१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

नारी गजललाई ‘वान्स मोर’

चितवन - केही गुमाउनु छैन मात्र पाउनु छ
यो मन फेरि बच्चा जस्तै बनाउनु छ
आफू जलेर अरुलाई खुशी दिनुपर्छ
टुकि बालेर छोरीलाई सम्झाउनु छ ..।

गजलकार इन्दिरा अधिकारीलाई आफूले लेखेका रचनाहरूमध्ये यो गजलको शेर प्रिय लाग्छ । आमाले देखाएको बाटोमा आफू हिँड्दै गर्दा छोरीप्रतिको दायित्वलाई पूरा गर्न उनले छोरी सम्झेर यो गजल कोरेकी हुन् । गजल मञ्च चितवनले शनिबार आयोजना गरेको ‘गजलसँग’को चौथो शृंखलामा इन्दिराले यो गजल वाचन गर्दा दर्शक र श्रोताको मन जितिन्।

आमा बनेपछिको अनुभूतिलाई शब्दमा उतारेकी उनले ‘मेरो छोरी पनि मसँगै छ’ भन्दै गजल सुनाएकी थिइन् । एक दशकदेखि गजल विधामा कलम चलाइरहेकी उनी गजल वाचनको पहिलो अनुभव लिँदैथिइन् । जहाँ उनले एक साथ सात रचना सुनाइन्।

इन्दिराले रेडियोमा गजल सुन्दा रचनाको सीमा, परिधि, नियम नबुझ्दै गजल यात्रा थालेकी थिइन् । उनीसँगै केही प्रतियोगिता तथा वाचन कार्यक्रममा मात्र गजल सुनाएको अनुभव थियो । त्यही अनुभवले उनलाई ‘गजलसँग’ को स्टेजसम्म पु¥यायो । ‘हामीलाई सुन्न आएका स्रोताहरू हाम्रो गजल सुनेर निराश पो हुन्छन् भन्ने पीर थियो । तर श्रोताको ध्यान तान्न सकेकाले त्यस्तो अनुभव भएन ’ उनले भनिन्।

भरतपुर महानगरपालिका वडा नम्बर ५ प्रेमबस्तीकी २७ वर्षिय इन्दिरा पेशाले नर्स हुन् । पेशाभन्दा बाहिरको उनको कलाको बारेमा उनको कार्यालयमा पनि जानकारी थिएन । कार्यक्रमपछि आफ्नो परिचय फेरिएको उनले बताइन् । ‘गजलकार रहिछन् भनेर प्रंशसा पाइयो,’ उनले भनिन्  ‘यसले लेखनयात्रा अगाडि बढाउन हौसला मिलेको छ ।’ शृंखलामा इन्दिरासँगै चार  नारी स्टेजमा उत्रिएका थिए । युवा गजलकारहरूलाई अगाडि सार्दै आएको गजल मञ्चले मिथिला प्याकुरेल, ऋतु सुवेदी र सिरु सिलवाललाई पनि इन्दिरासँग स्टेजमा प्रस्तुत गरेको थियो । उनीहरूले पालैपालो तीन चरणमा गजल सुनाएर श्रोताहरूलाई मन्त्रमुग्ध पारे।

स्कुले जीवनमा कविता लेख्ने २५ वर्षीया सिरु पाँच वर्षदेखि गजलमा रमाइरहेकी छन् । साहित्यिक संस्थामा आबद्ध भएपछि लेख्नेकै संगतले गजल लेखनमा आएको उनी बताउँछिन् । ‘यो शृंखला मेरा लागि पहिलो अनुभव भयो । परिवारको अगाडि स्टेजमा बसेर रचना सुनाउँदा खुशी छु,’उनले भनिन्।

सिरुलाई यसअघिका श्रृंखलाले पाएको सफलता अनुसार आफू प्रस्तुत भइन्छ या भइन्न भन्ने डर पनि थियो । ‘कार्यक्रम जुन उचाइमा थियो । त्यो अनुसार दिन सक्छौं कि सक्दैंनौ भन्ने थियो’ उनले भनिन्, ‘कार्यक्रमको माहौल र पछिको प्रतिक्रियाले गुणस्तरीय कार्यक्रम गरियो भन्ने लाग्यो।’

चितवनमा गजलको माहौल साठीको दशकदेखि बढेको पाइन्छ । त्यसैले चितवनलाई ‘गजलको राजधानी’ भनेर उपमा पनि दिइएको छ । टिकट बेचेरै यहाँ गजल कार्यक्रम आयोजना भएका थिए । पछिल्लो समयमा केही सुस्ताएको गजलको माहौललाई ताजा बनाउने काम गजल मञ्च चितवनले निरन्तर गरिरहेको छ।

मञ्चका सचिव विनोद अनुज मञ्चमा नयाँ कार्यसमिति आएपछि गजलको माहौल बढाउन शृंखलाबद्ध कार्यक्रम ‘गजलसँग’ सुरु भएको बताउँछन् । ‘कार्यक्रममा आतिथ्यता कसैलाई गराइँदैन । मन्तव्य पनि राखिएको छैन’ उनले भने, ‘गजलकै मेहफिल बनोस् भनेर कार्यक्रममा सिधै गजल वाचन गरिन्छ।’

मञ्चले देवघाट विशेष भनेर २०७३ को पुसमा पहिलो कार्यक्रम गरेको थियो । देवघाटको विद्यापिठमा अध्ययन गर्ने चार सजर्कलाई सहभागी गराएर कार्यक्रम गरिएको थियो । त्यो बेला अहम स्रष्टा, कृष्णप्रसाद अर्याल, मनोज भण्डारी र लक्ष्मण संगमले गजल सुनाएका थिए।

पहिलो कार्यक्रमपछि दोस्रो कार्यक्रम गर्न स्रोताले नै हौस्याएको अनुज बताउँछन् । २०७४ साउनमा गरिएको दोस्रो संस्करणमा कृष्णप्रसाद सिंखडा, दिग्गज द्योराली, मुक्त उदास र विमर्श कँडेल सुनिएका थिए । २०७५ को जेठमा गरिएको ‘तरुन्नम विशेष’ तेस्रो शृंखलामा शितल कादम्बिनी, अनन्त अनुसाग, देवकी निरौला र प्रदिप रोदनले गजलको माहौल जमाएका थिए।

अग्रज गजलकारहरू स्थापित भइसकेकाले युवा गजलकारलाई प्राथमिकता दिएर कार्यक्रम गरिएको अनुज बताउँछन् । पछिल्लो पटक संस्थाको कार्यसमितिमा नै आबद्ध चार नारी स्रष्टालाई स्टेज दिएर कार्यक्रम गरिँदा स्रोताबाट सकारात्मक प्रतिक्रिया पाएको उनी बताउँछन्।

गजल मञ्चको कार्यक्रममा गजल वाचन सुन्न कै लागि बाहिरी जिल्लाबाट पनि गजल अनुरागी आउने गरेको अनुजले बताए।

प्रकाशित: ४ भाद्र २०७५ ०७:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App