्यसबेला म नेपाल आएको थिएँ । त्यसयता हरेक वर्ष नेपाल भ्रमण गर्दै आएको छु।

पछिल्लो समय नेपाल र बंगलादेशमा पर्यटकीय गतिविधि तीव्र विकास भइरहेका छन् । नेपालको प्राकृतिक सौन्दर्य गज्जबको छ । यहाँ अनेक ऐतिहासिक सम्पदा छन् । यी कुरा म बंगलादेशका पर्यटकलाई देखाउन चाहन्छु । यसबाट नेपालको पर्यटन प्रवद्र्घनमा मद्दत पुग्छ।

अधिकांश बंगलादेशी पर्यटकले काठमाडौं उपत्यका र त्यसपछि पोखरा भ्रमण गर्छन् । त्यसो त उपत्यका आसपासका नगरकोट,  भक्तपुर, ललितपुर लगायत स्थान पनि घुम्न मन पराउँछन् । काठमाडौं दरबार स्क्वायर, नारायणहिटी दरबार, बौद्घनाथ, स्वयम्भुनाथ आदि ऐतिहासिक तथा सांस्कृतिक स्थान उनीहरूको रोजाइमा पर्छन्।

नेपाली ज्यादै मिलनसार छन्। परम्परा–संस्कृतिमा पनि धनी छन्। जोसँग चाँडै घुलमिल हुने अनि पर्यटकलाई देवतासरह मान–सम्मान गर्ने नेपाली परम्परा अनुकरणीय छ।

विभिन्न पृष्ठभूमिका बंगलादेशी पर्यटक बंगलादेशबाट नेपाल आउने गर्छन् । कतिपय पर्यटक ट्राभल एजेन्सीको प्याकेजमा आउँछन् भने कोही आफ्नै हिसाबले । विद्यार्थी, प्राध्यापक, उद्योग–व्यवसायी आउँछन् । उनीहरुले प्राकृतिक सौन्दर्य, ऐतिहासिक स्थान र साहसिक खेल मन पराउँछन् । यसका साथै ठमेल र पोखराको रात्रि जीवन पनि मन पराउँछन् । हरेकले आ–आफ्नो रुचिअनुसार फरकफरक कुरा मन पराउँछन् । अधिकांशले पोखरा मन परेको प्रतिक्रिया दिन्छन् । दरबार स्क्वायर, बौद्घनाथ, स्वयम्भुलगायत विश्व सम्पदामा सूचीकृत स्थान मन पराउने पनि धेरै हुन्छन्।

अचेल बंगलादेशबाट दैनिक ५ सय पर्यटक नेपाल आउने गर्छन् । पछिल्लो समय यो संख्या बढ्दै गएको छ । हिल भ्यु टुरिज्म कम्पनीबाट मात्रै मासिक  ५ सय बंगलादेशी नेपाल आउँछन् । नेपाल र बंगलादेश सरकारले दुई देशबीच पर्यटन प्रवद्र्घन गर्न मिलेर काम गर्न सक्छन् । दुवै देशका पर्यटन व्यवसायीबीच पनि सहकार्य हुन सक्छ । यसो भएमा दुवै देशलाई फाइदा पुग्छ।

बंगलादेशमा धेरै रमणीय प्राकृतिकस्थल छन्, बंगलादेश सरकारले विश्वभरका पर्यटकलाई ल्याउने योजना बनाएको छ । बंगलादेशको प्राकृतिक सौन्दर्य र ऐतिहासिक ठाउँ हेर्न पर्यटकलाई आग्रह गरेको छ । बंगलादेश प्राकृतिक रूपले सुन्दर देश हो । म यही कुरा प्रवद्र्घन गर्न अनि विभिन्न देशका पाहुनालाई बंगलादेशको सौन्दर्य देखाउन चाहन्छु।

नेपाल झनै सुन्दर देश हो । यहाँका हिमाल, पहाड, तालतलैया, विश्व सम्पदालगायतले पर्यटक मन तानेका छन् । पर्यटन क्षेत्रलाई अझै व्यवस्थित गर्न सकेमा विश्वभरबाट धेरै पर्यटक नेपाल आउँछन्। 

सन् १९९६ देखि मैले पर्यटन क्षेत्रमा हात हाल्न सुरु गरेको हुँ । अब त यस्तो लाग्छ–मेरो नसा–नसामा पर्यटन घुसेको भएको छ ।  मैले बंगलादेशी पर्यटकलाई थाइल्यान्ड, चीन, भारत, भुटान, मलेसिया, भियतनामलगायत मुलुकमा प्याकेजमा ट्राभल–टुरको व्यवस्था गर्दै आएको छु । धेरैजसो बंगलादेशी पर्यटक नेपाल घुम्न मन पराउँछन् । यसको कारण हो–यहाँको प्राकृतिक सौन्दर्य र सस्तो हवाई भाडा।

मेरो कम्पनीले बंगलादेशी पर्यटकका लागि ४ रात र ५ दिनको नेपाल भ्रमण प्याकेज ल्याएको छ । बढीभन्दा बढी बंगलादेशी पर्यटकले नेपाल भ्रमण गरून् भन्ने उद्देश्यले ढाका–काठमाडौं–ढाका हवाईजहाज भाडा तथा नेपालमा होटल, खाजा, स्थानीय यातायातलगायत गरी प्रति पर्यटकबाट २८ हजार टाका लिने गरी प्याकेज निर्धारण गरिएको छ । नाफामूलकभन्दा पनि प्रवद्र्घनात्मक रूपमा मैले प्याकेज रेट बनाएको हुँ।     

मैले बिकम तथा एकाउन्टिङमा मास्टर्स डिग्री पूरा गरेको छु । म सन् १९९६ यता अहिलेसम्म ८० पटकभन्दा बढी नेपाल आइसकेको छु । काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट जब बाहिर आउँछु, पर्यटकलाई ट्याक्सीवालाले हुर्मत लिइरहेको देख्छु । मलाई पनि सुरु–सुरुमा यस्तै गर्थे उनीहरूले । तर, अचेल म उनीहरूसँग ‘डिल’ गर्न अभ्यस्त भइसकेको छु । नेपाल सरकारले पर्यटकप्रति हुने यस्ता अभद्र व्यवहार रोक्न कडा कदम चाल्नुपर्छ । निर्वाध घुमफिर गर्न नेपाल सुरक्षित छ भनी पर्यटकलाई आश्वस्त बनाउनुपर्छ।

बंगलादेशी पर्यटकको अनुभवले भन्छ–नेपाली ज्यादै मिलनसार छन् । परम्परा–संस्कृतिमा पनि धनी छन् । जोसँग चाँडै घुलमिल हुने अनि पर्यटकलाई देवतासरह मान–सम्मान गर्ने नेपाली परम्परा अनुकरणीय छ । नेपालीको यो स्वभावलाई बंगलादेशी पर्यटकले प्रशंसा गर्छन्। 

(लेखक टुरिज्म डेभलपमेन्ट एशोसिएसन, बंगलादेशका निर्देशक हुन्।)

प्रकाशित: ६ आश्विन २०७५ ०४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App