१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सडकमा घिरौंला फालेर किसानद्वारा प्रदर्शन

मूल्य नपाएपछि पूर्व–पश्चिम राजमार्गमै घिरौंला फालेर विरोध प्रदर्शनमा उत्रिएका किसान। तस्बिर : टंक/नागरिक

सर्लाही - उचित मूल्य नपाएपछि जिल्लास्थित लालबन्दी बजारमा बिक्रीका लागि ल्याएको तरकारी राजमार्गमा फालेर किसानले विरोध प्रदर्शन गरेका छन्।

बिक्रीका लागि खेतबाट टिपेर ल्याएको घिराैंलालाई व्यापारीले उचित मूल्य नदिएको विरोधमा किसानले शनिबार बिहान पूर्व–पश्चिम राजमार्गमै फालेर विरोध प्रदर्शन गरेका हुन् । दुई दिन अघिसम्म १० देखि १२ रुपैयाँ प्रतिकिलो बिक्री हुँदै आए पनि शनिबार बिहान २ रुपैयाँमा समेत बिक्री नभएपछि किसानले घिरौंला राजमार्गमै फालेका थिए।

दुई रुपैयाँ प्रतिकिलोमा बिक्री गर्न तयार हुँदा समेत घिरौंला बिक्री नभएको अत्रौलीका किसान पुनित रायले गुनासो गरे । ‘किलोको दुई रुपैयाँ दिनुस् भन्दा पनि किन्ने व्यापारी भएनन्,’ उनले भने, ‘उत्पादन लागत त परै जाओस् टिपेको ज्यालासमेत नउठ्ने अवस्था आएपछि राजमार्गमै फाल्नु उचित ठान्यौं।’ दुःख गरेर फलाएको तरकारी उचित मूल्यमा बिक्री नहुँदा आगामी दिनमा कसरी गुजारा टार्ने भन्ने चिन्तामा किसान परेका छन् ।’ व्यापारीको मिलेमतोले तरकारीले उचित मूल्य नपाएको किसानको आरोप छ । शनिबार बिहान किसानले झन्डै दुई क्विन्टल घिरौंला राजमार्गमा फालेका थिए।

यता लालबन्दीस्थित कृषिउपज बजार व्यवस्थापन समितिका व्यवस्थापक शम्भु घिमिरेले व्यापारी नआएका कारण घिरौंलाले उचित मूल्य नपाएको बताउँछन् । ‘मुस्लिमहरुको महत्वपूर्ण पर्व इदका कारण प्रायः मुस्लिम व्यापारी घरतिर गएका छन्,’ घिमिरेले भने, ‘त्यसमाथि किसानले छिपिएको घिरौंलासमेत ल्याउने गरेकाले उचित मूल्य पाउने गरेका छैनन्।’

तर व्यापारीले भने मागको तुलनामा उत्पादन बढेका कारण तरकारीको उचित मूल्य नमिलेको बताउने गरेका छन् । बजार व्यवस्थापक घिमिरेका अनुसार उत्पादन बढी भएकाले पछिल्ला केही दिनयता घिरौंलासहित झिंङ्नी, पर्वल, लौका, बोडी लगायत सबैखाले तरकारीको भाउ निकै सस्तिएको छ।

घिरौंला फालेर किसान विरोध प्रदर्शनमा उत्रिएका कारण बिहान पौने घन्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको थियो । प्रहरीले बल प्रयोग गरेर राजमार्ग खुलाएको हो । किसानलाई सडकबाट हटाउन प्रहरीले लाठी चार्जसमेत गरेको थियो । तरकारीले मूल्य नपाएको भन्दै लालबन्दी बजारमा तरकारी लिएर आएका विभिन्न ठाउँका किसानले गत बिहीबार पनि केहीबेर राजमार्ग बन्द गराएका थिए।

प्रकाशित: १० भाद्र २०७५ ०५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App