१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

मिथबाट हराइन्, जीवनमा भेटिइन्

खासमा मलाई केही लेख्न आउँदैन। लेख्न नजान्दा नजान्दै लेखिएको नाटकको हो, ‘म्हेन्दोमाया’। नाटक भयो कि भएन, त्यो पनि थाहा छैन।

१५ वर्षअघि कथासंग्रह ‘काजोल खातुन’ लेख्र्दै गर्दा भिन्न मनोदशामा थिएँ। समाज बदल्ने जोसको उत्तेजित पहाड बोकी हिँडेको त्यो समय द्वन्द्वले मन चिथोरिएको थियो। राजनीतिको झण्डा बोक्दै महाभारत पर्वत उक्लिँदा, रोशी र चुरेको सुक्खा बगरहरूमा बास बस्दा र कोसी तरेर सैलुङ चाहर्दा जन्मिएका थिए, ती द्वन्द्वका कथाहरू।

‘महाभारतकी मैंच्याङ’ कवितासंग्रह अर्कै संवेदनाबीच जन्मियो। तामाङ समाजका अनेक समस्या, पीडा र दुःखहरूबीच पस्दा म अर्कै मान्छे भएर निस्कें । सायद, म संस्कृतिका धुमिल सम्झनाभित्र हराएँ। समयको आदिम गर्तभित्र नोस्टाल्जिक भएँ । मलाई लाग्यो– म मिथकीय यात्रामा छु।

कार्यशालाको भट्टीबाट यो नाटक निस्किँदा तामाङ भाषामा थियो। सर्वनाम थिएटरको १३ दिने मञ्चन र शिल्पी थिएटरको २१ दिने मञ्चनमा पनि तामाङ भाषामै थियो। कचहरी फर्ममा काभ्रेको तेमाल, अनैकोट र सिन्धुपाल्चोकको पेट्कुसम्म पुग्दा पनि यो तामाङ भाषामै थियो। अहिले यो प्राविधिक कारणले नेपाली भाषामा मात्रै आयो।

‘म्हेन्दोमाया’ यही मिथकीय यात्राबाट निस्केको नाटक हो । अहिले पनि थुप्रै गोले थरका तामाङ बोन्बो (झाँक्री)हरू भेट्छु, जो गोसाइँकुण्ड जाँदैनन् । इतिहासको एउटा कालखण्डमा भैरव कुण्डका नागसित हारेका तान्त्रिक गोले बोन्बोको मिथ र त्यो मिथले डामेको घाउ बोकेर तिनीहरू बाँचिरहेका छन् । गोसाइँकुण्ड जाँदा बाटैमा पर्ने भैरव कुण्डमा कसैले ‘गोले झाँक्री आयो...’ भनेर करायो भने नागहरू सल्बलाएर पानीका छालहरूमाथि छचल्किन्छ भन्ने मान्यता छ अहिले पनि।

यसपालि मात्रै पाटन कुम्भेश्वरमा मकवानपुर गढीका सुसन गोले तामाङ भेटिए, गोने ङ्ह्या (भदौ पूर्णिमा) पर्वका अवसरमा । यी युवा बोन्बो (झाँक्री) गोसाइँकुण्ड जान त चाहन्थे । तर, बाटैमा पर्ने भैरव कुण्डमा पुर्खाहरू हारेको मिथले रोक्यो र बाटो घुमाएर ढ्यांग्रो बजाउँदै आइपुगे कुम्भेश्वरमा । मेरो मनले सोध्यो, ‘ए गोले बोन्बो, इतिहासमा हारेको कलंक कहिलेसम्म बोकिहिँड्छाैं?’

यो एउटा शक्तिशाली सांस्कृतिक बिम्ब पनि हो, सायद हारको । सिंगो तामाङ समुदायको वर्तमान सामाजिक मनोविज्ञान र गोले झाँक्रीको मिथबीचको तादात्म्यता के हुन सक्छ ? अहिलेको समय र आउने पुस्ताका लागि पक्कै पनि यो एउटा अहम् प्रश्न हुन सक्छ । नाटकमा त मैले केही गर्न सकिनँ । लेख्दै गर्दाचाहि“ लागेको थियो– किन गोले बोन्बोलाई नागहरुसित लड्न फेरि भैरव कुण्ड नपठाउने?

तर, मलाई म्हेन्दोमायाकै संवेदनाले बढी छोयो । गोले बोन्बोकी पत्नी म्हेन्दोमाया । यो एक काल्पनिक नाम हो । मिथ अध्ययन गर्दा कतै पनि गोले बोन्बोकी पत्नीको नाम भेटिएन । त्यही भएर रसुवा आसपास पश्चिमी तामाङ सभ्यतामा प्रचलित म्हेन्दोमाया गीतलाई गोले बोन्बोको पत्नीको नाम दिएँ । यसलाई पनि एउटा सांस्कृतिक बिम्बकै रूपमा उभ्याएको हुँ मैले । इतिहास र संस्कृतिबाट हराएको एउटा नामको आधिकारिक उत्खनन्चाहिँ होइन।

अमेरिकी समाजशास्त्री डा. क्याथरिन मार्चले पश्चिमी तामाङ महिला समुदायमाथि अध्ययन गर्दै औंल्याइन्– तामाङ समुदायको सामाजिक, आर्थिक नेतृत्वमा महिला हाबी छन् । कोर्नेल विश्वविद्यालयकी यी प्राध्यापकले पिएचडी गर्दै पुस्तक नै लेखिन्, ‘इफ इच कम्स हाफवे : मिटिङ तामाङ वुमन इन नेपाल’ । महिला नेतृत्वको यस्तो गौरवशाली परम्परा बोकेको तामाङ समाजबाट गोले बोन्बोकी पत्नी कसरी हराइन् ? कहाँ हराइन् ? नाटक लेख्दै गर्दा मनमा प्रश्नैप्रश्नले घोच्दै लग्यो।

त्यसपछि मैले नाटकमा गोले बोन्बोकी विधवा पत्नीलाई स–सम्मान गाउँमा भित्र्याएँ। लामा, ताम्बा र गान्बाहरु राखेर उनको पतिको ‘बोन्बो’ पदवी पनि दिलाइदिएँ । समाजमा उनी अर्को बिहे गरेर उच्च सम्मानसाथ बस्ने सक्ने बनाइदिएँ । अरु समुदायका लागि यो एउटा क्रान्तिकारी कदमजस्तो लागे पनि तामाङ समुदाय र संस्कृतिमा यो नौलो हैन, डा. क्याथरिन मार्चले औंल्याएजस्तै।

यो नाटक लेख्दै गर्दा मेरो मनोदशा मिथ र जीवनको दोसाँधमा थियो । म कहिले मिथभित्र पस्थें, हराउँथें, कहिले जीवनमा फर्किआउँथें । मलाई के लाग्थ्यो भने, आफ्नो थानमा नबसी मानिसलाई दुःख दिने दुष्ट काला नागहरूविरुद्ध तान्त्रिक लडाइँ लड्ने गोले झाँक्री त्यो समयको क्रान्तिकारी योद्धा हुन् । मानिसहरूको हितमा आफ्नो ज्यान बलिदान दिने गोले झाँक्रीलाई मिथकीय हैन, अहिलेको समयको चस्माबाट हेर्नुपर्छ । त्यसरी हेर्दा मलाई गोले झाँक्री लोकतान्त्रिक आन्दोलनमा गणतन्त्रको झण्डा बोकी हिँड्दाहिँड्दै गोली लागेर ढलेको सहिद अनिल लामाको अर्को नामजस्तै लाग्छ।

मिथबाट जीवनमा निस्किँदा म यसरी नै देख्छु । नाटकका चरित्रहरू पनि दोसाँधमा छन् जीवन र मिथको । तिनीहरू मिथबाट निस्केर जीवनका अनेकौं समस्यामा फस्छन् । खुला र उदार पुँजीवादी बजारले गाँजेको हाम्रो जस्तो तेस्रो विश्वको समाज र जीवन हरेक हिसाबले विखण्डित बन्दै गइरहेको समय हो यो । सपनाहरूको विखण्डन । किनबेच । इच्छा र आकांक्षाहरूको लिलाम बढाबढ । खुसीलाई आदिम खोपामा मिल्काएर मानिसहरू कहिल्यै नजितिने उपभोक्तावादी दौडमा दौडिरहेका छन् जस्तो लाग्छ मलाई । मेरो नाटकका पात्रहरू पनि यस्ता दौडका निर्दोष–निर्दोष सिकार बनेका छन् । यतिसम्म कि नाटकको अन्त्यमा म्हेन्दोमाया फेरि पनि जीवनबाट मिथमै फर्किन चाहन्छिन् । र, भन्छिन्–
मलाई नरोक!
कसैले नरोक!
अब म भैरव कुण्ड जान्छु
र, दुष्ट नागहरूसँग लड्छु।
म्हेन्दोमायाले ठिकै भनी । तर, आजका दुष्ट नागहरू भैरव कुण्डमा मात्र हैन । यो सर्वव्यापी छ । पाइला–पाइलामा छ । अदृश्य छ।
०००

वि.सं. २०७० को शरद याम सम्झिन्छु।

दसैंको छेकैमा सेलो थिएटरका कलाकारहरू बत्तिसपुतलीस्थित शिल्पी थिएटरको अभिशालामा साधनारत थिए। उनीहरूमध्ये कोही बेढंगले हाँस्दै थिए, कोही रुँदै थिए, कोही चिच्याउँदै । शिल्पीका शिल्पगुरु घिमिरे युवराज ती सबैलाई आ–आफ्नो चरित्र र जीवनबीच लुकामारी खेलाउँदै थिए, छेउमा मचाहिँ ल्यापटप लिएर घोत्लिँदै। अभिशालाको चिल्लो भुइँबाट चरित्रहरू फुत्त–फुत्त उफ्रिँदै मेरा ल्यापटपको स्क्रिनभित्र पस्न आइपुग्थे । म तिनलाई शब्द दिन्थें अनि तिनीहरू वाचल बन्थे । बोल्थे, बौलाउँथे।

नाटक लेखनको यो प्रक्रिया आफंैमा अनौठो थियो । पहिले नै संगीत कम्पोज गरेर गीत लेखेझैं यो नाटकमा पनि सुरुमा अस्थिपञ्चर ठड्याएर पछि मात्रै ज्यान भरिएको हो । घिमिरे युवराज र सेलो थिएटरका कलाकारहरुको साथ नमिलेको भए, सायद यो नाटक जन्मि“दैनथ्यो।

कार्यशालाको भट्टीबाट यो नाटक निस्किँदा तामाङ भाषामा थियो । सर्वनाम थिएटरको १३ दिने मञ्चन र शिल्पी थिएटरको २१ दिने मञ्चनमा पनि यो तामाङ भाषामै थियो । कचहरी फर्ममा काभ्रेको तेमाल, अनैकोट र सिन्धुपाल्चोकको पेट्कुसम्म पुग्दा पनि यो तामाङ भाषामै थियो । पछि पुस्तकको रूपमा निकाल्दा तामाङ र नेपाली दुइटै भाषामा ल्याउने योजना बन्यो, यहीअनुरूप नेपालीमा अनुवाद कार्य पनि थालियो । तर, अहिले यो प्राविधिक कारणले नेपाली भाषामा मात्रै आयो । नाटकको पुस्तक निकै कम निस्किरहेको बेला यसलाई पनि एउटा उपलब्धि नै मानेको छु।

प्रकाशित: ३० भाद्र २०७५ ०४:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App