१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

१३ प्रतिशत ब्याजमा अटोलोन

काठमाडौं - एक–दुई अपवादलाई छाड्ने हो भने २८ वटै वाणिज्य बैंकले १२ देखि १३ प्रतिशतमा अटोलोन दिन थालेका छन्। बैंकमा लगानीयोग्य रकम (तरलता) को अभाव तत्कालका लागि केही सहज भएसँगै उक्त ब्याजदरमा अटोलोन दिन थालेका हुन्।

औसतमा १३ प्रतिशत ब्याजदरमा बैंकहरुले अटोलोन दिँदै आएको मेगा बैंकका चिफ बिजनेस अफिसर महेशशर्मा ढकालले नागरिकलाई बताए। ‘एक–दुई अपवादलाई छाडने हो भने १२ देखि १३ प्रतिशत ब्याजदरमा गाडी किन्ने कर्जा दिन थालेका छन्,’ उनले भने।  मेगा बैंकले १२.५० प्रतिशतमै अटोलोन दिने नयाँ स्किम ल्याएको पनि ढकालले जानकारी दिए।

लगानीयोग्य पुँजी पर्याप्त भएको बेला बैंकहरुले ७ देखि ८ प्रतिशत ब्याजमा अटोलोन दिएका थिए। तर, करिब एक वर्षयता तरलता अभाव भएपछि अटो कर्जाको ब्याजदर बढाएर १२–१३ प्रतिशत पु-याएका हुन्।

गोजीमा ६ लाख नगद र बाँकी साँवाब्याज किस्ताबन्दीमा बुझाउने आँट भएको व्यक्तिका लागि गाडी चढ्नु सामान्य जस्तै भएको छ।

बैंकहरुले सुरक्षित लगानी भन्दै अटोलोन दिइरहेका छन् । ‘एसएमईमा पनि १२ प्रतिशतमा बैंकले कर्जा दिइरहेका छन्,’ ढकालले भने, ‘अटोमा १३ प्रतिशत ब्याजदरमा लगानी गर्नुलाई अनौठो मान्न सकिँदैन।’

राष्ट्र बैंकले सेयर र घर–जग्गामा गरेको कसिलो व्यवस्थाले पनि अटो कर्जामा लगानी बढेको व्यवसायीको भनाइ छ । पछिल्ला समय अटो बैंकका लागि लगानीको आकर्षक क्षेत्र भएको छ।

नेपालीको आम्दानी बढेसँगै निजी सवारी साधन प्रयोगकर्ता बढेका छन्। योसँगै बैंकबाट ऋण लिनेको संख्या पनि बढेको छ । बैंकले सवारी साधनमा लगानी गरेको कर्जा करिब शतप्रतिशत नै असुल भइरहेको बैंकर बताउँछन् । ‘असुल नभए ८ देखि १० लाखमात्र नहुने हो,’ एक बैंकरले भने, ‘सानो लगानी भएकाले पनि बैंक, वित्तीय संस्थाले सजिलै कर्जा उपलब्ध गराउने गरेका छन्।’

ऋणीको स्थिर आम्दानीका आधारमा सवारी साधन कर्जा प्रवाह गरिने भएकाले जोखिम कम हुने बैंकरको भनाइ छ । ‘गाडी चढ्ने सीमित ग्राहकलाई दिइएको ऋण मात्रै डिफल्ट देखिएको छ । कम आम्दानी भएका ग्राहकलाई हतपति बैंकले पनि ऋण दिँदैन,’ उनले भने, ‘त्यसैले फाट्टफुट्टबाहेक अटोलोन असुलीको अवस्था अत्यन्तै राम्रो छ।’

बैंक, वित्तीय संस्थाले सस्तो र सरल ब्याजमा सवारी साधन कर्जा प्रवाह गरेकै कारण सवारी साधन किनबेच फस्टाएको व्यवसायी बताउँछन् । सवारी र तिनको पार्टपुर्जा व्यवसायको वृद्धिदर उच्च हुनुमा बैंक, वित्तीय संस्थाको ठूलो योगदान रहेको उनीहरुको भनाइ छ।

सवारी साधन र तिनको पार्टपुर्जा खरिद गर्न बैंकले कर्जा व्यवस्था सहज बनाएकाले उपभोक्ताले सहज महसुस गरेका छन् । फाइनान्सिङमा सवारी साधन किन्दा एकैपटक ठूलो रकम तिर्नु नपर्ने, सवारी साधनको बिमा हुने, मासिक रूपमा रकम भुक्तानी गर्न सकिनेलगायत सुविधाले यसमा उपभोक्ताको आकर्षण बढेको हो।

केही समय पहिला धनी मानिसले मात्र गाडी चढ्थे तर, अहिले बैंक तथा वित्तीय संस्थाले गाडी खरिदका लागि सहज रुपमा कर्जा दिन थालेपछि सामान्य मानिस पनि चढ्न सक्ने हैसियतमा पुगेका छन्।

बैंक तथा वित्त कम्पनीले सवारी साधन खरिदका लागि सहज रुपमा ‘अटोलोन’ दिन थालेपछि सर्वसाधारण पनि गाडी खरिद गरेर आफैं गुडाउन सक्ने अवस्थामा पुगेका हुन् । साधारण मानिस पनि बैंकबाट कर्जा लिएर सहजै गाडी चढ्न पुगेका छन् । यसले गाडी खरिद गर्न सहज भएको छ।

केही समय पहिला बिलासी साधनको रुपमा लिइने निजी सवारी साधन अहिले आवश्यकता भएको छ । गोजीमा ६ लाख नगद भएको, साँवाब्याज बुझाउन सक्ने आँट भएको व्यक्तिका लागि गाडी चढ्नु सामान्य जस्तै भएको छ।

दसैं–तिहारमा बढी अटोलोन प्रवाह हुने व्यवसायीको भनाइ छ । ‘चाडपर्व आगमनसँगै अटोलोन लिन आउने ग्राहक पनि बढ्दै जान्छन्,’ एक बैंकर्सले भने, ‘दसैं–तिहारमा विशेष अफर ल्याइने भएकाले पनि ग्राहक कुरेरै बस्ने गर्छन् ।’ अफरमा गाडी खरिद गर्दा ४–५ लाख सस्तो पर्ने उनको अनुभव छ।

२० लाखसम्मको गाडी चढ्न ६ लाख नगद र ५० हजार मासिक आम्दानी भए पुग्ने बैंकर्स बताउँछन् । ६ लाख नगद रकम र मासिक ५० हजार आम्दानी हुने व्यक्तिलाई बैंकले प्रत्येक महिना साँवा र ब्याज बुझाउने सर्तमा २० लाखसम्मको गाडी किन्न ऋण उपलब्ध गराउन बैंक तयार देखिन्छन्।

६ लाख नगद र ५० हजार आम्दानी हुने व्यक्तिले २० लाखसम्मका गाडी सहजै खरिद गर्न सक्ने ढकालले बताए । ‘२० लाख पर्ने गाडी खरिदका लागि १४ लाखसम्म ऋण दिन सकिन्छ,’ एक बैंकर्सले भने, ‘ग्राहकले ६ लाख चाहिँ तुरुन्तै (डाउन पेमेन्ट) गर्नुपर्छ।’

गाडी खरिदका लागि ७० प्रतिशतसम्म बैंकले ऋण दिने र ३० प्रतिशतमात्र ग्राहकले नगद (डाउन पेमेन्ट) व्यवस्था गरे मात्र पुग्ने बैंकर्स बताउँछन् । ‘गाडी नै धितो राखेर नियमित साँवाब्याज बुझाउने ग्राहकलाई बैंकले सहजै कर्जा उपलब्ध गराउँदै आएका छन्,’ ती बैंकरले भने, ‘किस्ता र ब्याज तिर्ने आधार बैंकमा पेस गरेको दुई दिनभित्र ग्राहकले उक्त रकम बराबरको अटोलोन लिन सक्छन्।’

मासिक ५० हजार कमाउने व्यक्तिले सुजुकी कम्पनीको अल्टो गाडी सामान्यतया २० लाखसम्ममा खरिद गर्न सक्ने गरी मेगा बैंकले स्किम ल्याएको ढकालले बताए। ‘२० लाखसम्म पर्ने गाडी खरिदका लागि अटोलोन लिने व्यक्तिको मासिक आम्दानी ५० हजार भने हुनुपर्छ,’ ढकालले भने, ‘त्यसरी कर्जा लिने ग्राहकले मासिक रुपमा १५ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ।’

बैंकहरुले बेलाबेलामा अटोलोन दिनका लागि विभिन्न स्किम समेत ल्याउने गरेका छन् । मेगा बैंकले १३ प्रतिशत ब्याज दर र सेवा शुल्क नलिने सर्तमा त्यस्तो कर्जा प्रवाह गर्दै आएको जानकारी पनि ढकालले दिए।

सामान्यतया कर्जा कम्तीमा पाँच र बढीमा सात वर्षमा रकम भुक्तानी गर्नुपर्ने हुन्छ । तर, मेगा बैंकले १० वर्षसम्मका लागि अटोलोन दिने स्किम ल्याएको छ।

प्रकाशित: १२ भाद्र २०७५ ०६:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App