१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भीमसेन मन्दिर पुनर्निर्माणमा जुटे स्थानीय

ललितपुर - ललितपुर पाटन क्षेत्रका व्यवसायी, स्थानीय र सरोकारवाला व्यक्ति भीमसेन मन्दिर पुनर्निर्माणमा जुटेका छन्। भूकम्प गएको साढे तीन वर्ष बित्दा पनि माथिल्लो निकायले मन्दिर पुनर्निर्माणमा चासो नदेखाएपछि स्थानीयस्तरमै रकम जुटाई मन्दिर पुनर्निर्माणका लागि उनीहरू सक्रिय भएका हुन्।

स्थानीयले बारम्बार पहल गर्दा पनि पुरातत्व विभाग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मन्दिर पुनर्निर्माणमा बेवास्ता गर्दै आएका थिए। भूकम्पका कारण मन्दिरको भित्री भागमा क्षति पुगेको छ। अहिले मन्दिर जोखिम अवस्थामा छ। जुनसुकै बेला ढल्ने र मानवीय क्षति पु-याउन सक्ने भन्दै स्थानीयले तत्काल मन्दिर पुनर्निर्माण थाल्ने बताएका छन् । सरोकारवाला निकायकै ढिलासुस्तीका कारण पुनर्निर्माण रोकिएको मन्दिर बनाउन ललितपुर उद्योग वाणिज्य संघको अगुवाइमा स्थानीय हातेमालो गर्न लागेका हुन्।

संघका अध्यक्ष तथा भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिका संयोजक कृष्णलाल महर्जनले आफूहरूले मन्दिरको दुरवस्था देख्नै नसक्ने भएको बताए । ‘हामीले यसअघि नै मन्दिर बनाउने विषयमा धेरै छलफल ग-यौं, पुरातत्व विभागमा पनि पत्राचार ग¥यौं,’ उनले भने, ‘माथिल्लो निकायले बहाना बनाउँदै मन्दिर पुनर्निर्माणलाई टार्दै लगे, अब हामीले जसरी भए पनि मन्दिर उठाउँछौं।’ उनका अनुसार मंगलबार क्षमा पूजा गरिसकेपछि पुनर्निर्माणका लागि मन्दिर भत्काउने कार्य सुरु हुनेछ। दुई वर्षमा पुनर्निर्माण सक्ने गरी ४ करोड ८१ लाख लागतमा मन्दिर पुनर्निर्माणको कार्य सुरु हुनेछ। ‘पैसाका कारणले सम्पदा पुनर्निर्माण कार्य रोकिँदैन, जसरी पनि हामीले रकम जुटाउन सक्छौं,’ संघका पूर्वअध्यक्ष सविन श्रेष्ठले भने, ‘तीन वर्षदेखि नै मैले निकै प्रयास गर्दै आएको थिएँ तर माथिल्लो निकायले दाताको मुख ताक्दा काम सुरु हुन सकेन। पहिल्यै हामीलाई सुम्पिएको भए मन्दिरको यो हालत हुने थिएन ।’ उनले आफू संघको अध्यक्ष हुँदा पटकपटक मन्दिर पुनर्निर्माणका लागि सम्बन्धित निकायलाई घचघच्याए पनि सुनुवाइ नभएको आरोप लगाए।

भीमसेन देवता व्यापारी वर्गको मुख्य देवता मानिन्छन् । यसअघि विश्वसम्पदामा सूचीकृत यो मन्दिर मर्मतसम्भार गर्न पुरातत्व विभागले भारतीय दूतावासलाई दिने निर्णय गरेको थियो। तर, भारतीय दूतावासबाट कुनै जवाफ नआएपछि विभागले स्थानीयलाई टार्दै आएको थियो। ‘हामीले मन्दिरको अध्ययन गरी मर्मतसम्भारका लागि आवश्यक इस्टिमेट र ढाँचा तयार पारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट पास गराई इन्डियन एम्बेसीलाई पठाएका थियौं, उताबाट कुनै जवाफ आएन,’ विभागका महानिर्देशक भेषनारायण दाहालले भने, ‘अहिले पनि परराष्ट्र मन्त्रालयमार्फत ताकेता गरिहेका छौं, तर एम्बेसीले जवाफै पठाएन ।’ विभागले मन्दिर मर्मतसम्भारमा चार करोड रुपैयाँभन्दा बढी लाग्ने र ढाँचासहित इस्टिमेट एम्बेसीमा पठाएको थियो।

यो मन्दिरलाई कान्तिपुत्र, चक्रवती, पञ्चपाकवलगायत नामले पनि चिनिन्छ । भीमसेन देवता राखेको तेस्रो तलामा भूकम्पले क्षति पुगेकाले तान्त्रिक विधिअनुसार मूर्तिलाई भुइँतलामा राखिएको छ। अहिले व्यापारी र स्थानीयले भुइँतलामैै पूजाआजा गर्दै आएका छन् । केही दिनअघि मन्दिर जोखिम अवस्थामा देखिएकाले स्थानीयले टेको लगाएका थिए । क्षमा पूजाका बेला स्थानीयले यही मन्दिरमै पूजाआजा गर्ने गर्दछन्।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मन्दिर पुनर्निर्माणमा महानगरले चासो दिएको बताए। ‘कुनै पनि हालतमा मन्दिर पुनर्निर्माणको गुणस्तर र मौलिक शैलीमा ‘कम्प्रमाइज’ हुँदैन,’ उनले भने, ‘यदि रकम अपुग भयो भने त्यो महानगरले नै व्योहोर्छ।’

प्रकाशित: २८ भाद्र २०७५ ०४:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App