१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उदयपुर बन्दले जनजीवन प्रभावित

उदयपुर – नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपाको आव्हानमा भएको बन्दले उदयपुरको जनजीवन प्रभावित बनाएको छ। दुईदिनअघि अदालतले छाड्ने आदेश दिएलगत्तै काठमाडौंबाट उदयपुर ल्याइएका केन्द्रीय प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) पक्राउविरुद्ध पार्टीको पूर्वी कमाण्डले आइतबार पूर्वका मेची, कोसी, सगरमाथा र जनकपुर बन्दको आव्हान गरेको थियो।

बन्दका कारण उदयपुरका शैक्षिक संस्था, यातायात, व्यापार पसल प्रभावित भएका छन्। शिक्षण संस्थाहरू ठप्प छन् भने यातायात आशिंक सुचारु छ। बिहान सामान्य बन्द गरिएका धेरै पसलहरू मध्यान्हदेखि बन्द गरिएका छन्। बिहानसम्म यातायात सामान्य बन्द भएपनि मध्यान्हदेखि चल्न थालेको तर, पसलहरु भने मध्यान्हदेखि बन्द देखिनुले अज्ञात समूहले ‘थ्रेट’ दिएको हुनसक्ने प्रहरीले जनाएको छ।

‘बिहान घुमेर हेर्दा सबै पसल खुलेका थिए, गाडीहरु आंशिक चलेकै थिए’ जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले भने ‘दिउँसो एकाएक पसलहरु बन्द हुनुमा कतैबाट थ्रेट आएको हुनुपर्छ।’ चन्दा असुली र बम विष्फोटलगायत बिभिन्न आपराधिक गतिबिधि गरेको आरोपमा महिनादिनअघि पक्राउ परेका प्रकाण्डलाई अघिल्लो दिन उदयपुर ल्याइएको छ। अदालतले छाड्ने आदेश दिएलगत्तै काठमाडौंबाट शनिबार दिउसो उदयपुर ल्याइएको उनलाई आइतबार म्याद थपेर अनुसन्धान गर्ने तयारी प्रहरीले गरिरहेको जनाएको छ।

काठमाडौं ल्याइनुअघि उनलाई दाङ लगिएको थियो भने दाङ लानुअघि उनलाई भोजपुर पुर्याइएको थियो। प्रकाण्डविरुद्ध उदयपुरको त्रियुगा नगरपालिका १३ हवाईमैदानस्थित तरकारी बजारमा बम विस्फोट गराई बालक घाइते बनाएको आरोप लगाइएको बु्झिएको छ। लगतग ३ महिनाअघि तरकारी बजारछेउको थरुहट रंगशालामा खेलौनाजस्तो देखेर खेलाउन खोज्दा बम बिष्फोट भएर त्रिनपा १३ असारीका १४ वर्षीय बालक गम्भीर घाइते भएका थिए।

पूर्वमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता प्रकाण्डलाई सरकारले विनाकारण पक्राउ गर्दै झुटा मुद्धा लगाउने तर, अदालतले निर्दोष सावित गर्दै छाडेपनि पक्रदै बिभिन्न ठाउँ घुमाएर दुःख दिएकोमा बन्द आव्हान गरिएको पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले जनाएको छ। क्रान्तिकारीकी केन्द्रीय सचिव सरला थापाले नेताहरूमाथि लगाइएको झुटा मुद्धा खारेज हुनुपर्ने र अनावश्यक दुःख दिने शैलीविरुद्ध पूर्वी कमाण्डको आव्हानमा बन्द गरिएको बताएकी छिन्।

कटारीमा भेटिएका बम नक्कली

बन्द आव्हान गरेकै दिन आइतबार बिहान उदयपुरको कटारीमा फेला परेको २ वटा नक्कली बलमे बजारबासीलाई केहीबेर आतंकित बनायो। कटारी नगरपालिका ३ स्थित शुभकामना चोकमा फेला परेको एउटा बम आकारको शंकास्पद बस्तु र २ किलोमिटर टाढा कनपा ४ मरुवा खोलानजिक अर्को त्यस्तै प्रकृतिको बस्तु ‘मर्निङ वाक’ मा निस्केका स्थानीयले भेटेपछि बजारमा ‘बम आतंक’ मच्चिएको हो।

प्रत्यक्षदर्शीले बजारमा बम फेला परेको भन्दै प्रहरीलाई खवर गरेपछि इलाका प्रहरी कार्यालयबाट गएको टोलीले नियन्त्रण घेरा हालेर सुरक्षित गर्यो। डिएसपी धु्रबकुमार श्रेष्ठले घट्नास्थल सुरक्षाघेरामा राखेर डिस्पोजका लागि नेपाली सेनालाई बोलाइएको बताएका थिए। उनका अनुसार प्रमुख ब्यापारिक केन्द्र मानिएको कटारी बजारमै बम फेला परेपछि जनतामा आतंक मच्चिएको थियो।

बम हो होईन भन्ने यकिन गर्न तथा निस्कृय बनाउन अनुसन्धान गर्दा दुवै ठाउँमा भेटिएका बस्तु नक्कली सावित भएको प्रहरीले जनाएको छ। एसपी चन्द्रदेव राईले सुरुमा बम भेटिएको हल्लाले बजार आतंक भए पनि पछि नक्कली भएको पत्तो लागेपछि जनजीवन सामान्य भएको बताए।

प्रकाशित: ३१ भाद्र २०७५ १०:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App