१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बजारको अभावमा कोल्डस्टोरमै कुहिँदै डोल्पाका स्याउ

डोल्पा – “ए सर हजुर कता जान थाल्नु भएको हो स्याउ खानेभए धित मर्नेगरी आफैं टिपेर लैजानुहोस्, पैसो पर्दैन है हजुर” यसो भन्दै थिइन स्याउ कृषक फुलकुमारी बुढा। स्याउ राजधानीको रुपमा चिनिने डोल्पाको रंगगाउँमा यतिखेर जो कोही पाहुना गाउँमा आउँछन उनीहरूलाई सत्कार स्वरुप टन्न स्याउ खान दिएर, फर्कदा स्याउ उपहार सहित पठाउने गर्छन रंगका स्याउ कृषक।

यो वर्ष बिगतको तुलनामा धेरै स्याउ फलेको डोल्पाको रंग गाउँमा बजारको अभावमा स्याउ कोल्डस्टोर मै कुहिन थालेपछि कृषक चिन्तित बनेका छन्। त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत पर्ने रंग गाउँका कृषकको फारममा फलेको स्याउ नेपालकै स्वादिष्ट र गुणस्तरीय मानिन्छ।

डोल्पामा विशेषगरी ठुलीभेरी नगरपालिका अन्तर्गत जुफाल, लोचा, ितप्ला र त्रिपुरासुन्दरी नगरपालिकाका रंग, जीउमा स्याउको ब्यवसायीक खेती गरिदै आएको भएपनि यातायातको अभावमा स्याउ किसानले बजार नपाउँदा राम्रो मुल्य पाउन सकेका छैनन्।

लटरम्म स्याउको हाँगो नै भुईमा झुकाएर फलेका रोयल जातको स्याउ टिप्दै गरेकी फुलकुमारी बुढाले भनिन्,“स्याउ फल्दैन कि भनेका थियौ तर गत वर्ष भन्दा धेरै फल्यो। तर विक्री नहुँदा स्याउ कोल्डस्टोरमै कुहिने र मल बाहेक अरु केही नहुने भो।

गत वर्ष स्याउबाटै झण्डै २ लाख बराबरको आम्दानी गरेकी फुलकुमारीको फारममा २ सय ५० भन्दा बढी स्याउका रुखमा फलेको स्याउ टिप्न उनलाई हम्मे हम्मे भएको छ। गत वर्षहरूमा भदौको पहिलो साताबाटै स्याउ टिप्ने गरेका रंगालीका कृषकले लामो वर्षातका कारण यो वर्ष भने भदौंको तेस्रो साताबाट स्याउ टिप्न शुरु गरेका छन्।

हिमाली जिल्ला डोल्पामा फलेको अर्गानिक स्याउ प्रति केजी २५ रुपैयाँका दरले विक्री गर्दापनि वर्ष भरी नै स्याउ बच्ने गरेर कोल्डस्टोर मै कुहिने गरेको स्याउ कृषक तथा शिक्षक नवराज बुढाले बताए। सडक यातायातको पहुँच नपुगेको डोल्पामा रंग गाउँमा फलेको स्याउ छिमेकी जिल्ला रुकुम जाजरकोट र सल्यानबाट ब्यापारी फारमै पुगेर प्रतिकेजी २० देखि २५ रुपैयाँ सम्ममा खरिद गरेर लैजाने गरेकोमा यो वर्षको लगातारको वर्षाले रंग गाउँमा आउने छोटो दुरीको बाटोमा पर्ने फोई नजिक भेरी नदीमाथिको झोलुङ्गे पुल भत्केपछि औलेल अर्थात रुकुम जाजरकोट र सल्यानका ब्यापारी नआउने भएपछि स्याउ कोल्डस्टोर मै कुहिने भएको हो।

ढुवानी अनुदान नपाउँदा रंगाली स्याउले बजार पाएन
बिगतमा सरकारले कर्णाली विशेष कृषि कार्यक्रम अन्तर्गत सडकको पहुँच नपुगेको डोल्पाका स्याउ किसानले फलाएको अर्गानिक स्याउलाई नेपालगन्ज, सुर्खेत भैरहवा र काठमाडाैं लगायतका शहरमा पुर्याउनको लागि हवाई ढुवानीमा अनुदान सहित स्याउ प्याकेजिङ्गको लागि कार्टुनको समेत ब्यवस्था गरेकोमा स्थानीय तहले उक्त ब्यवस्था हटाएपछि पनि रंगाली स्याउले बजार नपाउने भएको हो।

त्रिपुरासुन्दरी नगरपालिकाले फलफूल खेतीबाटै नगरलाई आर्थिक सम्वृद्धि बनाउने महत्वकाँक्षी योजना बमोजिम स्याउ, शिबक्र्थोन र अँगुरको बिरुवा खरिद तथा ढुवानीमा गत आर्थिक वर्षमा १ करोड बराबरको रकम बिनियोजन गरेको थियो।

यो आर्थिक वर्ष ०७५–०७६ का लागि सोही कार्यक्रममा २ करोड ४३ लाख रकम बिनियोजन गरेको भएपनि ढुवानी अनुदानको ब्यवस्था नगरिदा आफूहरूलाई कागलाई बेल पाक्यो हर्ष न बिषमात् जस्तै भएको कृषक हिरालाल बुढाले बताए।

त्रिपुरासुनदरी नगरपालिकाले आर्थिक वर्ष ०७४–०७५ मा त्रिपुराकोट, सुउ, जीउ, रंग, फोई, खदाङ्ग ,पहाडा र लिकुमा ९ हजार अंगुर र ३० हजार स्याउका बिरुवा वितरण गरेको थियो। डोल्पाकै ठुलीभेरी नगरपालिकाका मेयर गणेशबहादुर शाहीले  नगरका स्याउ किसानलाई स्याउ प्याकेजिङ्ग र ढुवानीको सुविधा दिएको बताए।

जुफाल बिमानस्थल समेत भएको ठुलीभेरीका स्याउ किसानले ढुवानी र कार्टुनमा अनुदान सहयोग पाएपछि नेपालगन्ज सुर्खेत लगायतका बजारमा हवाईजहाज मार्फत ढुवानी गरिरहेका छन् । राम्रोसँग स्याउ पाक्ने सिजन असोजको पहिलो हप्ता भएपनि स्याउ भण्डारणको अत्याधुनिक ब्यवस्था नहुँदा किसानले भदौको दोस्रो साताबाटै स्याउ टिप्ने गरेको पाइन्छ।

डोल्पाका स्याउ किसानलाई स्याउको ग्रेडिङ्ग, प्याकेजिङ्ग र भण्डारणको तालिम दिनुपर्ने त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढा बताउछन्। सडक यातायातको पहुँच नपुगेसम्मको लागि सोलार ड्रायलबाट स्याउको चाना र अँगुरको किसमिस बनाएर बजारको पहँचमा पुर्याउन सकिने मेयर बुढाको भनाई छ।

कोल्डस्टोरमै कुहिन्छन् ५० प्रतिशत स्याउ
अत्याधुनिक कोल्डस्टोर नहुँदा डोल्पाका स्याउ ५० प्रतिशत माटोको स्टोरमै कुहिने गर्छन । माटोको चिस्यान युक्त कोल्डस्टोर बनाइएको भएपनि माटो र पानीको कारण स्याउ स्टोर मै कुहिने गरेको स्याउ किसान फुलकुमारी बुढाले बताइन्।

गाउँका केही ब्यक्तिले अत्याधुनिक स्याउ भण्डारणको ब्यवस्था गरेको भएपनि अधिकाँश स्याउ किसानले माटोकै कोल्डस्टोरमा स्याउ भण्डारण गर्ने गरेका छन। डोल्पाका रंग जीउ लगायत जुफाल र लोचाका फारममा वर्षेनी २५ हजार टनको हाराहारीमा स्याउ उत्पादन हुने गरेको छ।

प्रकाशित: २८ भाद्र २०७५ १०:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App