१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

फिफा अध्यक्षद्वारा चासो व्यक्त

बार्सिलोना – फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले जिरोना र बार्सिलोनाबीचको घरेलु लिग खेल अमेरिकामा खेलाउने ला लिगाको प्रस्तावमाथि चासो व्यक्त गरेका छन्। 

जनवरी २६ मा मायमीस्थित हार्ड रक रंगशालामा खेल गराउन दुवै क्लबले सहमतिका साथ स्पेनिस फुटबल संघमा निवेदन गरेका छन् । इस्टाडी मोन्टिलिभी रंगशालामा हुने तय भएको जिरोनाको घरेलु खेल अमेरिका सार्न प्रस्ताव गरिएको हो।

जिरोनाले आफ्नो मैदानमा खेल्न पाउने फाइदा गुमाउनुपर्ने भएकाले यो प्रस्ताव विवादमा परेको थियो । सैद्धान्तिक रूपमा अमेरिकामा खेल्दा जिरोनाले घरेलु मैदानको फाइदा उठाउन नपाउने तर बार्सिलोनाले भने तटस्थ मैदानमा खेल्न पाउँदा विपक्षीको मैदान सामना गर्नु नपर्दा फाइदा उठाउने कारण यो विवादमा आएको थियो। 

‘मेरो विचारमा अमेरिकामा मेजर लिग सकरको खेल हेर्न मज्जा आउँछ । म पनि अमेरिकामा ला  लिगाको नभई मेजर लिग सकरकै खेल हेर्न चाहन्छु । सैद्धान्तिक रूपमा घरेलु खेल आफ्नै घरमा खेल्नुपर्छ, विदेशमा होइन,’ विश्व फुटबलको सर्वोच्च निकाय फिफाका प्रमुख इन्फान्टिनोले मंगलबार भने।

‘मेरो विचारमा अमेरिकामा मेजर लिग सकरको खेल हेर्न मज्जा आउँछ । म पनि अमेरिकामा ला  लिगाको नभई मेजर लिग सकरकै खेल हेर्न चाहन्छु । सैद्धान्तिक रूपमा घरेलु खेल आफ्नै घरमा खेल्नुपर्छ, विदेशमा होइन।’

ला लिगाका अध्यक्ष हाभियर टेबाजले फिफा अध्यक्ष इन्फान्टिनोको विचारको प्रतिवाद गर्दै ला लिगाको खेल अमेरिकामा खेलाउने प्रस्तावको पक्षमा वकालत गरेका छन् । ‘म फिफाका अध्यक्षलाई सम्झाउन चाहन्छु कि, मेजर लिग सकरमा क्यानाडाका तीन टिम सहभागी छन् । मेजर लिग सकरको वर्तमान च्याम्पियन टोरन्टो हो, जबकि क्यानाडामा अर्को पनि व्यावसायिक लिग छ,’ टेबाजले ट्विटरमा लेखेका छन्।

टोरन्टो, मोन्ट्रियल र भ्यान्कुभर मेजर लिग सकरमा खेल्ने क्यानेडियन टिम हुन । मेजर लिग सकर खेले पनि तीनवटै टिमले घरेलु खेल आफ्नै सहरमा रहेका रंगशालामा खेल्छन्। 

ला लिगाको प्रस्ताव कार्यान्वयन गर्नुअघि स्पेन र अमेरिकाको फुटबल संघ तथा युरोप तथा उत्तर अमेरिकी फुटबलका सर्वोच्च निकाय क्रमशः युइएफए र कन्काकाफबाट पनि स्वीकृत हुनुपर्ने बताएका छन् । ‘फिफाले पनि यसमा आफ्नो विचार राख्नेछ । विश्व फुटबलको नियमनकारी निकाय भएको नाताले यसमा फिफाको चासो रहनु स्वाभाविक हो,’ इन्फान्टिनोले थपे।

मिडिया कम्पनी रेलेभेन्टसँगको १५ वर्षे सम्झौताअनुसार ला लिगाले प्रत्येक सिजनमा एक खेल अमेरिकामा गर्ने विषयमा गृहकार्य थालिरहेको छ । अमेरिकामा घरेलु खेल सारेबापत जिरोनाका समर्थकलाई क्षतिपूर्ति प्रदान गर्ने प्रस्ताव गरिएको छ । जसअनुसार अमेरिका जानका लागि निशुल्क हवाई टिकटका साथै यसै महिनाको अन्त्यमा क्याम्प नोउमा हुने अवे खेलमा ५ हजार निशुल्क टिकट उपलब्ध गराइन्छ। 

जिरोनाले अमेरिकामा गएर खेल्न गरिएको प्रस्तावलाई सहर्ष स्वीकार गरेको छ । क्लबले त्यसलाई क्लबका साथै सहरलाई पनि परिचय विस्तारमा सहयोगी हुने प्रस्तावका रूपमा लिएको जनाएको छ । बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेले अमेरिकामा खेल्ने विषय अहिले छलफलकै चरणमा रहेको बताउँदै अन्तिम निर्णय नआएसम्म केही बोल्नुको अर्थ नरहेको बताएका छन्। 

स्पेनिस ला लिगामा बार्सिलोनाको चिर प्रतिद्वन्द्वी रियाल मड्रिडका प्रशिक्षक युलियन लोप्तेगीले भने आफू यो प्रस्तावको विपक्षमा रहेको प्रस्ट पारेका छन् । ‘यसले लिगको समानतामाथि प्रहार गरेको छ । म यसको पक्षमा छैन । मेरो विचारमा सबै टिमले उस्तै सुविधा पाउनुपर्छ । सबैले उस्तै मैदानमा खेल्यो भने मात्र लिग समान छ भन्ने सन्देश जान्छ । एउटा टिमले मात्र अवे खेल तटस्थ मैदानमा खेल्दा अरू प्रतिस्पर्धीलाई त्यसको सोझो मार पर्छ,’ लोप्तेगीले भने। 

ला लिगाले भने फुटबललाई अमेरिका र क्यानाडामा प्रवद्र्धन गर्ने दीर्घकालीन योजनाअनुरूप यस्तो प्रस्ताव ल्याइएको भन्दै आफ्नो निर्णयको बचाउ गरेको छ । 

प्रकाशित: ४ आश्विन २०७५ ०४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App