१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

काम नगर्ने जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गर्ने तयारी

काठमाडौं - तीन वर्षअघि विद्युत् विकास विभागबाट उत्पादन अनुमति लिएका तर कार्यप्रगति २० प्रतिशतभन्दा कम भएका आयोजनाको लाइसेन्स खारेज हुने भएको छ।

विभागका महानिर्देशक नविनराज सिंहले ३६ जलविद्युत् आयोजनाको प्रगति विवरण मागिएको र चित्तबुझ्दो जवाफ नआए लाइसेन्स खारेज गरिने नागरिकलाई बताए । ‘आयोजनाको फोटोसहितको प्रगति विवरण मागिएको छ,’ उनले भने, ‘उचित कारणसहितको विवरण पेस नगर्ने आयोजनाको लाइसेन्स समेत खारेज गर्नेछौं।’

२०७२ साउन ३० भन्दा अगाडि अनुमति लिएका तर प्रगति २० प्रतिशत भन्दा कम गरेका आयोजनालाई भदौ १२ मा पत्राचार गरेको विभागको भनाइ छ । ‘३–४ वर्ष हुँदा पनि आयोजना नबनाउने र लाइसेन्स मात्र ओगट्ने कामलाई अन्त्य गर्न यस्तो कदम चालिएको हो,’ महानिर्देशक सिंहले भने, ‘चित्तबुझ्दो जवाफ नदिए लाइसेन्ससमेत खारेज गर्नेसम्मको तयारीमा छौं।’

२० प्रतिशतभन्दा कम कार्यप्रगति गरेका निजी क्षेत्रका ३४ र नेपाल विद्युत् प्राधिकरण मातहतका २ भएको विभागको भनाइ छ । ‘प्राधिकरण मातहतका आयोजनाको टेन्डर लगायत प्रक्रियागत झन्झटका कारण कार्यप्रगति कम हुनुलाई स्वाभाविकै मानेका छौं,’ उनले भने, ‘तर, निजी क्षेत्रका आयोजना निर्माणमा प्रगति नदेखिनुलाई भने स्वाभाविक मान्न सकिँदैन।’

पछिल्लो समय आयोजना निर्माणमा सहज वातावरण बन्दै गएपनि विभिन्न बहाना बनाई आयोजना निर्माणमा ढिलाइ गरेका कारण यस्तो कदम चाल्नुपरेको महानिर्देशक सिंहको भनाइ छ । ‘उपयुक्त वातावरणमा पनि आयोजना निर्माणमा नजाने हो भने कहिले बन्ने ?,’ उनले भने, ‘चित्त बुझ्दो जवाफको माग गरेका छौं; उपयुक्त जवाफ नआए लाइसेन्स नै खारेज गर्छौं।’

यसअघि ऊर्जा मन्त्रालयले जारी गरेको श्वेतपत्रमा पनि झोलामा उत्पादन लाइसेन्स लिएर राख्नेलाई कारबाही गर्ने उल्लेख छ । त्यही श्वेतपत्रको आडमा यस्तो कदम चालिएको विभागको भनाइ छ।

सबैभन्दा कम प्रगति म्याग्दीमा निर्माणाधीन ८.३ मेगावाटको घर खोला र ४ मेगावाटको रुप्से खोलाको देखिएको छ । उनीहरुले उत्पादन लाइसेन्स लिएको तीन वर्षभन्दा बढी हुँदा पनि ०.५ प्रतिशतमात्र काम भएको छ।

दोस्रो कम काम गर्ने आयोजनामा ४३.३ मेगावाट क्षमताको अपर मैलुङ खोला र ८.३ मेगवाटको सवाखोला ‘ए’ परेका छन् । उनीहरुको पनि १ प्रतिशत मात्र कार्यप्रगति भएको विभागको भनाइ छ।

तेस्रो कम कार्यप्रगति विवरण भएका आयोजनामा १.७५ मेगावाट क्षमताको जुम्दी खोला, ४.९९ मेगावाटको लोअर ताडी, २० मेगावाट अपर मस्र्याङ्दी र ४० मेगावाट क्षमताको राहुघाटको समग्रमा २ प्रतिशत मात्र कार्यप्रगति छ।

५२.४ मेगावाटको लिखु–४, ३७.६ मेगावाटको कावेली ‘ए’ र ७ मेगावाटको सुरी खोलाको कार्यप्रगति ३ प्रतिशतमात्र छ।

यसैगरी, ४ प्रतिशत मात्र कार्यप्रगति भएको आयोजनामा ९.५ मेगावाटको डाउन पिलुवा छ । २.५ मेगावाटको सलाँखु खोला, ६.५ मेगावाटको रसुवा खोला र ८.५ मेगावाटको अपर हेवा खोलाको कार्यप्रगति ५ प्रतिशत छ।

२४.१ मेगावाटको खारे खोला र १४.९ मेगावाटको माया खोला र ४२ मेगावाटको अपरमोदी ‘ए’को प्रगति ८ प्रतिशत मात्र छ।

यसैगरी, ५.२ मेगावाटको जुनबेसी खोला, ४.८ मेगावाटको खोरुङगा खोला, ३० मेगावाटको खानीखोला र ८२ मेगावाटको लोअर सोलुको १० प्रतिशत मात्र कार्यप्रगति छ । १०.३ मेगावाटको दोर्दी ‘ए’ले कुल बजेटको १३.५ प्रतिशत खर्च मात्र गरेको छ । यसैगरी, ३० मेगावाटको न्यादी खोला र ३.१ मेगावाटको मिडिल मिदिम खोलोको कार्यप्रगति १५ प्रतिशत छ।

त्यसैगरी, ४९.६ मेगावाटको सुपर दोर्दी र ४.२ मेगावाटको लोहोर खोलाको प्रगति २० प्रतिशत पुगेको विद्युत् विकास विभागको विवरणमा उल्लेख छ।

प्रकाशित: २१ भाद्र २०७५ ०७:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App