१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भिएआरको निर्णयमा असन्तुष्टि

जर्मन बुन्डेसलिगाअन्तर्गत होफेनहेइमविरुद्ध गोल गरेपछि बार्यन म्युनिखका रोबर्ट लेवान्डोवस्की (बीच) ।    तस्बिरः एएफपी

बर्लिन – जर्मन बुन्डेसलिगामा पहिलो पटक प्रयोगमा ल्याइएको भिडियो सहायक रेफ्री (भिएआर) बाट लिइएको निर्णय विवादास्पद हुँदा होफेनहेइमका प्रशिक्षक जुलियन नागेल्सम्यानले असन्तुष्टि जनाएका छन्। 

रूस विश्वकपमा सही ढंगले प्रयोग भएको भनिएको भिएआर प्रविधि प्रयोग गरिएको खेलमा शुक्रबार साबिक विजेता बायर्न म्युनिखले होफेनहेइमलाई ३–१ ले पराजित गर्दै सिजनको सुखद सुरुआत गरेको छ।

२३औं मिनेटमा जोस्वा किमिचको पासमा थोमस मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । ५७औं मिनेटमा आडम सजालाईले गोल गर्दैै होफेनहेइमलाई खेलमा फर्काएका थिए।

खेल १–१ को स्थितिमा अघि बढिरहँदा ८२औं मिनेटमा बायर्नले भिएआरमा पेनाल्टीको अवसर पाएको थियो । उक्त पेनाल्टीको सदुपयोग गर्दै स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले बायर्नलाई अग्रता दिलाएका थिए।

‘भिडियो हेर्नु व्यर्थ भयो, किनभने भिडियोमा देखाएअनुसार निर्णय भएको छैन।’

होफेनहेइमका हाभार्ड नोर्डभेइटले बायर्नका फ्रान्क रिबेरीलाई खराब ट्याकल गरेपछि रेफ्री बास्टिन डाकर्टले भिएआरको सहयोगमा बायर्नलाई पेनाल्टी दिएका थिए । तर भिएआरको रिप्लेमा भने नोर्डभेइटले ट्याकल गर्दा फ्रेन्च विंगर रिबेरीलाई छोएको देखिँदैन। 

‘त्यो पेनाल्टी दिनु रहस्यमय छ,’ आक्रोशित देखिएका होफेनहेइमका प्रशिक्षक नागेल्सम्यान भने, ‘फुटबल खेलमा एक खेलाडीले अर्को खेलाडीलाई छुन्छ । रिबेरीलाई पेनाल्टी बक्समा रोक्ने क्रममा नोर्डभेइटले ट्याकल गरेका थिए । ट्याकलका क्रममा उनले रिबेरीलाई नभई बल छोएका थिए । भिएआरमा पनि त्यही देखिन्छ । तर रेफ्रीले पक्षपाती निर्णय गरे । जसले खेलको नतिजा नै परिवर्तन गरायो।’

‘भिएआर निर्णय सच्याउनका लागि ल्याइएको प्रविधि हो तर आजको खेलमा त्यसको गलत प्रयोग भयो,’ नागेल्सम्यानले थपे । आर्येन रोबेनले अन्तिम मिनेटमा गरेको गोलमा बायर्नले सहज जित पक्का गरेको थियो।

‘भिडियो हेर्नु व्यर्थ भयो, किनभने भिडियोमा देखाएअनुसार निर्णय भएको छैन,’ नागेल्समनले भने, ‘अतिरिक्त भिडियोको व्यवस्था रंगशालामा पनि गर्नुपर्छ । यस्तो व्यवस्था भए हामी र रंगशालामा उपस्थित दर्शकले पनि देख्ने मौका पाउँथ्यौं र कमजोरी हामीले पनि थाहा पाउने थियौं।’

बायर्नका प्रशिक्षक निको कोभाक र निर्देशक हसन सालिहामिदजिकले होफेनहेइमका प्रशिक्षक नागेल्समनको पेनाल्टी असन्तुष्टिमा सहमति जनाएका छन् । ‘मेरो विचारमा पेनाल्टी निर्णय उपयुक्त थिएन । म भइदिएको भए त्यस्तै निर्णय दिने थिइनँ,’ प्रशिक्षक कोभाकले भने। 

नयाँ सिजनको सुरुआतबाट भिएआर प्रविधिको प्रयोगमा ल्याइए पनि यो प्रविधिले गति लिन अझै समय लाग्ने फुटबल खेलाडी, समर्थक र फुटबल विश्लेषकहरूले बताउँदै आएका छन्।

प्रकाशित: १० भाद्र २०७५ ०४:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App