१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

४ लघुकथा

विभीषणहरु

राजकीय सम्मानका साथ छिमेकी देशका पाहुनालाई भव्य स्वागत गरियो । कार्यक्रम अनुसार मुलुकका प्रमुख पदीय ब्यक्तिहरुसित शिष्टाचारबश चिनजान र भेटघाट गराइयो ।

सरकारी भेटघाट र वार्तापछि विभिन्न दलका प्रमुखहरुसित पनि भेटवार्ताको पालो आयो ।

प्रमुख दलका नेताहरुसित क्रमैले भेट गराइयो ।

परिचय गराइयो : उहाँ फलानो राष्ट्रिय दलका नेता विभीषण प्रसाद ।

उहाँ ढिस्कानो दलका नेता विभीषण बहादुर ... ।  

उहाँ विभीषण लाल सर्वहारा ... ।

उहाँ विभीषण दास ....

उहाँ विभीषण कुमार ...

उहाँ विभीषण .....  ...

उहाँ ....  ......   ....

पाहुनाले सोधे ः यी छुट्टाछुट्टै दलका नेताहरुका नाममा समानता के यहाँको विशेषता हो ?

गाँठो

अगाडि अजङ्गको पहाड थियो ।

तिनीहरुलाई त्यो अजङ्गको पहाड चढ्नु थियो दिनैपिच्छे । तर तिनीहरुसंग चढ्नको लागि एउटा डोरी बाहेक अरु साधन थिएन ।

पहिलो आरोहीले डोरीको सहयोगबाट पहाड चढ्न शुरु ग-यो । फेदबाट केही उकालो चढ्न त गाहारो थिएन । मजासंगै चढियो । तर एउटा मोडमा पुगेपछि भने आफ्नो भारले गर्दा डोरी समातेर सिधै चढ्न उसलाई अप्ठेरो भयो । अप्ठेरो भएपछि सजिलोको लागि उसले डोरीमा गाँठो पा-यो र त्यही गाँठोको सहाराले आरामले चढ्यो ।

पहाड चढ्न अर्को आयो । ऊ पनि आफ्नै तालले चढ्न थाल्यो । बाटोमा एउटा ठूलो ढुङ्गा आयो त्यसलाई छलेर जान उसले पनि डोरीमा गाँठो पा-यो । उसलाई सजिलो भयो । तर उसले पनि काम सकिएपछि गाँठो फुकाउने उपाय गरेन, त्यतिकै छोडेर हिंड्यो ।

यसैगरी प्रत्येक आरोहीले डोरीमा गाँठो पार्दै आफ्नो काम चलायो । केही अप्ठेरो आउनासाथ तिनीहरु डोरीलाई गाँठो  पार्दै समस्याबाट पार लाग्थे तर आफ्नो काम सकिएपछि भने गाँठो त्यतिकै छोडेर जान्थे।

अन्तमा ।

प्रत्येकले गाँठो पार्दा पार्दा डोरीमा गाँठै गाँठो मात्र भयो । हुँदाहुँदा अब अर्को गाँठो बाँध्ने ठाउँ नै रहेन । डोरी त गाँठै गाँठै भएछ । डोरी भएन गाँठोको डल्लो पो भएछ । अब डोरीको सहायताले पहाड चढ्न मुश्किल भयो ।
डोरी गाँठै गाँठोले भरिएदेखि पहाड चढ्ने क्रम पनि रोकियो ।
००

लक्ष्य

ऊ छिटोछिटो हिंडिरह्यो ।

उसले बाटोमा के देख्यो, के देखेन, कोसंग भेट भयो कोसंग भएन, केही पनि सम्झन सकेन । ऊ त हतारिंदै हिंडिरहेको थियो । मानौं उसलाई छिटै कहीं पुग्नु परेको छ ।

त्यसैले आफ्नो सम्पूर्ण ध्यान उसले छिटो हिंड्नमा दिइरह्यो ।

छिटोछिटो हिंड्दा उसलाई अलि स्वाँ स्वाँ पनि आयो । अलि थाके झैं पनि भयो । तैपनि ऊ छिटोछिटो हिंडि नै रह्यो ।

ऊ यसरी दौडिन थालेको धेरै वर्ष भयो ।

ऊ छिटोछिटो हिंडिरह्यो । आफू कहाँ पुगियो भन्ने बारे पनि उसलाई केही थाहा भएन ।

एक ठाउँमा पुगेपछि ऊ टक्क अड्यो । उसले त्यहाँ कुहिरो लागिरहेको देख्यो ।

यसैबेला कसैले उसित प्रश्न ग-यो – कहाँ जान लागेको तिमी ?

हँ ?, ऊ झसंग भयो ।

अहिले तिमी कहाँ पुग्यौ ?

उसले आफूलाई चौबाटोमा ठीङ्ग उभिरहेको देख्यो । उसले यसो त्यसो केही भेउ पाउन सकेन । ऊ झन अकमकियो । एकैछिन घोरिएर उसले सोच्यो । कतै पुग्नका लागि ऊ हिंडेको धेरै वर्ष भइसकेछ । उसले हिसाब ग-यो । ऊ त तीस वर्ष लामो बाटो हिंडी आइरहेको रहेछ । तैपनि ऊ कहीं पुग्न सकेको रहेनछ । शायद उसले त्यसलाई कहीँ.भुलेछ ।

अनि ऊ त्यहीं थचक्क बस्यो ।

महाशय, तपाईँले त्यसलाई आज पनि त्यही चौबाटोमा अलिमलिरहेको देख्नुहुनेछ ।
           ००

बजेट

अब त भएन भन्दै मास्टर जगन्नाथ प्रसाद आज अर्कै बाटो लाग्यो ।

बाटो बिग्रंदा बिग्रंदा हिंड्नै नहुने भइसकेको थियो । खाल्डाखुल्डी र हिलैहिलो । चिप्लिएर लड्ला भन्ने डर । त्यही भएर मास्टर जगन्नाथ प्रसादले कार्यालय जान आजदेखि अर्को बाटो प्रयोग गरेको हो । बिग्रेको बाटो छिनभरमै मूलबाटोमा पुगिने । पछाडिको बाटो परसम्म पुगेर घुमेर आउनुपर्ने । तर बाटोको अवस्थाले गर्दा घुमेर जानुको विकल्प नै छैन ।  

बाटो पीच गरेको दुईचार दिनमा कसैले धारा राख्न बीचैमा सानो खाल्डो खनेको थियो । यद्यपि धारा राख्नुपर्छ भनेर पाइपसाइप बिछ्याएर राखेकोले सडक धेरै खन्नुपरेन । तर सामान्य पीच मात्र गरेको बाटो, अर्कोतिर लोडगाडी ओहोरदोहोर भइरहने त्यसमाथि झरीको समय । त्यसले गर्दा बाटो छिटो बिग्रिहाल्यो ।

मास्टर जगन्नाथले अलिकति बिग्रंदा नै सम्बन्धित ठाउँमा बाटो बनाउन खबर गरेको थियो । निवेदन पनि हालेको थियो । यति मात्र होइन दुईचार दिन बिराएर हप्ताहप्तामा सम्बन्धित ठाउँमा घच्घच्याउने काम पनि गर्दै आएको थियो । तर उसले जति नै तातो लाए पनि बजेट नै आएको छैन भन्ने जवाफ पाउँथ्यो । धाउँदा धाउँदा हैरान भइसक्यो । तर जवाफ संधै एउटै आउने , बजेट आएको छैन । उसलाई छक्क लाग्थ्यो । जाबो सानो खाल्डो पुर्न कस्तो बजेट आउनुपर्ने हो ? अलिकति गिट्टी, बालुवा, सिमेन्ट र अलकत्रा भए पुगिहाल्थ्यो । सम्बन्धित कार्यालयसित त्यति सामग्री त अवश्य हुनुपर्ने ।

मास्टर जगन्नाथ प्रसाद उमेरहदका कारण अवकाशपत्र लिएर आयो । अब भोलिदेखि उसले सकस सहेर त्यो बाटो हिंड्न परेन ।

यही सोच्दै ऊ घर फर्कंदै थियो । घरनिर पुगेपछि कसैले उसलाई भन्यो – लौ माड्साब, अब बाटो बन्ने भयो, बजेट आयो ।

प्रकाशित: २३ भाद्र २०७५ ०६:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App