१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

कक्षा १ मा पढ्दै ७५ वर्षीय हजुर अामा !

खोटाङको दिक्तेलस्थित सरस्वती मावि, कक्षा १ मा पढ्दै ७५ वर्षीया जुरीमाया राई । तस्बिर : दमन राई/नागरिक

खोटाङ- खोटाङकी केपिलासगढी गाउँपालिका–४, बाक्सिलाकी जुरीमाया राई उमेरले आराम गर्दै घरैमा बसिरहेको हुनुपर्ने हो । तर, ७५ वर्षीया उनको दिनचर्या स्कुल धाइरहेका स–साना विद्यार्थीकाे भन्दा फरक छैन । जुरीमाया किताबकापी बोकेर नातीनातिनी उमेरका बालबालिकासँगै विद्यालय पुग्छिन् । पढेर उसैगरी घर फर्किन्छिन् । बाल्यकालमा पढ्न नपाएको धोको पूरा गर्न उनी बुढेसकालमा दिक्तेलस्थित सरस्वती माविमा गत साउन ६ गते कक्षा १ मा भर्ना भएकी हुन् । जुरीमायाले छोटो समयमै सावाँ अक्षर जानिसकेको सरस्वती मावि, कक्षा १ का शिक्षक नुरकाजी सैंजूले बताए ।

उहिले समाजमा महिलाले पढ्नु हुन्न भन्ने मान्यता थियो । हिजोआज जस्तो जताततै स्कुल पनि थिएन । वि.सं. २००१ मा जन्मिएकी जुरीमायाले पनि पढ्ने पाउने कुरै भएन । त्यसबेला पढ्न नपाएको धोको बुढेसकालमै भए पनि पूरा गर्न अहिले उनी सरस्वती माविको कक्षा १ मा भर्ना भएकी हुन् ।

उहिले समाजमा महिलाले पढ्नु हुन्न भन्ने मान्यता थियो । पढ्ने रहर हुँदाहुँदै पनि मन मारेर बस्नुपर्ने अवस्था थियो । हिजोआज जस्तो जताततै विद्यालय पनि थिएन । वि.सं. २००१ मा जन्मिएकी जुरीमायाले पनि लेखपढ पाउने कुरै भएन । त्यसबेला पढ्न नपाएको चाहना बुढेसकालमै भए पनि पूरा गर्न पढ्न थालेको जुरीमाया बताउँछिन् । विद्यालय आउन थालेपछि छ÷सात वर्ष मुनिका बालबालिका उनका साथी भएका छन् । नातीनातिनी उमेरका बालबालिकासँगै घुलमिल भएर उनी रम्न थालेकी छन् । बुढेसकालमा विद्यालय भर्ना भएकमा जुरीमायालाई रत्तिभर अप्ठ्यारो लागेको छैन । बरु उत्साहित छिन् । कक्षाका सबै बालबालिकाले उनलाई ‘हजुरमा’ भनेर बोलाउँछन् भने कक्षा शिक्षकले ‘आमा’ भनेर बोलाउँछन् । ‘कक्षामा बालबच्चाले अलि हो–हल्ला गर्छन्, तर अहिले बानी परिसक्यो,’ जुरीमायाले भनिन्, ‘कक्षाका साथीहरू सानै भए पनि ठीकै छ । पढ्ने रहर छ । विद्यालय आउँदा कुनै अप्ठ्यारो लागेको छैन ।’

बाक्सिला घर भए पनि जुरीमाया २०७२ फागुनदेखि दिक्तेलको संगमपार्कमा बस्न थालिन् । इसाई धर्मावलम्बी उनलाई लेखपढ गर्न जान्ने भएपछि बाइबल लगायतका पुस्तक पढ्ने र प्रवचन दिने धोको छ । त्यही धोको पूरा गर्न उनी बुढेसकालमा गत वर्ष पनि विद्यालयमा भर्ना हुने प्रयास गरिन् । तर, प्रोत्साहन नपाउँदा भर्नै नभई विद्यालयबाट फर्केकी थिइन् । यसपल्ट भने दृढ संकल्पका साथ पुनः विद्यालय आएकी उनी भर्ना भएरै छाडिन् र पढ्न थालिन् । सरस्वती मावि कक्षा १ का २८ विद्यार्थीमध्ये जुरीमाया पनि एक हुन् । अन्य बालबालिका सरह उनी विद्यालयमा लेखपढ गर्छिन्, कखरा सिक्छिन् । शिक्षकले दिएको गृहकार्य गर्छिन् ।

जुरीमाया कक्षाको भित्तामा राखेको चार्ट हेरेर अंग्रेजी अल्फाबेट आफ्नो कापीमा उतार्छिन् । शिक्षकले सोधेका अंक तथा सामान्य जोड–घटाउको उत्तर दिन्छिन् । डेढ महिनामै उनको कापीका बाङ्गाटिङ्गा अक्षर सोझो बन्न थालेका छन् । शिक्षका अनुसार उनी कक्षाकी नियमित विद्यार्थी हुन् । आमा समानको विद्यार्थीलाई पढाउन पाउँदा गौरव लागेको शिक्षक सैंजूले बताए । ‘मेरी आमाको ७८ वर्षको उमेरमा निधन भएको थियो, मैले आमा समानको मान्छेलाई पढाउने अवसर पाएको छु,’ उनले भने, ‘उहाँ हाम्रो विद्यालयको गर्व हो । उहाँलाई लेखपढ गर्न सक्ने बनाउन सके पुण्य प्राप्त हुनेछ ।’

जुरीमायाको २०१९ सालमा विवाह भएको थियो । विवाह भएको केही वर्षपछि श्रीमान सिंगापुर प्रहरीमा भर्ती भए । श्रीमानसँगै उनी सिंगापुर पनि पुगिन् । तर, उनका बालबच्चा भएन । सन्तानका लागि श्रीमान्ले दोस्रो विवाह गरे । कान्छीपट्टि छोराछोरी जन्मिए । त्यसपछि उनी श्रीमान्बाट अलग्गै बस्न थालेकी हुन् । उनले अहिले श्रीमान्को आधा पेन्सन लिँदै आएकी छन् ।

प्रकाशित: २० भाद्र २०७५ ०३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App