१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

उदयपुर अस्पतालमा ‘माईक्रोबायोलोजी कल्चर’ सेवा सुरु

उदयपुर अस्पतालमा सुरु भएको माईक्रोबायोलोजी कल्चर सेवाको उद्घाटन गर्दै मेयर बलदेव चौधरी। तस्विरः महेश्वर

उदयपुर – उदयपुर जिल्ला अस्पताललाई उत्कृष्ट बनाउने उद्देश्यले थप सेवाग्राही मैत्री बनाउने रणनीति अघि सारिएको छ। स्वास्थ्य चौकीसरह पनि सेवा दिन नसकेको भन्दै केही समययता सर्वसाधारणले गुनासो गर्दै आएकोमा अब अस्पताललाई अग्रणी स्वास्थ्य संस्थाका रुपमा विकास गर्ने बताइएको छ। सोही उद्देश्य अनुरु अस्पतालले सोमबारदेखि ‘माईक्रोबायोलोजी कल्चर’ सेवा सुरु गरेको छ।

कोसी अञ्चल अस्पतालपछिको दोस्रो पुरानो र ५० सैय्याको आधुनिक भवन र भौतिक पूर्वाधारयुक्त अस्पतालमा सोमबारदेखि बिधिवत ‘माईक्रोवायोलोजी कल्चर’ ल्याव सेवा उपलब्ध गराउन थालिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. पवनकुमार साहले बताए ।

सेवाको सोमबार त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बिधिवत उद्घाटन गरेका छन्। ‘माईक्रोबायोलोजी कल्चर’ प्रविधिको सेवाले घाउको पिप निकाल्न, पिसाव, खकार, रगत, फङ्स, ग्राम सटेन, केओएच, माइक्रोस्कोपी लगायत रोगको परीक्षण गर्न सहज हुने बताइएको छ।

डा. साहले सुरुमा यो प्रविधिको सेवा परीक्षणका लागि अस्पतालले मेडिकल टेक्नोलोजिष्ट प्रवणकुमार यादवलगायत ४ जनाको प्राविधिक टोली परिचालन गरेको बताए। जनस्वास्थ्य विभागले पठाएको टेक्नोलोजी टोली सुरुमा परिचालन गरिने र अपुग जनशक्ति स्थानीय स्वास्थ्यकर्मीबाट पूर्ति गर्दै सेवा उपलब्ध गराइने उनले बताए।

सेवा सुरु गर्नका लागि त्रियुगा नगरपालिकाले १० लाख उपलब्ध गराएको र बाँकी १५ लाख बराबरको बिभिन्न उपकरणको व्यवस्था विभाग उपलब्ध गराएको छ। हाललाई नगरपालिका र विभागबाट गरी २५ लाख रुपैयाँको लागतमा प्रविधि जोडेर सेवा सुरु गरिएको टेक्नोलोजिष्ट यादवले बताए।

आवश्यक प्रविधिको अभावमा विरामीले सेवा सुबिधा लिन नपाउँदा यो सेवा लिन अहिलेसम्म जिल्लाबासीहरु धरान, बिराटनगर र राजधानी धाउन बाध्य थिए। अस्पताल विकास समितिका पूर्व अध्यक्ष शिवकुमार रेग्मीले यो सेवा सुरु भएपछि अस्पतालको सेवामा दोब्बर बढोत्तरी हुने अनुमान गरिएको बताए।

नयाँ प्रविधिको सेवा उद्घाटन गर्दै मेयर चौधरीले जिल्ला अस्पतालको सेवासुबिधा बिस्तार गरेर प्रदेशकै अब्बल अस्पताल बनाउनेतर्फ नगरपालिका लागी पर्ने बताए। उनले अहिलेको संरचनामा अस्पताललाई स्थानीय तहमातहत राखिएको भए पनि प्रभावकारी सेवा जनतालाई दिलाउन संघ र प्रदेश सरकारसँग समन्वय गरिने बताए।

‘उदयपुर जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयलाई त्रियुुगा नगरपालिकाको आवधिक योजनाले सूचकको रुपमा राखेकाले स्वास्थ्य क्षेत्रको सेवा सुबिधा टोलटोलमा पु¥याउँने योजना बनाएका छौं’ मेयर चौधरीले भने ‘तर, कहिले संघ र प्रदेशको अधिनमा राख्नेजस्ता अमूर्त अभिव्यक्ति आउने गरेका कारण नगरपालिकाले सोँचेजस्तो सेवामुखी बनाउन सकिरहेको छैन।’ उनले नगरमातहत रहे पनि नरहे पनि उदयपुर अस्पताललाई साधनस्रोत सम्पनन बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।

प्रकाशित: १९ भाद्र २०७५ ०८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App