१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘संविधान सफल पार्ने जिम्मा सबैको’

इलाम- सर्वसाधारणदेखि सबै क्षेत्रका नागरिकले आ–आफ्नो भूमिका इमान्दारीपूर्वक निर्वाह गरे नयाँ संविधान पूर्ण कार्यान्वयन हुने जिल्लाका अगुवाले बताएका छन्। नयाँ संविधानको मर्मअनुसार देश अघि बढाउन स्थानीय तहदेखि केन्द्रीय सरकारका जनप्रतिनिधिको भूमिका सबैभन्दा महत्वपूर्ण हुनेप्रति सरोकारवालाको जोड छ।

नयाँ संविधान जारी भएको चौथो वर्ष प्रवेश गर्दा देशले राजनीतिक रूपमा कोल्टे फेरेपनि संघीय संरचनात्मक व्यवस्थाको भर्खर परीक्षण सुरु हुँदैछ। संविधानमा भएको सबैभन्दा महत्वपूर्ण व्यवस्था ३ तहको सरकार नै भएकाले यो सरकारले कस्तो भूमिका निर्वाह गर्नसक्छ, आम सर्वसाधारणको संघीयताप्रतिको बुझाइ त्यही हुनेमा आफूहरू सचेत रहेको जनप्रतिनिधि बताउँछन्। तर, संविधान र कानुन बन्दैमा सबै नागरिक समान रूपमा न्यायको पहुँचमा पुग्न नसक्ने भएकाले नागरिक खबरदारी आवश्यक परिरहने पनि सरोकारवालाले बताएका छन्। 

निकै संघर्ष गरेर निर्माण भएको नयाँ संविधान धेरै अभावमा पाएको ‘टारी खेत’जस्तो अनुभूत भएको १ नम्बर प्रदेशका प्रदेशसभा सदस्य धिरेन शर्माले बताए। ‘हामीले २०७२ सालमा पाएको संविधानलाई निकै अभावका बेला पाएको टारी खेत मान्यौं। हिउँदमा पाएको खेतजस्तो भयो त्यो,’ उनले भने, ‘अहिले बर्खा (कार्यान्वयनको चरण) छ, बर्खामा पानी, बाउसे, रोपाहार, गोरु सबै तम्तयार भएमात्रै रोपाइँ हुन्छ, नभए खेत बाँझै।’ उनले जनप्रतिनिधि अहिले नयाँ संविधान कार्यान्वयनको निकै महत्वपूर्ण घडीमा रहेको बताए। ‘म पनि अरूजस्तै जनप्रतिनिधि हुँ, मैले संविधानले दिएका अधिकार नागरिकसम्म पु-याउन भूमिका निर्वाह गर्नुपर्छ भन्ने बुझेको छु,’ उनले भने, ‘पहिलो जिम्मेवारी हामी जनप्रतिनिधिकै हो, बाँकी जिम्मा सबैको।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका शर्माले जनप्रतिनिधि र दलका अगुवामा जवाफदेहिताको खाँचो औंल्याए। ‘संविधान कार्यान्वयनका लागि अगुवाले वातावरण बनाइदिने हो, श्रम बेचेकामा होइन, श्रम गरेकामा गर्व गर्ने कर्तव्य चाहिँ सर्वसाधारण नागरिकको पनि हो,’ उनले भने, ‘कृषि, व्यापार, सेवालगायत जे काम गरेर भएपनि आफ्नो क्षेत्रमा आफैं प्रगति गर्नु समृद्धिको बाटो हो, जनप्रतिनिधिले त्यसका लागि सहजीकरण गरिदिनुपर्छ।’

प्रदेशसभा सदस्य रामबहादुर रानामगरले नयाँ संविधान कार्यान्वयनको मुख्य चरणमा ३ तहको सरकारबीच अधिकार बाँडफाँटको विषयमा अस्पष्टता रहेको बताए। ‘यो संविधानले सबै जाति, समुदाय, लिंग, क्षेत्रलगायतलाई सम्बोधन गरेको भएपनि अधिकार बाँडफाँटमा भएको अस्पष्टताले कहिलेकाहीं समस्या ल्याइरहेको छ,’ उनले भने, ‘संविधान अपरिवर्तनीय हुँदैन, आवश्यकताअनुसार सहज बनाएर अघि बढ्नुपर्छ।’ रानामगरले २०७२ को संविधान बनेसँगै राजनीतिक मिसन किनारा लागेर देश आर्थिक समृद्धिको बाटोमा गएको बताए। ‘हाम्रो संविधान समाजवादोन्मुख छ, हामी अब समृद्धिको बाटो भएर समाजवादमा जाँदैछौं,’ उनले भने, ‘शिक्षा, स्वास्थ्य, पूर्वाधारजस्ता आधारभूत आवश्यकता सामूहिक रूपले पूरा गर्ने दिशामा अघि बढ्नुपर्छ।’ 

जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधि आउँदा नागरिक खुसी भएपनि विभिन्न अभावका बाबजुद काम गर्नुपरेको बताए। ‘नयाँ संविधानले नागरिकलाई गाउँमै सबै सेवा पु-याउने कल्पना त ग-यो तर त्यसअनुसारको पूर्वाधार अझै सहज भएको छैन,’ उनले भने, ‘स्थानीय तहमा काम गर्ने कर्मचारी, आवश्यक बजेटलगायतका पूर्वाधार पर्याप्त हुनसके नयाँ संविधानको भावनाअनुसार देश संघीय व्यवस्थामा अघि बढ्छ। नयाँ संविधानप्रति नागरिकको अपनत्व बढ्छ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष भक्त केसीले नयाँ संविधानसँगै नेपाली नागरिकले स्वतन्त्रता पाएको उल्लेख गरे। ‘संविधानले धेरैथोक दिएको छ तर कुनै धर्मग्रन्थजस्तो अपरिवर्तनीय हुँदैन संविधान,’ केही मधेसवादी दलप्रति इंगित गर्दै उनले भने, ‘तर, त्यही संविधानअनुसार भएको निर्वाचनमा भाग लिँदै प्रदेश र केन्द्रीय सरकारसम्म पुगेर राज्यको सेवा–सुविधा लिने अनि संविधान दिवसलाई कालो दिन मनाउँछु भन्नु चाहिँ लज्जास्पद हुन्छ।’ संविधान मान्नु सबैको कर्तव्य भएको भन्दै उनले युवालाई रोजगारी र देशको शान्ति–सुरक्षामा सरकारले अझ ध्यान दिन आवश्यक रहेको बताए। 

इलाम नगरपालिका प्रमुख महेश बस्नेतले नयाँ संविधानलाई जाति, धर्म, लिंग, क्षेत्र, सम्प्रदाय सबैले स्वागत गरिसकेको बताए। ‘अहिलेको जस्तो सबै पक्ष समेटिएको, सबैलाई अधिकारसम्पन्न बनाउनेखालको संविधान विगतमा कहिल्यै थिएन,’ उनले भने, ‘संविधानमा भएका व्यवस्था राम्ररी अध्ययन गर्ने हो भने यसको विरोध कसैले गर्दैन। तैपनि, मानिसको आवश्यकता र चाहनाअनुसार संविधा सधैं परिवर्तनशील नै हुन्छ।’ उनले अहिलेसम्मकै उत्कृष्ट संविधान र त्यसमा व्यवस्था भएअनुसारको संघीयता टिकाउने कि नटिकाउने भन्ने पक्ष यसको कार्यान्वयनमा भर पर्ने बताए। ‘हामी सबैले निकै चनाखो भएर काम गरेनौं भने देश अस्थिरतातिर जाने खतरासमेत आउन सक्छ,’ उनले भने, ‘त्यसैले नयाँ संविधानलाई अक्षरशः पालना गरेर संघीयता सफल बनाउनु अहिलेको प्रमुख आवश्यकता हो।’

नेपाली कांग्रेसका केदार थापाले नयाँ संविधान ऐतिहासिक दस्तावेज भएको बताए। ‘ऐन–कानुन बनाउँदा पनि नयाँ संविधानको मर्मअनुसार बनाइनुपर्छ,’ उनले भने, ‘संविधानलाई बेवास्ता गरिए त्यसले समस्या निम्त्याउन सक्ने भएकाले सबै राजनीतिक दल, नागरिक समाजलगायतले समन्वय गर्नुपर्छ।’ 

संविधान दिवसमा विविध कार्यक्रम

चौथो संविधान दिवस अवसरमा सदरमुकाममा ३ दिनसम्म विविध कार्यक्रम आयोजना गरिएको छ। जिल्ला समन्वय समितिलगायत सरकारी कार्यालयहरूको आयोजनामा बुधबार सदरमुकामको ठूलो टुँडिखेलबाट समन्वय समितिको सभाकक्षसम्म प्रभातफेरी आयोजना गरियो। 

प्रभातफेरी पछि आयोजित समारोहमा जनप्रतिनिधि, विभिन्न राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधिलगायतले बोलेका थिए। यही अवसरमा मंगलबार, बुधबार विभिन्न कार्यक्रम सम्पन्न भए भने बिहीबारका लागि पनि विविध कार्यक्रम आयोजना गरिएका छन्। 

दिवस अवसरमा आयोजित खेलकुद प्रतियोगिताका विजयीलाई बुधबार पुरस्कृत गरियो। अनेरास्ववियुलगायत विद्यार्थी र अधिकारकर्मीहरूको समन्वयमा सदरमुकामका विभिन्न स्थानमा संविधानमा भएका व्यवस्थाबारे लेखिएका होर्डिङ बोर्डसमेत राखियो। दिवसकै अवसरमा फुटबल, ब्याजमिन्टन, दौडलगायत दर्जनौं खेलकुद प्रतियोगितासमेत सम्पन्न गरिएको छ।

प्रकाशित: ३ आश्विन २०७५ १४:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App