१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकार अधिनायकवादतर्फ उन्मुखः महत

उदयपुर– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह महामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन्। भगिनी संगठन नेपाल विद्यार्थी संघ उदयपुरद्वारा गाईघाटमा बिहीबार आयोजित ‘सुदृढ कांग्रेसका लागि नेविसंघको भुमिका’ विषयगत विचार गोष्ठीमा बोल्दै डा.महतले यस्तो आरोप लगाएका हुन्। 

नेकपाको सरकारको पालामा जताततै हत्या, हिंसा, बलात्कार र व्यभिचारजस्ता आपराधिक घट्ना बढेको भन्दै डा. महतले यो सरकार शान्ति सुरक्षामा असफल भएको टिप्पणी गरे। सरकारको ६ महिनाको अवधिलाई हेर्दा उसले अघि सारेको विकास र समृद्धिको नारा नारामै सीमित हुने भन्दै सहमहामन्त्री डा. महतले यस्तो तरिकाले सरकारले शान्ति, समृद्धि र विकास सम्भव नहुने ठोकुवा गरे। 

‘दिनदिनै बलात्कार, हत्या र अपहरणजस्ता घट्ना देशभर भइरहेका छन्, सरकार अपराधी पत्ता लगाउन सकिरहेको छैन’, सह महामन्त्री महतले प्रश्न गरे, ‘यस्तो स्थिति हुँदाहुँदै देशमा कसरी विकास र संमृद्धि आउँछ?’ उनले नेकपाको सरकारले शान्ति सुरक्षा नै कायम गर्न नसकेको अवस्थामा विकास र समृद्धि धेरै टाढाको कुरा भएको बताए। 

पार्टी विद्यार्थी विभाग प्रमुखसमेत रहेका डा. महतले कम्युनिष्ट सरकार अधिनायकबादी हुने भन्दै नेकपाको सरकारको पछिल्ला गतिबिधिले पनि यही कुराको संकेत गरेको औंल्याए। उनले कम्युनिष्टलाई भोट दिएसम्म देश अघि बढ्न नसक्ने ठोकुवा पनि गरे। ‘संसारका कम्युनिष्टहरु अधिनायकवादी देखिएको इतिहास छ’, उनले भने, ‘नेपालको कम्युनिस्ट सरकारले पनि यही कुराको संकेत गर्दैछ, कम्युनिष्टलाई भोट दिइञ्जेलसम्म देश अघि बढ्न सक्दैन।’ 

पार्टी केन्द्रीय सदस्य तथा पूर्व नेविसंघ अध्यक्ष कल्याण गुरुङले पार्टीलाई आन्तरिक रुपमा मजबुद बनाउनु पर्नेमा जोड दिँदै आन्तरिक कलह नभए नेपाली कांग्रेस अहिले पनि बलियो रहेको र जहिल्यै बलियो रहने बताए। उनले अन्तरकलह साम्य पार्न सके आगामी निर्वाचनमा कांग्रेसले स्पष्ट बहुमत ल्याउने निश्चित भएको भन्दै नेताहरु गुट उपगुट र आन्तरिक झगडाबाट टाढा रहन सुझाए।

कार्यक्रममा केन्द्रीय सदस्य तथा उदयपुरका प्रतिनिधिसभा सांसदद्वय प्रमिला राई र लक्ष्मी परियार तथा प्रदेश सांसदद्वय हिमाल कार्की र सञ्जा दनुवारलगायतले पनि पार्टी अघि बढाउन आन्तरिक झगडा गर्न छाड्नुपर्नेमा जोड दिएका थिए। 

प्रकाशित: १४ भाद्र २०७५ १३:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App