१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

घामको भरमा मोवाइल सेवा

डोल्पा – डोल्पामा यतिखेर नेपाल टेलिकमले प्रवाह गर्दै आएको मोवाइल सेवा घामको भरमा चलेको छ। नेपाल टेलिकम कार्यालयमा जडान गरिएको सोलार प्यानलका ब्याट्रीसमेत ड्यामेज भएपछि टेलिकमका सबै प्रकारको मोवाइल सेवा घाम लागुन्जेलसम्म मात्र संचालन हुने गरेको छ।

गएको भदौ १९ गते दुनैस्थित जैरिगाड जलविद्युत केन्द्रको नहरमा ठूलो पहिरो आइ ठाउँ ठाउँमा भत्काएपछि विद्युत आपूर्ति बन्द भएको छ। टेलिकममा रहेका सोलार प्यानलका ब्याट्री समेत ड्यामेज भएपछि घाम राम्रोसँग लागेको दिनमा मात्र बिटियस मोवाइल सेवा दिनभर संचालनमा आउने गरेको र घाम नलागेको दिनमा सेवा अवरुद्द हुने गरेको हो। घामको भरमा चलेको मोवाइल सेवा नियमित नहुँदा डोल्पाली सेवाग्राही मर्कामा पर्दै आएका छन्।

टेलिकममा भएका केही सोलार ब्याट्रीले थोरै पावर उत्पादन गरिरहेकोले एडीएसएल ल्याण्डलाइन सेवा बाहेक अन्य सेवा घाम लागेको समयमा चल्ने तर घाम नलागेको समयमा अवरुद्द हुने गरेको टेलिकम डोल्पाका प्रमुख दयाबिक्रम केसीले बताए। बिटियस प्रणालीको सेवामा विद्युतको पावर बढि लाग्ने गरेकोमा जिल्लामा विद्युत पनि बन्द भएको अवस्था र सोलारका ब्याट्री समेत ड्यामेज भएकाले घाम लागेको बेलामा मात्र मोवाइल सेवा संचालन हुने प्रमुख केसीले बताए।

सदरमुकाम दुनै लगायत ठुलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रमा ब्याकप पावरको अभावमा साँझबाट बिहान घाम नलागेसम्मको लागि मोवाइल टावरले काम नगर्दा ग्राहकहरू मर्कामा परेका छन्। छिटो भन्दा छिटो ब्याकप ब्याट्रीको ब्यवस्था गरिदिन नेपाल टेलिकमको क्षेत्रीय कार्यालयलाई पत्रचार गरिसकिएकोले एक साता भित्रमा मोवाइल सेवाको अनियमिततामा देखिएको समस्या समाधान हुने नेपाल टेलिकम डोल्पाले जनाएको छ।

 

प्रकाशित: २ आश्विन २०७५ ०७:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App