१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अर्को लगानी सम्मेलनको तयारी

काठमाडौं – गत वर्षको सम्मेलनमा नेपालमा लगानी गर्ने इच्छा देखाएका व्यवसायीलाई लगानी गराउन नसकेको सरकारले अर्को लगानी सम्मेलनको तयारी गरेको छ । मंगलबार बसेको लगानी बोर्डको बैठकले आगामी फागुन, चैत (सन् २०१९ को मार्च) तिर लगानी सम्मेलन गर्ने निर्णय गरेको हो । बोर्डका प्रवक्ता समेत रहेका सहसचिव उत्तमभक्त वाग्लेले यस वर्ष पनि लगानी सम्मेलन गर्ने तयारी गरिएको बताए।  

बोर्डले यस वर्ष सम्मेलन गर्न एक समिति बनाउने तयारी गरेको छ । नयाँ सम्मेलन गर्ने प्रारम्भिक निर्णय भए पनि यस विषयमा थप छलफल हुन बाँकी रहेको वाग्लेले बताए । ‘अघिल्लो सम्मेलनको समीक्षा गरेर नयाँको तयारी हुनेछ,’ वाग्लेले नागरिकसँग भने, ‘अबको सम्मेलनको मोडल कस्तो हुने, कसरी गर्ने भन्नेमा छलफल हुन बाँकी छ।’ 

गत वर्षको सम्मेलनमा विदेशी लगानीकर्ताले नेपालमा अर्बौं रुपैयाँ लगानी गर्ने इच्छा देखाएका थिए । तर अहिलेसम्म कुनै पनि लगानीकर्ता आएका छैनन् । अघिल्लो सम्मेलनमा सहभागीबाट झन्डै १४ खर्ब रुपैयाँ (१३ अर्ब ५२ करोड डलर) लगानी गर्ने इच्छा व्यक्त भए पनि लगानी आइनसकेको वाग्लेले बताए । उनका अनुसार अहिलेसम्म सोधखोज गर्नेबाहेक कुनै प्रक्रिया अघि बढेको छैन । ‘लगानीकर्ताले सोधखोज गरिरहेका छन्,’ वाग्लेले भने, ‘लगानी गर्न भने कोही आएका छैनन्।’

२०७४ को फागुन १९ र २० गते काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा विभिन्न देशका सहभागीबाट १४ खर्ब रुपैयाँ लगानी गर्ने इच्छा व्यक्त भएको थियो । २५ वर्षपछि आयोजित उक्त सम्मेलनमा दुई दर्जन मुलुकका झन्डै दुई सय ५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ताको सहभागिता थियोे।

सम्मेलनमा सबैभन्दा धेरै चिनियाँले आठ अर्ब ३० करोड अमेरिकी डलर लगानी गर्ने इच्छा देखाएका थिए । त्यस्तै, बंगलादेशका लगानीकर्ताले दुई अर्ब ४० करोड अमेरिकी डलर, जापान, बेलायतकाले एक अर्ब डलर लगानीको इच्छा देखाएका थिए। 

गत वर्ष लगानी सम्मेलन आयोजना गरेका तत्कालीन उद्योगमन्त्री नविन्द्रराज जोशीले पुनः लगानी सम्मेलन गर्नुभन्दा विगतमा इच्छा व्यक्त गरेका लगानीकर्तालाई ल्याउने प्रयत्न गर्नुपर्ने बताए । जसले लगानी गर्ने प्रतिबद्धता देखाएका थिए उनीहरूलाई विश्वस्त नबनाई पुनः लगानी आह्वान गर्न नसकिने उनी बताउँछन् । ‘त्यो बेला लगानीको ठूलो प्रतिबद्धता आएको थियो,’ नागरिकसँगको कुराकानीमा जोशीले भने, ‘अब फेरि तिनै लगानीकर्तालाई कसरी आह्वान गर्ने ?’

पहिलो लगानी सम्मेलनपछि त्यहाँ लगानीको इच्छा व्यक्त गर्नेलाई भित्र्याउन भनेर चारवटा समितिसमेत बनेका थिए । ती समितिले कतिपय लगानीकर्तालाई चिठी लेखेर ‘फलोअप’ गरे पनि उनीहरू आएनन् । प्रजातन्त्र पुनस्र्थापनासँगै सरकारले २०४८ सालमा पहिलो लगानी सम्मेलन गरेको थियो । त्यतिबेला देशमा प्रजातन्त्र आएको र खुला अर्थतन्त्रको नीति लिएको सन्देश दिन सम्मेलन गरिएको थियो। पहिलो सम्मेलनमार्फत नेपालमा विदेशी लगानी खुला गरिएको सन्देशसमेत प्रवाह गरिएको थियो । त्यो बेला नै पहिलोपटक विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ जारी भएको थियो।

त्यसैगरी, मंगलबारको बोर्ड बैठकले करिब १३ करोड ९८ लाख अमेरिकी डलर  (करिब १६ अर्ब) बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । काठमाडौंको दहचोक, भक्तपुर र पोखरामा अन्तर्राष्ट्रिय स्तरको होटल निर्णय गर्न जापानी कम्पनी क्लब इन्टरनेसनल प्रालिले उक्त लगानी गर्न लागेको हो।  

त्यसैगरी, बैठकले विज्ञहरूमध्येबाट लगानी बोर्डको सदस्यमा चारजनालाई मनोनयन गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेशकाजी श्रेष्ठ र बालकृष्ण शिवाकोटीलाई दुई वर्षका लागि मनोनयन गर्ने निर्णय गरेको बोर्डले जनाएको छ। 

 

प्रकाशित: ५ आश्विन २०७५ ०७:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App