१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गिनेरी पुलः ४ वर्षमा २० प्रतिशत काम

४ वर्ष बित्दासम्म काम सुरुवात मात्र भएको उदयपुरको गिदेरी पुल ।     तस्बिरः महेश्वर

उदयपुर – पुल निर्माण कार्यमा बद्नामी कमाइरहेको पप्पु निर्माण सेवाले उदयपुरको आयोजनामा पनि लापरबाही गरेको पाइएको छ। अर्को एक कम्पनीसँग ज्वयन्ट मेन्जर (जभी) मा कामको जिम्मा लिएको जिल्लाको बेलका नगरपालिका ३, ठोक्शीलास्थित गिदेरी खोलामा निर्माणाधिन पुल लापरबाहीका कारण ४ वर्षदेखि अलपत्र परेको छ। 

बेलका ३ को सातपत्रे र रातापानीबीचको गिदेरी खोलामा निर्माणाधिन २ सय १८ मिटर लामो पक्की पुलको निर्माण पप्पु÷मृत सञ्जिवनी जेभी बानेश्वरले लिएका छन्। ७ वटा आरसिसी वेल फाउण्डेशन र ६ स्पामको उक्त पुल ४ वर्ष बित्न लाग्दापनि २० प्रतिशतभन्दा बढी काम हुन सकेको छैन। पुल बनाउने गरी पप्पु÷सञ्जिवनीले ०७१ मा डिभिजन सडक कार्यालय लाहानसँग सम्झौता गरेका थिए। तर, ३ वर्षभित्र अर्थात ०७४ असार ३० गतेभित्र सम्पन्न गर्नेगरी १३ करोड ३९ लाख ६७ हजार ४ सय ७९ रुपैयाँमा निर्माणको जिम्मा लिएको पुलको काम म्याद सकिदासम्म ५ प्रतिशत मात्र गरेर गैरजिम्मेबारीपन देखाएको स्थानीयको आरोप छ। 

तोकिएको म्याद सकिएपछि १ वर्षको म्याद थपेर अहिले १५ प्रतिशत पुलको काम गरेपछि बल्ल २० प्रतिशत भएको छ। ४ वर्ष बितिसक्दासम्म पुल बन्ने अत्तोपत्तो नहुँदा बेलकाबासी स्थानीयका साथै सो नाका भएर हिड्ने सप्तरी–उदयपुर खण्डमा पर्ने गिदेरी खोलाले वर्षेनी जनता पीडित हुँदै आएका छन्। बेलका नगरपालिकाको केन्द्र रामपुर आउजाउ गर्न नगरपालिकाका २, ३ र ४ नम्बर वडाबासीलाई हरेक वर्षायाममा कष्ट भोग्नु परेको स्थानीय जनक राईले बताए। उनका अनुसार पुल नबन्दा भागलपुर, तपेश्वरी, बानडाँडा, जगन्ना, भासी, रातापानी, पुरन्दह, बेल्हा, करैया, गलफडियालगायत झण्डै दर्जन हाराहारी गाउँबस्तीबासी वर्षायाममा नगरपालिका केन्द्र आउजाउँ नसक्ने अवस्थामा छन्।

०७१ असारमा ठेक्का सम्झौता गरेको कम्पनी त्यसलगत्तै पेश्की लिएर निर्माण कम्पनी बेपत्ता भएकाले काम ढिला भएको हो। ०७४ चैतसम्म ५ प्रतिशत मात्र काम गरेको कम्पनीले ०७५ लागेपछि धमाधम काम गरेजस्तो गर्दा बल्ल २० प्रतिशत पुगेको र साउन लागेपछि राजनीतिक दवावमा १ वर्षको म्याद थप्न सफल भएको अर्का स्थानीय नारद निरौलाले बताए। तर, हतारमा काम गरेजस्तो गरेर कम्पनीले पुलमा गुणस्तरहीन सामान प्रयोग गर्न खोजेपछि स्थानीयले निर्माणाधिन वेल फाउण्डेशनका पिलर भत्काइदिने धम्की दिएका थिए। 

स्थानीयको अवरोधपछि काम रोक्ने बहाना पाएको कम्पनीले अहिलेसम्म थप काम नगरेको प्राबिधिक रेखदेखको जिम्मा पाएको डिभिजन सडक कार्यालय लाहानका इन्जिनियर सोभितलाल ठाकुरले बताए। ठाकुरका अनुसार कम्पनीले पुलको ठेक्का लिएयता २ करोड १५ लाखभन्दा बढी भुक्तानी भने लिइसकेको छ। ठेकेदारको चरम लापरबाहीले समयमा नबनेको उक्त पुलको शिलान्यास भने नेताहरूको स्वार्थका कारण २ पटक गरिएको स्थानीय सुरेन्द्र बस्नेतले बताए। 

पुल नबन्दा सबैभन्दा बढी वर्षायाममा आउने खोलाको बाढीले बिरामीलाई उपचारबाट बञ्चित गर्ने गरेको छ। स्थानीयहरू बिरामी पर्दा सामान्य उपचारका लागि रामपुरसम्म लान बाढीले रोक्ने हुँदा पुल छिटो बनोस् भन्ने चाहेको स्थानीय श्यामकुमार खरेलले बताए। १५ किलोमिटर टाढा रहेका पुरन्दह, करैया, बेल्हा, गलफडियालगायत २ र ३ नम्बर वडाबासी नगरपालिका कार्यालय पुग्न पुल नबन्दा बाढीले रोक्ने गरेको उनले बताए। 

त्यहाँको पुल नबनेका कारण ती वडाबासीहरू नगरपालिका कार्यालय पुग्न नदाहा–कन्चनपुर खण्डको शनिबारे–सुपाडे–लालबजार–गुरुङचौरी हुँदै ४० किलोमिटर पार गरेर नगरपालिका पुग्न बाध्य रहेको वडा सदस्य कुमार अधिकारीले बताए। पुल बन्यो भने हामीलाई १५ किलोमिटर दूरीको नगरपालिका पुग्न पैदल १ घण्टा, मोटरसाइकलमा १५ मिनेट लाग्छ’ उनले भने ‘तर, ठेकदारको लापरबाहीले यतीका दिन पुल नबन्दा ४० किलोमिटर दूरी घुमाउरो सडक पार गरेर रामपुर पुग्नुपर्ने बाध्यता छ।’ 

पप्पुले सप्तरीको रूपनी–राजविराज–कुनौली सडकखण्डमा पर्ने महुली घाडन खोलाको पुलको निर्माण गर्ने जिम्मा पनि लिएकोमा काम नगरेको बताइएको छ। सडक कार्यालय लाहानका अनसार सो पुल पनि उसले मृतसञ्जीवनीसँगै मिलेर ०७३ असारसम्ममा सक्ने गरी २०७१ मा ठेक्का सम्झौता गरेकोमा हालसम्म काम नगरेको इन्जिनियर ठाकुरले बताएका छन्। राजनीतिक दवावबाटै ६ महिना म्याद थपेर पुलको काम गरिरहेको ठाकुरको भनाई छ। 

५ करोड ४३ लाख लागतमा २०७३ पुसमा निर्माण सक्नेगरी जिम्मा लिएको ९५ मिटर लामो उक्त पुलको काम पनि २० प्रतिशत मात्र भएको छ। ठेक्का सम्झौता भएलगत्तै ठेकेदारले १ करोड ४६ लाख रुपैयाँ भुक्तानी भने लिईसकेको साइट इन्चार्जसमेत रहेका इन्जिनियर ठाकुरको भनाई छ। 

प्रकाशित: ४ आश्विन २०७५ ०७:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App