१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

युनाइटेडको हारले माउरिन्होलाई संकट

म्यानचेस्टर – म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले सोमबार घरेलु मैदानमा आफ्नो प्रशिक्षण करियरकै फराकिलो हार बेहोरेका छन् । ओल्ड ट्राफोर्डमा टोटेनह्यामसँग ३–० ले पराजित भएपछि माउरिन्हो दबाबमा परेका छन्। 

लगातार दोस्रो हार बेहोरेपछि युनाइटेडका प्रशिक्षक माउरिन्हो प्रिमियर लिगको जारी सिजनमा बर्खास्त हुन सक्ने प्रशिक्षकको अग्रपंक्तिमा रहेका छन् । ह्यारी केनले एक तथा लुकास मुराले दुई गोल गरेपछि टोटनह्यामले तीन  खेलबाट ९ अंक जोड्दै  तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलको पनि समान ९ अंक भए पनि गोलअन्तरका आधारमा शीर्ष स्थानमा यथावत् छ।

लगातार दोस्रो हार बेहोरेको युनाइटेड ३ अंकका साथ तालिकाको १३औं स्थानमा रहँदा चेल्सी तेस्रो र साबिकको विजेता म्यानचेस्टर सिटी भने पाँचाैं स्थानमा छन् । खेलाडी अनुबन्धनको विषयलाई लिएर पछिल्लो समय माउरिन्होले  क्लबप्रति तिक्तता व्यक्त गरिरहेका छन् । लेस्टर सिटीमाथि २–१ को संघर्षपूर्ण जित निकाल्दै लिगको सुरुआत गरेको युनाइटेड दोस्रो खेलमा ब्राइटनसँग ३–२ ले पराजित भएपछि माउरिन्होको प्रशिक्षण शैलीलाई लिएर क्लबमा आलोचना हुन थालेको थियो । खराब नतिजापछि माउरिन्होले प्रिमियर लिगकै अर्को क्लबमा पाएको सफलताको चर्चा गर्दै आफ्नो बचाउ गरेका थिए।

‘प्रिमियर लिगका अन्य १९ प्रशिक्षकहरूले भन्दा म एक्लैले बढी उपाधि जितेको छु । उनीहरूले दुई जित्दा मैले तीन उपाधि जितेको छु । सम्मान गर्न सिक,’ माउरिन्होले पत्रकारसँग आक्रोश पोखे । खेलपछि माउरिन्होले घरेलु समर्थकलाई सम्बोधन गरेका थिए । खराब नतिजाका बावजुद पनि समर्थकहरू अन्तिमसम्म रंगशालामा बसेका थिए । माउरिन्होले थपे, ‘आज सच्चा निर्णायक समर्थक हुन् भन्ने प्रमाणित भएको छ।’

दोस्रो हाफमा टोटेनह्यामले गोल गर्नुअघि घरेलु टोलीले खेलमा नियन्त्रण राखेको थियो । खेलमा पकड राखे पनि युनाइटेडले गोलका थुप्रै अवसर सदुपयोग गर्न सकेन । बेल्जियमका फरवार्ड रोमेलु लुकाकुले १५औं मिनेटमा गोल गर्न चुक्दा युनाइटेडले अग्रता लिने मौका गुमायो। 

यसअघिका चार भेटमा माउरिसियो पोचेट्टिनोको टोलीले ओल्ड ट्राफोर्डमा जित हात पार्न सकेको थिएन । ५०औं मिनेटमा कप्तान ह्यारी केनले किरन ट्रिपरको पासमा टोटनह्यामलाई अग्रता दिए । क्रिस्टियन इरिक्सनको पासमा लुका मौराले अग्रता दोब्बर बनाए । दोस्रो हाफमा सुधारिएको खेल पस्किएको टोटेनह्यामका मौराले खेल सकिन ६ मिनेट बाँकी रहँदा अर्को गोल थप्दै जित पक्का गरेका थिए। 

‘हाम्रो लागि यो ठूलो जित हो । टोलीको प्रदर्शनबाट म सन्तुष्ट छु,’ टोटेनह्यामका प्रशिक्षक पोचेट्टिनोले भने, ‘युनाइटेडलाई उसैको मैदानमा पराजित गर्नु निकै कठिन हुन्छ । पहिलो हाफमा उनीहरू हाबी भएका थिए । दोस्रो हाफमा हामी उनीहरूको रणनीतिलाई विफल बनाउन सफल भयौं।’

‘युनाइटेडलाई उसैको मैदानमा पराजित गर्नु निकै कठिन हुन्छ । पहिलो हाफमा उनीहरू हाबी भएका थिए । दोस्रो हाफमा हामी उनीहरूको रणनीतिलाई विफल बनाउन सफल भयौं।’

प्रकाशित: १२ भाद्र २०७५ २३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App