१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उपल्लो डोल्पाका धार्मिक धरोहर तस्करको निसानामा

डोल्पा - उपल्लो डोल्पाका धार्मिक महत्वका धरोहर मानिने गुम्बाहरु प्रत्येक बर्ष तस्करको निसानामा पर्दै आएका छन्।
बौद्धमार्गीहरुका धार्मिक महत्वका धरोहरु गुम्बामा राखिएका हजारौँ बर्ष पुराना ऐतिहाँसिक मुर्ती र धर्मग्रन्थहरु हराउँदै गएपछि उपल्लो डोल्पामा रहेका दर्जनौँ प्रशिद्ध गुम्बाहरु तस्करको निसानामा पर्दै आएको खुलासा भएको हो

उपल्लो डोल्पाको शे गुम्बा, रे गुम्बा, मिखिम गुम्बा, गाँकर गुम्बा, बोन गुम्बा लगाएतका दर्जनौ गुम्बाहरु तस्करको निसानामा परेका छन्। बौद्ध धर्मालम्बीहरुको बस्ती धेरै भएको उपल्लो डोल्पामा पछिल्लो चारबर्ष यता मात्रै दर्जनौ थान बहुमुल्य मुर्तीहरु चोरी भएका छन्।

प्रहरीका अनुसार डोल्पो बुद्ध गाँउपालिका ३ मा पर्ने गाँकर गुम्बा र मेखिम गुम्बाबाट २०७२ चैत्र २८ गते राती ४ थान बुद्धका मुर्ती, बौद्ध धर्म सम्बन्धि १ थान पुस्तक चोरी भएको थियो । पुरातात्विक मुर्तीहरुहरुसँगै सुन र चाँदीको धातुद्धारा लिखित बौद्ध धर्मग्रन्थहरु पनि हराएका थिए। हराएका ४ थान मुर्तीहरु मध्ये ३ थान मुर्ती र १ थान बौद्ध धर्म सम्बन्धि पुस्तक स्थानीयको सक्रियतामा चोरी भएकै दिनमा बरामद गरिएको थियो। पुरातात्विक मुर्ती र धर्मग्रन्थ चेक जाँचका लागि पुरातत्व विभाग काठमाडौ लगिएको २ बर्ष ४ महिना पछि २०७५ साउन १५ मा मेखिम र गाँकर गुम्बामै स्थापना गरिएको पुरातत्व अधिकृत प्रकाश खड्काले जानकारी दिए। मुर्ती तथा धर्मग्रन्थहरु सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि मार्फत गुम्बालाई बुझाईएको खड्काले जानकारी दिए।

यस्तै छार्काताङसोङ गाँउपालिका १ मा पर्ने बोन गुम्बाबाट २०७३ जेठ २८ गते हराएको १ थान बुद्धको मुर्ती तत्काल बरामद गरिएको थियो। बरामद १ थान मुर्ती पुरातत्वको टोलीले डोल्पा ल्याईपुर्‍याए पनि बोन गुम्बामा स्थापना नगरि जिल्ला प्रशासन कार्यालय डोल्पामा सुरक्षित राखिएको छ।

त्यस्तै शे–फोक्सुन्डो गाँउपालिका अन्तर्गत रिग्मो गाँउमा पर्ने ६ सय बर्ष पुरानो थासोङ छोलिङ गुम्बाबाट यसै बर्ष हराएको सात थान मुर्तीहरु अझै पत्ता लाग्न सकेका छैनन्। गुम्बाका सबै मुर्ती चोरी भएपछि गुम्बाको अस्तित्वनै धरापमा परेको गुम्बा प्रमुख लोट्याई लामाले बताए। नेपालकै गहिरो शे–फोक्सुन्डो तालकौ छेउमै रेहेको उक्त गुम्बा ताल पछिको अर्को पर्यटकीय गन्तब्यको रुपमा चिनिँदै आएको छ।

गलत हल्लाले चोरी बढ्याे
उपल्लो डोल्पामा रहेका ऐतिहाँसिक गुम्बाहरुमा चोरी हुनुमा गलत हल्ला रहेको पुरातत्व अधिकृत प्रकाश खड्काको भनाई छ। उपल्लो डोल्पाका विभिन्न गुम्बाहरुमा राखिएका पुरातात्विक मुर्ती तथा धर्मग्रन्थको मुल्य करोडौँ पर्ने भन्दै गलत हल्ला फैलाउनाले पनि गुम्बाहरु तस्करहरुको निसानामा पर्ने गरेको खड्काले बताए।

उपल्लो डोल्पाका अधिकाशं ठाँउहरु टेलिफोन विहिन भएकाले समेत तस्करहरुलाई सहजै पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक अभदेश बिष्टले जानकारी दिए। तस्करहरु चोरी गरेर भागिसक्दा समेत प्रहरीलाई सुचना नआउने र प्रहरीले सुचना पाएर घटनास्थल पुग्दा सम्म चोरहरु फरार भईसक्ने हुनाले समेत सुरक्षा चुनौति थपिएको बिष्टको भनाई छ।

प्रकाशित: १३ भाद्र २०७५ १०:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App