१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

मूर्ति कुँदेरै मालामाल

प्रकाश नेपालीको कला श्रृजना। तस्बिर:छविलाल

युवालाई विभिन्न सीपमूलक तालिम तथा प्रशिक्षणको नाममा विभिन्न सरकारी तथा गैरसरकारी निकायमार्फत सरकार वर्षेनी करोडौं रुपैयाँ खर्चिरहेको छ। तर, सरकारको उद्देश्यअनुसार तालिम लिएका अधिकांश अहिले पनि रोजगारविहीन छन्। स्वरोजगार सिर्जना गर्न आत्मनिर्भरको नाममा सीप दिँदा करोडौं रूपैयाँ बालुवामा पानीजस्तै गरी खर्च भइरहँदा निकै कम मात्र स्वरोजगार र आत्मनिर्भर भएका छन्।

तर, व्यक्तिमा आत्मबोध, लगनशीलता, जाँगर र मेहनत भयो भने सरकारी तथा गैरसरकारी सीप नलिएरै पनि मासिक लाखभन्दा बढी कमाइ गर्न सकिन्छ भन्ने उदाहरण पर्वतका एक युवाले देखाएका छन् । कुश्मा नगरपालिका–७ गोदामका प्रकाश नेपालीलाई न सरकारले सीप दियो, न त कुनै गैरसरकारी निकायले नै । उनको जाँगर, मेहनत र इमानदारीले अहिले उनलाई मूर्ति कुँद्न, चित्र कोर्न भ्याइनभ्याइ त छ नै, उनी मासिक लाखभन्दा बढी कमाइ गर्न सफल भएका छन्।

सानैदेखि चित्र कोर्नमा सौखिन प्रकाश विगत आठ वर्षदेखि व्यावसायिक रूपमा चित्र कोर्न र मूर्ति कुद्नमा व्यस्त छन् । मूर्ति र चित्रमा कोरेको कलाबाटै उनी र उनको परिवार धानिएको छ ।

सानैदेखि चित्र कोर्नमा सौखिन उनी आठ वर्षदेखि व्यावसायिक रूपमा चित्र कोर्न र मूर्ति कुद्नमा व्यस्त छन्। मूर्ति र चित्रमा कोरेको कलाबाटै उनी र उनको परिवार धानिएको छ। ‘म व्यावसायिक रूपमा चित्र कोर्न र मूर्ति कुँद्न थालेको आठ वर्ष भयो, जति पछि भयो त्यति व्यस्तता बढ्दै गएको छ,’ प्रकाशले भने । सानो छँदा सोखका लागि चित्र कोर्ने र ढुंगा ल्याएर मूर्ति कुँदे पनि सानोमा थालेको रहर अहिले पेसा बनेको उनले बताए।

‘मैले कहिल्यै पनि मेरो पेसा मूर्ति कुँद्ने र चित्र कोर्ने होला भनेर सोचेकै थिइनँ, तर आज यही पेसाले नै आफ्नो र परिवारको जीवन धानिरहेको छु,’ उनले भने । प्रकाशले अहिले पर्वत, म्याग्दी, बागलुङका अधिकांश मूर्ति कुँद्ने र चित्र कोर्ने काम गर्दै आएका छन् ।

प्रकाश पोखराका विभिन्न ठाउँदेखि तनहुँको दुलेगौंडासम्म पनि मूर्ति  कुँद्न गएका छन्। उनको कला अहिले विभिन्न रिसोर्ट, होटल तथा रेस्टुरेन्ट, विभिन्न विद्यालयमा देख्न सकिन्छ। ती ठाउँमा भएका कलाले त्यहाँ आउने ग्राहक तथा आमनागरिकको ध्यान तान्ने काम गरेको हुन्छ।

कसरी बने व्यावसायिक मूर्तिकार
प्रकाश सानैदेखि चित्र बनाउनमा अब्बल थिए। उनले कसैबाट सीप लिएका होइनन्। २०४५ सालमा उनी अध्ययन गर्ने विद्यालयमा चित्रकला प्रतियोगिता चल्दै थियो। प्रकाश मात्र ६ वर्षका थिए। राजा महेन्द्रको चित्र बनाउन भनिएको थियो। प्रकाशले फोटो खिचेजस्तै गरी राजा महेन्द्रको चित्र कोरे। सबै दंग परे। त्यही तस्बिरले उनलाई त्यो प्रतियोगितामा प्रथम स्थान दिलायो।

६ वर्षकै उमेरमा चित्र कोरेरै सबैलाई दंग पार्ने उनै प्रकाशले आर्थिक अभावले पठनपाठनमा निरन्तरता दिन सकेनन्। आर्थिक अभावका कारण पाँच कक्षासम्म पढेर विद्यालय छाडे। विद्यालय छाडे पनि उनी ढुंगा बटुलेर ढुंगामा मूर्ति कँुद्ने काममा तल्लीन रहन्थे । तत्कालीन समयमा दलित समाजमा मन्दिर भन्ने कुरा निकै पछाडिको कुरा थियो । टोलमा दलित समुदायको आफ्नै मन्दिर निर्माण गर्ने कुरा चल्यो । सबै मन्दिर निर्माणमा जुटे, तर प्रकाश भने त्यही मन्दिरभित्र राख्ने मूर्ति कुँद्न ।

एक महिनाभित्र गाउँलेले मन्दिर निर्माण गर्दा उनले ढुंगा कुँदेर देवीको आकार दिए । गाउँले नै दंग परे । उनले स्याबासी पाए । अबिर र माला लगाएर गाउँलेले सम्मान गरे । प्रकाशको मन चंगा झै फुर्यो। उनी निकै खुसी भए। सम्मानले प्रकाशलाई थप हौसला त दियो नै उनको प्रतिभासमेत तिखारिँदै गयो। सीप त फुक्दै गयो तर उनको विपन्नताले चरम आर्थिक अभावमा रहे। सँगै रहेकी आमा र आफ्नो पेट पाल्नै उनलाई चुनौती थियो। जग्गाजमिन र आर्थिक अभावले गाज्दै गर्दा उनको कला विस्तार हुन पाएन।

रोजगारीका लागि विदेश जान ऋणसमेत नपत्याइएका प्रकाश यतिबेला सबैका सम्मानित व्यक्तिका रूपमा कहलिएका छन्। उनलाई बागलुङ उद्योग वाणिज्य संघ, रोट्याक्ट क्लब अफ पर्वतसहित आधा दर्जनभन्दा बढी संघसंस्थाले अभिनन्दन गरिसकेका छन्।

१८ वर्ष पुगेपछि नागरिकता निकाले। ऋण खोजेरै राहदानी बनाए। विदेश गएर पैसा कमाएर फर्कने भन्दै उनी रोजगारीका लागि साउदी अरब हान्निए। त्यो बेलासम्म आफ्नो कलाले यति धेरै महत्व पाउला, आममानिसमा लोकप्रिय होला भन्ने उनमा उत्साह नै थिएन। साउदीमा उनले आफ्नो सीप देखाए। सीप नहँुदा धेरै नेपालीले कष्ट भोगेको देखेका उनले त्यहाँ पनि घरमा बुट्टा र नक्सा कोर्ने काम पाए । तर जति काम गर्दा पनि उनी सन्तुष्ट भएनन्।

साउदीमा गर्ने कामले नेपालमा बढी कमाइ हुने उनको मन पलाउन थाल्यो । ६ वर्ष जेनतेन बिताएका उनी त्यसपछि कहिल्यै पनि विदेश नजाने अठोट लिएर नेपाल फर्किए । नेपाल फर्किएको पनि अहिले साढे आठ वर्ष भइसकेको छ । तर, उनी अहिले रोजगारीका लागि विदेशको नाम लिने कुरा सुन्न पनि चाहँदैनन् । अहिले चित्र कोर्ने र मूर्ति कुँद्नमा व्यस्त रहेका नेपाली भन्छन्, ‘काम मात्र होइन, राम्रो कमाइ पनि भएको छ।’

पहिले होटल तथा रेस्टुरेन्टमा आकर्षित मूर्ति नदेखिने गरे पनि पछिल्लो समय राम्रो लगानी गरेका ठूला होटल तथा रेस्टुरेन्टले ग्राहक आकर्षित गर्न र होटल तथा रेस्टुरेन्टलाई आकर्षक बनाउन विभिन्न मूर्ति अनिवार्यजस्तै गराएका छन् । उनले दैनिक दुई हजारदेखि चार हजारसम्म कमाइ गर्ने गरेका छन् । ‘घरमा बुट्टा भर्ने, चित्र बनाउने, मूर्ति कुँद्ने सबै कामको ठेक्का लिन्छु, त्यसरी नै काम गर्दै आएको छु,’ प्रकाश भन्छन्, ‘दैनिक दुई हजारदेखि चार हजार रुपैयाँ कमाउँछु।’

धौलागिरीभित्र माग हुने अधिकांश मूर्ति उनै प्रकाशले कुँद्ने गरेका छन् । ‘कुनै पनि दिन आज फुर्सद पाएँ भन्ने नै छैन,’ उनले भने, ‘आएको काम पूरा गर्न भ्याइनभ्याइ छ ।’ विशेषगरी उनी नयाँ खुल्न लागेका होटल, रिसोर्टमा बढी व्यस्त छन् । ‘पर्यटकलाई आकर्षित गर्न पनि नयाँ–नयाँ बुट्टा भर्ने र मूर्ति बनाउने माग बढेको छ,’ उनले भने।

रोजगारीका लागि विदेश जान ऋणसमेत नपत्याइएका प्रकाश यतिबेला सबैका सम्मानित व्यक्तिका रूपमा कहलिएका छन्। उनलाई बागलुङ उद्योग वाणिज्य संघ, रोट्याक्ट क्लब अफ पर्वतसहित आधा दर्जनभन्दा बढी संघसंस्थाले अभिनन्दन गरिसकेका छन्। ‘सबैभन्दा ठूलो सम्मान बागलुङ उद्योग वाणिज्य संघले ग¥यो,’ उनले भने, ‘आधा दर्जनभन्दा बढी संस्था प्रभावित भएर सम्मान गरेका छन्।’

बागलुङ बजारमा रहेको बाघको सालिक प्रकाशले नै बनाएका हुन्। ‘बागलुङ बजारमा मैले नै बनाएको बाघको सालिकको नाममा बनेको गीत अहिले देशविदेशमा चर्चित भएको छ,’ उनले भने। विगतमा ढुंगा खोपेर मूर्ति बनाउँदै आए पनि अहिले भने उनी बालुवा र सिमेन्ट प्रयोग गरेर मूर्ति बनाउने गर्छन् । ‘के निर्माण गर्ने हो त्यसको आकारमा फलाम, बालुवा र सिमेन्टको प्रयोग गरेर बनाउने र अन्तिममा रङरोगन गर्ने गरेको छु,’ उनले भने।

प्रकाशित: ५ भाद्र २०७५ ११:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App