१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

समुदायलाई एकत्रित गराउने इन्द्रजात्रा

उपत्यकाको प्रमुख जात्रामध्येको इन्द्रजात्रा शुक्रबारदेखि सुरु हुँदैछ । बिहान ७ बजे वसन्तपुरस्थित हनुमान ढोकाबाट लिंगो उठाएपछि जात्रा सुरु हुनेछ । जात्रा सुरु भएको पहिलो दिन आठ ठाउँमा इन्द्र राख्ने चलन छ । बिहान लिंगो उठाएपछि इन्द्रलाई विभिन्न ठाउँमा राखिने छ । त्यो लगत्तै श्वेत भैरव, लाखे र पुलुकिसीको जात्रा निकालिनेछ । जात्राको पहिलो दिन बेलुकी अपक (नगर परिक्रमा) गरी काचो पालामा बत्ती बालिने छ । कोहिटी, भीमसेनस्थान, मरुटोल, दमाईटोल, नरदेवी, क्षेत्रपाटी, ठहिटी लगायत ठाउँमा काचो पालामा दियो बालिने छ । दियो बालिसकेपछि जिवित कुमारी, गणेश र भैरवलाई तलेजुमा राखेर होम पूजा गरिने छ।

‘इन्द्रजात्रा यहाँ सबैजसो समुदाय जाग्छन् । सबै गुठी एक भएर जात्राका सहकार्य गर्छन्,’ इन्द्रजात्रा व्यवस्थापन समिति अध्यक्ष गौतम शाक्य भन्छन्, ‘उपत्यकाका अरु जात्रा र पर्वमा यति धेरै गुठी एकै स्थानमा हुँदैनन् होला ।’ उनका अनुसार तान्त्रिक विधिबाट पूजा गरिएको बोकालाई भक्तपुरको जंगलमा छाड्दा पहिलोपटक छोएको रूखबाट बनाइएको विशेष लिंगोलाई वसन्तपुर दरबार क्षेत्रको हनुमानढोकामा उठाइएपछि इन्द्रजात्रा विधिवत सुरु हुने मान्यता छ।

इन्द्रजात्रा नजिकिएसँगै उपत्यकाका नेवार समुदाय त्यसको व्यवस्थापन र सहकार्यमा लागिपरेका छन् । इन्द्रजात्रा प्रदर्शन गरिने भित्री सहरका सडक मर्मत, नाच तयारी, आर्थिक स्रोत संकलन, गुठी व्यवस्थापन, सृगार तयारी, रथ निर्माणलगायत काममा स्थानीयको हातेमालो गरेका थिए । छरिएका गुठीका सदस्य यतिबेला एकत्रित भएर लागिपरेका छन्, इन्द्रजालाई सफल पार्न । जात्रामा २९ गुठीको सहयात्रा छ । उपत्यकाकै ठूलो जात्रामध्ये पर्ने इन्द्रजात्रामा गुठीका सदस्यले विभिन्न खाले व्यवस्थापनको जिम्मेवारी लिँदै आएका छन् । गुठीकै कारण इन्द्रजात्रालाई ऐतिहासिक बनाइराख्न सकिएको शाक्यको तर्क छ । जात्रा अवधिभर वसन्तपुर र आसपास क्षेत्रका कुमारी, गणेश, भैरव, लाखे आजु, हलचोक, आकाश भैरव, पुलुकिसी आजु, लाखेनाच, श्वेत भैरव, स्वच्छन्द भैरव, अशोक विनायक, दागी, किसिचा, कुमारी देवी, महाकालीलगायत गुठीले हातेमालो गरेका छन्।

लाखे नाच संरक्षण समिति अध्यक्ष राजिव रञ्जितकारका अनुसार जात्राको खर्च समेत गुठी र सरकारी सहयोगबाटै जुट्ने गरेको छ । जात्रा सुरु भएसँगै विभिन्न देवी–देवतालाई आठ दिनसम्म किलागलस्थित हलचोक आकाश भैरव गुठीमा राखिन्छ । जात्रा नसकिएसम्म देवी–देवतालाई त्यहीँ राखेर पूजा गर्ने चलन छ । जात्राको पहिलो दिनदेखि अन्तिम दिनसम्म विभिन्न नाच, रथयात्रा र जात्रा प्रस्तुत गर्ने गरिन्छ । जात्रा सुरु भएको तेस्रो र चौथो दिन कुमारी र भैरवको रथयात्रा गरिन्छ । रथयात्राको मुख्य रुट वसन्तपुर, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, मरुटोल, नरदेवी, टंगाल, असन, इन्द्रचोक, हनुमानढोकालगायत हो।

इन्द्रजात्रामा राष्ट्र प्रमुखले दुईपटक दर्शन र प्रसाद ग्रहण गर्नुपर्ने नियम छ । सम्पदापे्रम सन्देश मुनिकारका अनुसार सोमबार राष्ट्रपति विद्यादेवी जात्रा अवलोकनमा आउनेछिन् । उनलाई गद्दी बैठकबाट कुमारी तानेको अवलोकन गराइनेछ । ‘काठमाठौंको तल्लो भागमा कुमारी तानिने छ,’ उनले भने, ‘त्यो दिनमा दागींलाई अघिअघि हिँडाइने छ, जसले बाटो देखाउने र उद्धारको काम गर्नेछ ।’ १२ गते लिगों ढालेपछि जात्रा विधिवतरूपमा समाप्त हुनेछ।

जात्राको किंवदन्ती
इन्द्रजात्राको सबैभन्दा चर्चित किंवदन्तीअनुसार कुनै बेला स्वर्गलोकका राजा इन्द्र आफ्नी आमालाई वसुन्धरादेवीको व्रतका लागि पारिजातको फूल र कर्कलो लिन मानवरूप धारण गरी पृथ्वीमा आएका थिए । उनी काठमाडौं आइपुगे । एउटा बगैँचामा पारिजात र कर्कलो देखेपछि मालीलाई नसोधी फूल चोर्न पसे । बगैँचामा पसेको चोर देखेपछि स्थानीयले तान्त्रिक शक्तिमार्फत् इन्द्रलाई पाता कसेर सार्वजनिक स्थलमा ल्याए । छोरो काठमाडौंमा बाँधिएको पत्तो पाएपछि इन्द्रकी आमा आई छोराको बदलामा कुहिरो दिने वाचा गरी उनलाई फर्काएर लगिन् । त्यसैको सम्झनामा इन्द्रजात्रा सुरु गरिएको हो । यो मौसममा लाग्ने कुहिरोका कारण अन्नबाली राम्रो हुने जनविश्वास अहिले रहँदै आएको छ।

प्रकाशित: ५ आश्विन २०७५ ०३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App