१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भरतपुरमा ६ लेनको सडक बन्ने

छ लेनको बनाउन लागिएको पुल्चोक–गोन्द्राङ सडकको चौबिसकोठी क्षेत। तस्बिरः सविता/नागरिक

चितवन - नारायणगढ बजारको पुल्चोकबाट गोन्द्राङसम्मको सडकलाई छ लेनको बनाउन लागिएको छ। हाल दुई लेन रहेको ६ किलोमिटर सडक खण्डलाई ६ लेनको बनाउन लागिएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख धर्मेन्द्रकुमार झाले भरतपुर महानगरको सहकार्यमा सडक विस्तार गर्न लागिएको बताए। ‘सर्भेको काम सकिएको छ,’ उनले भने, ‘सडक सीमा ५० मिटरको चौडाइलाई प्रयोग गरेर सडक बनाउन लागिएको छ। सडकको दायाँबायाँ सडक सीमाभित्र पर्ने ५० मिटर चौडाइको सडक क्षेत्रका धेरै जसो ठाउँ खाली नै रहेको छ।’

भरतपुर विमानस्थल अगाडीका केही घर सडकको ५० मिटर सीमा परिधिभित्र परेका छन्। सर्भेका क्रममा चार घर सडकको सीमाभित्र परेको पाइएको छ। सडक सीमा अतिक्रमण गरेर बनाएका ती घर सडक विस्तारका लागि भत्काउनुपर्नेछ । सडक विस्तारका लागि डिभिजन सडकसँग सहजीकरण गरिएको भरतपुर महानगरपालिका शहरी विकास महाशाखाका इन्जिनियर सहदेव भण्डारी बताउँछन्। ‘बुटवल भैरहवा सडकखण्ड जस्तै बनाउने तयारी थालेर प्रस्ताव पेश गरेका छौं,’ उनले बताए । सडकखण्डको बीच भागमा चार लेनको बाटो र दुई छेउमा सर्भिस लेन बनाइने उनले बताए । सडक बीचको भागको चार लेनको स्पिड वे दुई तर्फ सात÷सात मिटर चौडाइको हुनेछ।

सर्भिस लेनसँगै दुईतर्फ सडक पेटीसहित साइकल लेन र ओभरहेड फुटब्रिज पनि राख्ने गरी प्रस्ताव गरिएको इन्जिनियर भण्डारीले जानकारी दिए। सर्भेको काम सकिएपछिको डिजाइन सडक विभागमा पेश गरेर स्वीकृत भएपछि सडक विस्तारको काम थप प्रक्रियामा अघि बढ्ने उनले बताए। ‘हामीले प्रस्ताव गरेका छौं। अन्तिम निर्णय हुन बाँकी छ,’ उनले भने, ‘डिजाइन स्वीकृत भएपछिको फाइनल डिजाइनले नै सडक कस्तो बन्छ भन्ने देखाउँछ।’

टिपिकल क्रस सेक्सनमा पर्ने सडक विस्तारपछि नारायणगढ र भरतपुर बजार क्षेत्रलाई व्यवस्थित बनाउनेछ। सडक विस्तार गरेर छ लेनको बनाएपछि पुल्चोकबाट पथलैयासम्म नै पुग्ने गरी विस्तार हुने सडक कार्यालय भरतपुरका प्रमुख झा बताउँछन्। ‘हाइवे भाग भएकाले भविष्यमा नै प्रयोग गर्ने गरी बनाइन लागिएको हो।’ दशैं अगाडी डिजाइन स्वीकृत लगायतका प्रक्रिया पूरा गरेर दशैंपछि काम सुरु गर्ने योजनाअनुसार कार्यालय अघि बढेको उनले बताए।

महानगरपालिकाले हाल आँपटारीदेखी केन्द्रीय बस टर्मिलन चोकसम्मको बाइपास रोड विस्तारको काम गरिहेको छ। दुई लेनको सर्भिस लेन र चार लेनको स्पिड वेसहितको चार किलोमिटर सडक विस्तारको काम भइरहेको छ। एक वर्षअघि विस्तार सुरु गरिएको सडकमा अहिले ढल निकास बनाउने काम चलिरहेको छ । आउने एक वर्षभित्र काम सकिने महानगरपालिकाका इन्जिनियर भण्डारीले बताए।

महानगरपालिका क्षेत्रमा हाल १ हजार ४ सय २५ किलोमिटर सडक रहेको छ। जसमा ५ सय ३३ किलोमिटर कालोपत्रे, ७ सय ८८ किलोमिटर ग्राभेल, एक सय किलोमिटर माटे र तीन किलोमिटर ढलान सडक छन्। गएको वर्ष झन्डै ५० किलोमिटर सडक कालोपत्रे गरिएको तथा ३२ किलोमिटर सडक ग्राभेल र तीन किलोमिटर सडक मर्मत भएको भण्डारीले बताए। चालू आर्थिक वर्षमा महानगर क्षेत्रका ६० किलोमिटर सडक कालेपत्रे गर्ने योजना रहेको उनले बताए।

प्रकाशित: ४ भाद्र २०७५ ०२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App