१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

न गाँसको ठेगान न बासको

चितवन खैरहनीको कठारस्थित माझी, मुसहर बस्ती र समुदाय। तस्बिरः सविता/नागरिक

चितवन - खैरहनी नगरपालिका वडा नम्बर १०, कठारका भोला र छङुरिया माझी दम्पति दिउँसो बुढी राप्ती नदीमा थिए। धेरै समय लगाएर घुँगी खोजे र एक किलोजति घुँगी बटुलेपछि घर फर्किए। घर आइपुग्दा घुँगी रहेको हातमा एक किलो चामल र थोरै मुसुरोको दाल थियो। बेलुकीको छाक जोहो भयो भन्दै माझी दम्पति खुसी हुँदै घरभित्र छिरे।

एक कोठे घर, घरको एक कुनोमा चुलो। दिनहुँ परिरहने झरी थेग्न घरलाई कालो त्रिपाल ओढाएका थिए। घरभित्र पानी नछिरोस् भनेर प्लास्टिक र बोराले भित्ता ढाकेका थिए। खरले छाएको र खरखडाई मिसाएर बारिएको घरले मर्मत खोजे पनि माझी दम्पतिले मर्मत गर्न सकेका छैनन्। बिहान–बेलुकाको छाक जुटाउनै समस्या हुँदा चुहिने छानो बनाउन नसकिएको भोलाले बताए।

मजदुरी गर्न, माछा मार्न र घुँंगी टिप्न केही गर्न नपाएको दिन भोकै बस्नुपर्छ। सानो झुप्रो रहेको ऐलानी जग्गाबाहेक उनीहरूसँग अरू केही छैन। त्यही जग्गा पनि कहिले वनले त कहिले कठार माध्यमिक विद्यालयले आफ्नो बताउने गरेका छन्।

धान रोप्ने, गोड्ने काम सकिएकाले गाउँघरमा अहिले मेलापातको सिजन छैन। त्यसैले अचेल उनीहरू बेरोजगार भएका छन्। ‘मेलापातको बेला अहिले छैन,’ भोलाले भने, ‘कहिलेकाहीं काम पाउँदा मजदुरी गरिन्छ।’ काम नभएकाले पनि खानेकुराको जोहो गर्न नदी, खोलामा घुँगी खोज्न जानुपर्ने बाध्यता रहेको उनी बताउँछन्। घुँगी बेचेर दुई छोरासहित चार जनाको परिवारको छाक टार्ने गरिएको उनले सुनाए ।

‘आजलाई खान पुग्छ,’ भोलाले भने, ‘मजदुरी गर्न, माछा मार्न र घुँंगी टिप्न केही गर्न नपाएको दिन भोकै बस्नुपर्छ।’ उनको परिवारसहित कठारमा माझी, मुसहर समुदायका २१ परिवार बस्दै आएका छन्। बस्ने सानो झुप्रो रहेको ऐलानी जग्गाबाहेक उनीहरूसँग अरू केही छैन। कण्ठेश्वरी मध्यवर्ती सामुदायिक वन छेउमा रहेको त्यही जग्गा पनि कहिले वनले त कहिले कठार माध्यमिक विद्यालयले आफ्नो बताउने गरेका छन्।

आफूहरू उक्त ठाउँमा चार पुस्तादेखि बस्दै आएको स्थानीय लहन माझी बताउँछन्। ‘कोहीको पाँच धुर, कोहीको दस धुर यस्तै छ,’ उनले सुनाए। बस्तीका सबै घर खरले छाएका छन् । खडाईले बारेर माटोले लिपिएका छन् । खर चुहिने भएपछि केहीले पुराना टिन छापे पनि अधिकतर घरमा त्रिपाल ओढाइएका छन् । वर्षात्मा पानी चुहिएर घरभित्र बस्नै नसकिने लहन बताउँछन्।

पहिले माछा मारेर बिहान–बेलुकीको छाक टार्दै आए पनि अहिले खोलामा माछा मार्न सरकारले प्रतिबन्ध लगाएपछि समस्या भएको उनले गुनासो गरे। ‘माछा मारेर खान पनि पाए छैन, मार्न गयो कि राज्यले/आर्मीले पक्डिहाल्छ’ उनले भने, ‘कमाइ नभएपछि छानो अहिले चुहिरा’छ ।’ राप्ती, बुढी राप्ती, ढुंगे खोलामा माछा मारेर अघिल्लो पुस्ताले जीविका चलाएको लहन सुनाउँछन्।

उनको पालामा भने सरकारले माछा मार्न रोक लगायो । घुँगी टिप्न पाएनन् । वनबाट दाउरा, निगुरो ल्याउन पाएका छैनन् । घर छाउने खर र बार्ने खडाईसमेत पाएका छैनन् । चुहिने घर छाउन खरका लागि सरकारी कार्यालयहरूमा समेत कैयौंपटक धाएको स्थानीय मंगल सहनीले बताए । ‘कतिपटक कहाँ–कहाँ पुगें, खर दिएन, पुर्जी खुलाइदिएन,’ उनले गुनासो गरे, ‘अरू नदिए नि कमसेकम प्लास्टिक त देऊ भनियो, त्यो पनि भएन ।’ आफैले संरक्षण गरेको वनबाट दाउरा ल्याउनसमेत नपाएको लहन गुनसो गर्छन् । रूखको झिंजामिजा ल्याउँदासमेत घरमै आएर खोस्ने गरेको उनले दुःखेसो गरे।

मेलापात तथा अरू काम नपाउँदा घुँगी र निगुरोको भर पर्नुपर्ने बाध्यता रहेको स्थानीय एमपी माझीले बताइन् । उनले भनिन्, ‘काम नपाउँदा लुकेर घुँगी, निउरो ल्याएर बेच्छु ।’ त्यही बेचेको पैसाले दाल, चामल किन्ने गरेको उनले बताइन्।

कठारका माझी, मुसहर समुदायको अवस्थाबारे नगरपालिका कार्यालयले योजना बनाउन लागेको खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरी बताउँछन्। उक्त समुदाय बसिरहेको जग्गा सहज रूपमा उपलब्ध भए घर बनाएर राख्ने योजना रहेको पनि उनले बताए। उनी भन्छन्, ‘चालू आर्थिक वर्षमा वनसँग समन्वय गरी बसिरहेकै ठाउँमा सामान्य प्रकारका घर बनाइदिने योजना बनाएका छौं।’

प्रकाशित: ३१ भाद्र २०७५ ०२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App