१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बेपत्ता व्यक्तिका आफन्तसँग बयान, भक्कानिए पीडित

सिन्धुपाल्चोक- वेपत्ता व्यक्तिको छानविन आयोगसँग बयान दिने क्रममा द्वन्द्वको घाउ कोट्याउँदा पीडित परिवार तथा आफन्तजन भक्कानिएका छन्। आयोगले दुई दिनदेखि सदरमुकाम चौतारामा उजुरीकर्ता बेपत्ता व्यक्तिका परिवारका सदस्य तथा आफन्तसँग बयान लिइरहेको छ।

पीडितले आफन्त बेपत्ता हनुको पीडा शब्दमा उतार्ने क्रममा थकित र चिन्तित मुद्रामा मन कुँडाउँदै, आशुधारासहित भक्कानिएर भावह्विल हुँदै बयान दिइरहेका छन्। उनीहरुले आफन्त बेपत्ता हुनुको कारण, बेपत्ता पार्ने पक्ष तथा व्यक्तिबारे भेद खोलिरहेका छन्। उजुरीकर्ता (पीडितका आफन्त) सहित आयोगले उनीहरुका साँक्षीसँग पनि बयान लिइरहेको छ।

महिला तथा बालबालिका कार्यालयमा उपस्थित भएर बुधबार साँझसम्म ४० बेपत्ताका आफन्त र साँक्षीले आयोग समक्ष बयान दिएका छन्। आयोगका आयूक्त बिजुल बिक दुलालसहितको टोलीले बयान लिइरहेको छ । बाँकी उजुरीकर्तासँग बिहीबार पनि बयान लिइने आयूक्त दुलालले बताए। बेपत्ताका आफन्त र साझीसँग छुट्टाछुट्टै बन्द कक्षमा बयान भइरहेको छ ।

शान्ति प्रक्रियाको १२ वर्षसम्म न्यायको अनुभूति नपाएको महसुस गरिरहेका पीडित बयानमा थकित, चिन्तित र भावशून्य अवस्थामा देखिएको उनले बताए। उनका अनुसार पीडितले अहिलेसम्म न्याय नपाएको, न्याय पाउने आश मरेको, द्वन्द्व पीडित भएबापत राज्यले दिने सेवा सुविधामा विभेद गरेको, त्यस्तो सुविधा अझै पाउन नसकेको, आफन्त बेपत्ता पार्नेलाई कारबाही हुन नसकेको जस्ता आक्रोशमिश्रित गुनासा गरेका छन्।

आयोग स्रोतका अनुसार कतिपय पीडितका पीडा सुनेर बयान टोली सदस्य नै भावह्विल हुन्छन्। त्यतिबेला बयान कक्षमै सन्नाटा छाउँछ। आफन्त बेपत्ता भएको विषयलाई लिएर पीडितको बयान भने एकै किसिमको पाइँदैन। तर उनीहरुको थकान, चिन्ता र अन्याय महसुसमा भने समानता पाइएको छ। ‘द्वन्द्वको घाउ अझै ताजै र आलै देखियो। पीडितले पूराना घाउ बिर्सन सकेका रहेनछन्,’ आयूक्त दुलालले नागरिकसँग भने।

आयोग समक्ष बयान दिएका अधिकांश पीडितले आफन्त बेपत्ता पार्नेलाई कानुनी कारबाहीको माग गरेका छन्। ‘आफन्त बेपत्ता भएको पीडा पैसामा किन्न पाईँदैन । अन्यायको विरुद्ध न्याय नै चाहियो,’ पीडितको बयान उद्धृत गर्दै दुलालले भने । कतिपय पीडित भने लामो समयसम्म न्याय नपाउँदा हारेको र थाकेको मनिस्थितिमा देखिए । केही पीडितले भने मन सम्हालेको शैलीमा प्रस्तुत भए । ‘यत्रो बर्ष बेपत्ता भएको मान्छे अब फर्केर आउने होइन,’ उनीहरुको भनाइ थियो, ‘राज्यले पीडितलाई दिने सुविधा दिए हुन्थ्यो। किन झुलाई राख्नु पर्‍यो?’

धेरै पीडितले उजुरीमा झैँ आफन्त बेपत्ता पार्ने पक्ष र उक्त कार्यमा सम्वन्धित व्यक्तिको नामै बयानका क्रममा पनि किटेको बयान टोलीले जनाएको छ । उसका अनुसार  त्यस्ता व्यक्ति (आरोपी) विभिन्न राजनीतिक हैसियत हैसियतमा छन् । केही पीडितले भने आफन्त बेपत्ता पार्ने पक्ष बताउन सके पनि उक्त कार्यमा संलग्न व्यक्ति को हो बताउन सकेका छैनन्।

 द्वन्द्वको घाउ भूल्दै गरेका, बेपत्ताकर्तालाई कारबाही नहुँदा न्याय महसुस नगरी थाकेका पीडितले वर्षौं पूरानो घटनाबारे बयान दिनु पर्दा आयोग सदस्य र कर्मचारीलाई ‘सेलाउँदै गरेको घाउ फेरि किन कोट्एको’ भनेर प्रश्न गर्दै बयानको औचित्य खोजेका थिए।

स्थानीय शान्ति समितिकी सदस्य दुर्गा आचार्यले तत्कालीन बिद्रोही र राज्य पक्षबाट आफन्त बेपत्ता पारेको भन्दै ५६ उजुरी परेका थिए । उनका अनुसार बेपत्ता सम्वन्धि सात उजुरी द्वन्द्वसँग सम्वन्धित नरहेपछि ती उजुरी तामेलिमा राखिएको छ । बाँकी ४९ उजुरीका उजुरीकर्तासँग आयोगले उजुरी लिइरहेको हो।

द्वन्द्वको समयमा सिन्धुपाल्चोकबाट राज्य र बिद्रोही पक्षबाट कति बेपत्ता बनाइए भन्ने एकीन तथ्यांक छैन। सरकारको सूचीमा जिल्लामा बेपत्ता बनाइएका व्यक्तिको संख्या २८ छ । आइसीआरसी र अनौपचारिक क्षेत्र सेवा केन्द्रको प्रतिवेदनमा क्रमशः २१ र २३ व्यक्ति बेपत्ता रहेको उल्लेख छ । सरकारले मान्यता दिएका २८ बेपत्ताका परिवारले राज्यले दिएको प्रतिपरिवार १० लाख रुपैयाँ सुविधा पाए पनि अरु पीडितले पाउन सकेका छैनन्।

आयूक्त दुलालले व्यक्ति बेपत्ता सम्वन्धि आयोगमा परेका २३ हजार ६३ उजुरीउपर छानविन गर्न पहिलो चरणमा उजुरीकर्ता (पीडित) र उनीहरुका साक्षीसँग बयान लिने काम भइरहेको छ । ३९ जिल्लामा पुगेर आयोग टोलीले उजुरीकर्ता र साक्षीसँग बयान लिइसकेको छ । पछिल्लो दुई दिनदेखि सिन्धुपाल्चोक, रामेछाप, पर्वत र गोरखामा आयोगले पीडित परिवार तथा आफन्तसँग बयान लिइरहेको छ।

उजुरीकर्ता र साक्षीको बयान सकेपछि दोस्रो चरणमा आरोपीसँग बयान लिइने आयूक्त दुलाल बताउँछन् । ‘उजुरीकर्ताले शंका गरेका तथा आरोपी व्यक्तिलाई आवश्यकता अनुसार जिल्लामै पुगेर वा केन्द्रमा बोलाएर बयान लिन्छौँ,’ आयोगले बेपत्ता व्यक्ति छानविन तीव्र बनाएको उनले बताए।

प्रकाशित: ६ भाद्र २०७५ १३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App