१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पराजयले चिनियाँ टोली आलोचित

साङघाई – राष्ट्रपति सी जिनपिङको महत्वाकांक्षी योजनाअन्तर्गत चीनले देशको फुटबल विकास गर्दै विश्वकप आयोजना गर्न लगानी गरिरहेको छ। 

तर चीनको राष्ट्रिय टोलीले भने सोचेअनुरूपको नतिजा ल्याउन सकिरहेको छैन । चीन गत शुक्रबार दोहामा भएको खेलमा आयोजक कतारसँग १–० ले पराजित हुँदा आलोचित भएको छ । पराजयसँगै चीनका सञ्चारमाध्यम र समर्थकले राष्ट्रिय टोली र प्रशिक्षकको कडा आलोचना गरिरहेका छन्। 

कतारसँग भएको खेलमा चीनको प्रदर्शनमा प्रशिक्षक मार्सेलो लिप्पी असन्तुष्ट भएका थिए । २०१६ देखि चीनको राष्ट्रिय टोली सम्हालेका लिप्पी चीनमा आबद्ध हुने प्रशिक्षकमध्येका महँगा हुन्। 

निरन्तर खराब प्रदर्शन गरेको चीन सोमबार १ सय १३औं स्थानको बहराइनसँग गोलरहित बराबरीमा रोकिएको थियो । चीन फिफा वरीयतामा ७५औैं स्थानमा छ । उक्त खेलपछि लिप्पीले आफ्नो टोलीको आलोचनका लागि तयार रहेको बताएका थिए।

शुक्रबार र सोमबारको नतिजाबाट निराश बनेका चीनका समर्थकले टोलीमा व्यापक परिवर्तनको माग गर्दै त्यहाँको सामाजिक सञ्जाल वेइबोमा असन्तुष्टि जनाएका छन् । ७० वर्षीय प्रशिक्षकले आउँदो जनवरीमा युएइमा हुने एसिया कपपछि जिम्मेबारीबाट पन्छने अनुमान गरिएको छ । तर कतारसँगको हार बेहोरेपछि खेलाडीको अवस्थामा प्रशिक्षक लिप्पीले आश्चर्य व्यक्त गरेका छन्।

‘अर्को हप्ताबाट एसिया कप सुरु हुन्थ्यो भने हाम्रो लागि चिन्ताको विषय हुन्थ्यो, तर प्रतियोगिता तयारीका लागि हामीसँग अझै समय बाँकी छ,’ इटालीलाई २००६ को विश्वकपको उपाधि जिताएका प्रशिक्षक लिप्पीले भने।

दुई वर्षअगाडि चीनको राष्ट्रिय टोली सम्हालेका लिप्पीले चीनको फुटबलमा सुधार ल्याउने अपेक्षा गरिएको थियो । तर उनको प्रशिक्षणमा पनि टोलीमा सुधार नआउँदा टोली दुई वर्षअगाडिको अवस्थामा रहेको छ । उनले प्रशिक्षकीय जिम्मेवारी सम्हालेपछि  चीनले २१ खेलमध्ये ८ खेलमा जित र समान ८ खेलमा पराजय भोगेको छ । पाँच खेल भने बराबरीमा सकिएका थिए। 

२०१८ रूसमा सम्पन्न विश्वकप फुटबलमा चीन छनोट हुन असफल भए पनि लिप्पी दबाबमा थिएनन् । तर टोलीले पछिल्लो चार दिनमा गरेको दुई निराशाजनक नतिजापछि भने लिप्पी प्रशिक्षण करियरमा पहिलो पटक चर्को दबाबमा परेका छन्। २०२२ को विश्वकप आयोजक कतारसँग शुक्रबार भएको खेलमा चीनले केही सुन्दर मौका बनाए पनि गोलको दिशा दिन नसक्दा पराजित हुनुपरेको थियो । खेलमा चाइना सुपर लिगका सर्वाधिक गोल कर्ता वु ली सुन्दर मौकालाई सदुपयोग गर्न असफल भएका थिए।

सोमबार चीनको फुटबल संघले ७१ वर्षे गुस हिडिन्कलाई यु–२१ टोली सम्हाल्न जिम्मेवारी दिएको थियो । चीनले महत्वाकांक्षी योजना बुने राष्ट्रिय टोलीका खेलाडी भने अन्य एसियाली राष्ट्रका खेलाडीजस्तो अब्बल नभएको समेत चर्चा चलिरहेको छ।

टोलीमा युवा खेलाडीको उपस्थिति भए पनि प्रशिक्षक लिप्पीले कतारविरुद्धको खेलमा युवा खेलाडीभन्दा पनि ३० वर्षमाथिका खेलाडीलाई पहिलो रोजाइमा समावेश गरेका थिए।

यस निर्णयसँगै स्थानीय  सञ्चारमाध्यमले चीनको फुटबल  निकै कठिन अवस्थामा पुगेका उल्लेख गरेका थिए । ३८ वर्षे मिडफिल्डर जेन झीले खेलको नतिजामा पनि नैराश्यता जनाएका थिए । युवा खेलाडीले टोलीमा छिट्टै स्थान बनाउन सक्ने भए पनि लिप्पिले युवा खेलाडीलाई समावेश गर्न खासै चासो देखाएका थिएनन् । चीनले २००२ को विश्वकपमा सहभागिता जनाएको थियो । उक्त खेलमा चीनले अंक र गोलविहीन बनेको  थियो।

प्रकाशित: २८ भाद्र २०७५ ०४:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App