१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बन्दले तरकारी नबिक्दा किसान मर्कामा

सर्लाहीको लालबन्दी बजारमा स्थानीय किसानको तरकारी बोकेर आएका ई–रिक्सा ।    तस्बिर: टंक/नागरिक

सर्लाही – कुनैपनि सवारी साधन नचलेपछि मंगलबार किसानको लाखौं रुपैयाँ बराबरको तरकारी बिक्री भएन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दीस्थित तरकारी संकलन केन्द्र, हरिवनस्थित परबल संकलन केन्द्र लगायतबाट मंगलबार जिल्लाबाहिर तरकारी निकासी हुन सकेन। 

गाडी नचल्ने भएपछि मंगलबार व्यापारी नै नआएको र किसानको तरकारी नबिकेको लालबन्दीस्थित कृषि उपज बजार व्यवस्थापन समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिए । त्यो पनि किसानले सोमबारको भन्दा आधा कम मूल्यमै बेचेका छन् । मंगलबार स्थानीय व्यापारीले पनि निकै कम मूल्यमा किसानको तरकारी किनेर मलंगवालगायत बजारमा लगेको घिमिरेले जानकारी दिए।

‘बाहिरका कोही व्यापारी आएनन्,’ उनले भने, ‘बेच्न ल्याएको तरकारी किसान आफैंले फिर्ता लगे ।’ केही किसानले भने आफैं गाउँगाउँ डुलेर तथा नवलपुर एवं हरिवन बजार क्षेत्रमा साइकल, मोटरसाइकलबाट ढुवानी गर्दै खुद्रा बिक्री गरेको घिमिरेले जानकारी दिए । ‘कुनै कुनै किसानले छिमेकको बजारमा पु¥याएर खुद्रा बिक्री गरे,’ उनले भने, ‘अधिकांशले घरतिर फिर्ता लिएर गए।’

घिमिरेका अनुसार मलंगवाबाट आएका साना व्यापारीहरुले भने केही किसानको तरकारी खरिद गरेर मोटरसाइकलमै लगेका थिए । अन्य बन्दमा तरकारी बोक्ने सवारी साधन चल्ने गरेकाले किनबेच हुनेभएपनि मंगलबार भने सवारी साधन चलाउने चालककै बन्दका कारण किसानको तरकारी किनबेच हुन सकेन। 

लालबन्दीबाट दैनिक ४० मेट्रिक टन हाराहारीमा बोडी, लौका, चिप्ले भिन्डी, करेलालगायत तरकारी काठमाडौं, बुटवल, जनकपुर, मन्थली लगायत मुलुकका विभिन्न सहरमा निकासी हुने गरेको व्यवस्थापक घिमिरेले जानकारी दिए । त्यस्तै हरिवनबाट दुई मेट्रिक टनभन्दा बढी परबल बाहिर निकासी हुने गरेको छ।

गाडी नचल्ने भएका कारण मंगलबार परवल किनबेच नै नभएको हरिवनका किसान सानु बलले जानकारी दिए । ‘आज टिप्ने दिन परेका किसान निकै मर्कामा परेका छन्,’ बलले भने, ‘आज टिप्नुपर्ने परबल एकदिन ढिला हुँदा कुहिने, ढुसी आउने, पहेलिने लगायत समस्या देखापर्छ र किसानलाई निकै घाटा पर्छ ।’ अधिकांश किसानले परबल साताको एक दिन टिपेर बजार लैजाने गर्दछन् । त्यस्तै बोडी, लौका लगायत तरकारी पनि टिप्न एक दिन ढिला हुँदा किसानलाई निकै घाटा हुने किसानको भनाइ छ। 

प्रकाशित: ३ आश्विन २०७५ ०३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App