१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

टेरीद्वारा मस्को जान अस्वीकार

लन्डन – इङ्ल्यान्ड तथा चेल्सीका पूर्वकप्तान जोन टेरीले रूसी क्लब स्पार्टक मस्कोमा अनुबन्धित हुन अस्वीकार गरेका छन् । यसअघि टेरी शुक्रबार स्वास्थ्य परीक्षणका लागि निजी विमानबाट रोम जाने बताइएको थियो । स्पार्टकले ३७ वर्षे रक्षक टेरीसमक्ष एक वर्षका लागि ३० लाख पाउन्डको प्रस्ताव गरेको थियो।

स्पार्टक भने टेरीले आफूहरूको अनुबन्धन प्रस्ताव स्वीकार गर्नेमा विश्वस्त देखिएको थियो । यससँगै क्लबले शीर्ष खेलाडीलाई अनुबन्धन गर्न लागेको भन्दै सामाजिक सञ्जालमा ‘महत्वपूर्ण पाहुना’ पर्खिरहेको उल्लेख गरेको थियो । तर टेरीले परिवारसँगको सल्लाहमा अन्तिम समयमा मस्को जाने निर्णय बदलेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

‘धेरै सोचविचार गरेर स्पार्टकसँगको सम्झौता प्रस्ताव अस्वीकार गरेको हुँ,’ टेरीले इन्स्टाग्राममा लेखेका छन्, ‘स्पार्टकको प्रस्तावप्रति आभारी छु । क्लब र सबै समर्थकलाई सिजन सुखद होस् भन्ने कामना गर्दछु ।’ ‘उनीहरू आकांक्षा राखेका क्लब हुन् र उनीहरूको व्यवसायिकताबाट म प्रभावित भएको छु,’ टेरीले थपे।

टेरीले गत सिजन च्याम्पियनसिप क्लब एस्टन भिल्लामा बिताएका थिए । तर क्लबलाई प्रिमियर लिगमा बढुवा गर्न असमर्थ भएपछि उनले क्लब छोडेका थिए । प्ले अफ खेलमा फुलह्यामसँग पराजित भएसँगै टेरीले व्यावसायिक खेलजीवनमा पूर्णविराम लगाउने अनुमान गरिएको थियो । तर टेरीले भने तत्काल व्यावसायीक खेलजीवन टुंग्याउने कुनै योजना नभएको बताएका छन्।

टेरी चेल्सीका महत्वपूर्ण सदस्य थिए । उनले स्टाम्फोर्ड ब्रिजमा रहँदा क्लबलाई पाँच पटक इङ्लिस प्रिमियर र पाँच पटक एफए कपको उपाधि जिताउनुका साथै २०१२ मा च्याम्पियन्स लिगको उपाधिसमेत जिताएका थिए । टेरीले इङ्ल्यान्ड राष्ट्रिय  टोलीबाट ७८ खेलमा प्रतिनिधित्व गरेका छन् । उनले २०१२ सेप्टेम्बर २३ मा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका थिए।   

 

प्रकाशित: २९ भाद्र २०७५ ०५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App