१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

गोसाइँकुण्डमा १० हजार तीर्थयात्रीले मेला भरे

रसुवा - जनैपूर्णिमा मेलाको अवसरमा गोसाइँकुण्डमा करिब १० हजार तीर्थयात्रीले मेला भरेका छन् । गत वर्षको तुलनामा यो वर्ष तीन हजार बढी हो।

गत वर्ष करिब सात हजार तीर्थयात्रीले मेला भरेका थिए । जनैपूर्णिमाको समयमा गोसाइँकुण्डमा १० दिनसम्म मेला लाग्छ । भूकम्पपछिको समयमा यो वर्ष सबैभन्दा बढी तीर्थयात्री आएका गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।

पछिल्लो समय मेलाबाहेकको समयमा समेत तीर्थयात्री आउने भएकाले मेलामा तीर्थयात्री केही कम हुने समितिका अध्यक्ष संजीव डिएमले बताए।

गोसाइँकुण्डमा तीर्थ भर्न, सूर्यकुण्ड भञ्ज्याङसहितको साहसिक पदयात्रा र पर्वतारोहण गर्ने उद्देश्यले स्वदेशी तथा विदेशी आउने गर्छन् । जैविक विविधताको अध्ययन र भूगर्भशास्त्रको अध्ययनका लागि समेत गोसाइँकुण्डमा पर्यटक आउने गरेका लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ।

धार्मिकस्थल गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन् । त्यहाँ पुग्नका लागि तीनवटा मुख्य बाटो छन्।

काठमाडौं–धुन्चे–गोसाइँकुण्ड बाटो यात्रुको सबैभन्दा बढी चल्ती हुने बाटो हो । काठमाडौंबाट धुन्चेसम्म सवारीमा यात्रा गर्न सकिन्छ । त्यसपछि धुन्चे–चन्दनबारी, चन्दनबारी–लौरीबिना र लौरीबिना हुँदै पैदलयात्रा गरेर गोसाइँकुण्ड पुगिन्छ।

त्यसपछि काठमाडौं–सुन्दरीजल/हेलम्बु–ठाडेपाटी बाटो आउँछ । धेरै कम यात्रुहरूले यार्सा गोसाइँकुण्डको बाटो प्रयोग गर्ने गरेका छन् । तर कुनैपनि पर्यटकले आफ्नो पदयात्राका लागि सागरकुण्ड–गोसाइँकुण्ड बाटो प्रयोग गरेको पाइँदैन।

कुण्डमा स्नान गरी गोसाइँबाबा भगवान शिवको दर्शन गर्दा जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चिताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौैं भक्तजन कुण्डमा स्नान गर्न आउने गर्छन्।

पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर गोसाइँबाबा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशुलधाराको उत्पत्ति भई त्रिशुलधाराको पानीबाट गोसाइँकुण्डको उत्पत्ति भएको भन्ने किंवदन्ती रहेको पाइन्छ।

जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरी वर्षको दुई पटक तीर्थयात्रीले मेला भर्ने गरेका छन्।

प्रकाशित: ११ भाद्र २०७५ ०६:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App