२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

एउटा धराप जिन्दगी

भत्किएको झुपडीमा दोलखाको वैत्येश्वर गाउँपालिका–६ नाम्दुकी पार्वती घिमिरे । तस्बिर : रमेश/नागरिक

(नाम्दु) दोलखा - खरले छाएको सानो एकतले झुपडी। घरभित्र एउटा कोठा छ। कोठाभित्र भिजेका पुराना सिरक डस्ना र केही सामान असरल्ल छन्। झुपडीको दायाँतिर धुरीतर्फको गारोे लडेको छ । घरको सबै भाग चर्किएको छ, कुनै पाटो सग्लो छैन। पार्वतीले छोराछोरीसहित यही धराप घरमा तीन वर्ष गुजारिन्।

...
पतिको अंशमा आएको यही एउटा झुपडी र केही पाखो बारी छ। पति काठमाडौंमा भारी बोक्थे। आफूले सामान्य खेतीकिसानी र ज्यालामजदुरी गरेर चाजना सन्तान हुर्काउँदै थिइन् उनी। जेनतेन गुजारा चलिरहेको थियो। यत्तिकैमा २०७२ वैशाखको भुइँचालोले उनीहरुको सानो संसार नराम्ररी हल्लाइलियो। केही समय पाखोमा त्रिपालमुनि बसे उनीहरू। छिमेकी सबैले अस्थायी कटेरो बनाए तर उनले त्यो पनि बनाउन सकिनन्। भरथेग केही थिएन्। पार्वतीको यो परिवार २०७२ भदौतिर फेरि त्यही धराप घरमै सर्न बाध्य भयो।

भुइँचालोपछि पार्वतीका श्रीमान केशव राजधानी छोडेर गाउँ फर्किए। दुखःमाथि दुःख थपिँदै गएका कारण केशवलाई मानसिक तनाव बढ्दै गयो। उनलाई डराउने रोग लाग्योे। केही समयपछि उनी थला परे। गाउँका स्वास्थ्यकर्मीले उपचार गर्न राजधानी लैजान सुझाए। पैसा थिएन्। श्रीमान्को रेखदेखमै पार्वती घिमिरेको दैनिकी चल्दै थियो। खरको छानो छाउन नसक्ने पार्वतीलाई घर बनाउन असम्भव थियो। भुइँमा ओछ्यान हालेर सबै एकसाथ सुत्थे। भुइँचालो गएकै सालको पुसमा ठन्डी बढ्दै गयो। केशवलाई व्यथाले च्याप्यो। त्यही पुसको ११ गते पार्वतीले श्रीमान गुमाइन। छोराछोरी टुहुरा भए। उनको जीवनमा ठूलै बज्रपात आइलाग्यो।
...

गरिबी र नियतिले ठगिएकी पार्वतीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि ठगेको छ

वैत्येश्वर गाउँपालिका ६ नाम्दुस्थित लामोसाँघु–जिरी सडक छाडेर एउटा कच्ची बाटो जंगलको बीचबाट खनियाचौर गाउँ पुग्छ। खनियाचौरको गैराबारी बाँसथानबाट दुई कान्ला उक्लेपछि गारोे लडेको एउटा झुपडी भेटिन्छ। झुपडीसँगै छानो छाउन बाँकी र अर्को निर्माण सम्पन्न भइसकेको एक तले घर छ। ‘छानो छाउन बाँकी रहेको जेठाजु र उ त्यो तयार भएको घर सासूससुराको हो’, बिहीबार दिउँसो झुपडी छेउमै बसेकी पार्वतीले एकै सासमा भनिन्।

साधारण लेखपढ मात्र गर्न जान्ने पार्वती, अहिले ३३ वर्षमा हिँड्दै छिन्। भीमेश्वर नगरपालिका–५, किरातीछापमा जन्मेकी उनको १७ वर्षअघि नाम्दुका केशव घिमिरेसँग विवाह भएको थियो। गरिबीको चपेटामा परेको घिमेर परिवारमा झन्डै १० वर्षअघि अंशबन्डा हुँदा कान्छा छोरा केशवको भागमा बाबुबाजेदेखि कै त्यहीं पुरानो झुपडी प¥यो। सासूससुरासहित सबै छुट्टिएर बस्न थाले।

पार्वतीको कोखबाट तीन छोरी र एक छोरा जन्मिए। छोरोछोरी बढ्दै गएपछि केही कमाउने आसले केशव राजधानी हान्निए। उनले धेरै वर्ष भारी बोक्ने काम गरे। कष्टपूर्ण तरिकाले भए पनि परिवार चल्दै थियो। छोराछोरी हुर्कंदै थिए। पार्वती छिमेकीको खेतीपाती र घरमा ज्यालामजदुरी गर्थिन्।

‘वास्तविक पीडितको नामचाहिँ लाभग्राही सूचीमा पारिँदैन, साह्रै भेदभावपूर्ण छ पुनर्निर्माण प्राधिकरणको काम। सरकार आफैंले ढुुंगामाटोका धराप घर हटाउन भन्छ तर चर्किएर छियाछिया परेको घरलाई पुनः मर्मत गरेर बस्न मिल्ने सूचीमा राखेर पठाउँछ।’

...
श्रीमान गुमेपछि लालाबालाको पालनपोषण सबै पार्वतीको काँधमा आइप-यो। उनको बिजोग देखेर जेठी छोरी सन्तोषीलाई माइती गाउँकै काकीले पढाउन काठमाडौं लगिन्। १६ वर्षकी सन्तोषी अहिले १० कक्षामा पढ्छिन्। १५ वर्षकी माहिली छोरी सलिना, १२ वर्षका छोरा सरोज र ९ वर्षकी कान्छी छोरी सविना आमासँग छन् । सलिना ८, सरोज ७ र सविना ४ कक्षामा गाउँकै वैत्येश्वर माविमा पढ्छन्। पार्वतीले गाउँकै युवाले खोलेको कारखानामा मजदुरी गर्न थालेकी छिन्– मासिक ६ हजार रुपैयाँ ज्यालामा।

छोराछोरीसहित पार्वती धराप घरमै बस्छिन् । कतिबेला गारो खस्ने हो भन्ने त्रासले रातमा निद्रा नपर्ने। एक महिना अघि वर्षा भइररहेका घरको धुरीतर्फको गारो भत्क्योे । ढुंगाले लागेर पार्वती सामान्य घाइते भइन् । पार्वती बिचल्लीमा परिन्। यही बेला नाताले देवर पर्ने छिमेकी शम्भु घिमिरे बरदान बने उनका लागि। शम्भुले आफ्नो घरमा पार्वतीको परिवारलाई आश्रय दिए । अहिले पार्वती शम्भुकै घरमा सरेकी छिन्। शम्भु र उनको परिवार राजधानी बस्दै आएको छ।

...
भूकम्पलगत्तै सरकारले पीडितलाई घर बनाउन अनुदान दिने घोषणा ग-यो। भत्केका घर नाप्न र जाँचबुझ गर्न गाउँमा प्राविधिक आए । पार्वतीको घर पनि नापेर फोटो खिचेर लगे उनीहरूले । उनले घर बनाउने योजना बुन्न थालिन्। छिमेकीले पनि पार्वतीलाई छिट्टै लाभग्राहीको सूचीमा नाम प्रकाशित हुने र किस्तामा पैसा पाइने हुनाले घर बनाउने तयारी गर्न भने । आफू काममा नगई छोराछोरीलाई समेत स्कुल नपठाई छेउकै बारीमा ढुंगा थुपारेर घर बनाउने गिटी कुट्न थालिन् उनले । घर बनाउने तारतम्य चल्दै थियो।

पहिलो चरणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राहीको सूची प्रकाशित ग-यो। उनले तत्कालीन गाविस कार्यालय पुगेर सूची हेरिन् । ससुरा, जेठाजुसहित सबै छिमेकीको नाम आयो । उनको नाम आएन् । गाउँकै जानेबुझेकासँग सोधीखोजी गर्न लगाइन् उनले। सुझाएअनुसार गुनासो फारम भरिन् । फेरि अर्कोपटक प्राविधिक गाउँ आए । भत्केको घर हेरे । गाउँमा प्रायःले धराप घर भत्काएर पन्छाउन सुरु गरिसकेका थिए । पार्वतीलाई गारो चर्किएको झुपडीमा बसेको भनेर ती प्राविधिकले किन यस्तो घरमा बसेको भनेर गालीसमेत गरे । उनले आफ्नो वेदना पनि पोखेकी थिइन् । प्राविधिक फर्किए। अब त नाम आउला कि भनेर ढुक्क भइन् उनी । प्राधिकरणले गाउँमा सूची पठायो । उनको नाम थिएन् । गाउँमा घरै नभएका राजधानी बस्ने छिमेकीको नाम भने सूचीमा थियो।

केही दिनपछि वडा कार्यालयमा अर्को सूची आयो । पार्वतीको नाम मर्मत गरेर बस्न मिल्ने सूचीमा आएछ । गाउँका अगुवालाई बुझ्न लगाउँदा प्राविधिकले पार्वतीको घर भत्के पनि उनी सोही घरमा बस्दै आएको भनेर प्रतिवेदन दिएका कारण प्राधिकरणले उनको घर मर्मत गरेर बस्न मिल्ने भनेर प्रबलीकरणमा राखेर पठाइदिएको रहेछ।

तीन लाख रुपैयाँ अनुदान पाइएला र घर बनाउँला भनेर कुरेर बसेकी पार्वतीको त्यो सपनामा पनि तुषरापात लाग्यो।

‘एकलाख रुपैयाँले घर बनाउन सक्ने अवस्थै छैन’, उनले भनिन्, ‘गरिबलाई पीडामाथि अझ बढी पीडा थपिँदोरहेछ ।’ अब के गर्ने भनेर पार्वतीले खुट्टयाउन सकेकी छैनन्। उनी अन्योलमा छिन्।

वडाध्यक्ष शमशेर घिसिङले गरिबीका कारण पार्वतीको बिजोग भएको सुनाए। ‘साह्रै दुःख पाएकी छिन’, पार्वतीको अवस्था सुनाउँदै उनले भने, ‘यस्तै वास्तविक पीडितको नामचाहिँ लाभग्राही सूचीमा पारिँदैन, साह्रै भेदभावपूर्ण छ पुनर्निर्माण प्राधिकरणको काम। उनी भूकम्पपीडितप्रति सरकारी रबैयाका कारण आक्रोशित छन्। ‘सरकार आफैंले ढुं्गामाटोका धराप घर हटाउन भन्छ तर चर्किएर छियाछिया परेको घरलाई पुनः मर्मत गरेर मिल्ने सूचीमा राखेर पठाउँछ’, घिसिङ भन्छन्, ‘यो कस्तो नीति हो’।

घिसिङका अनुसार गाउँमा पार्वतीजस्तै घर भत्किएर पनि सूचीमा नअटाएका वास्तविक पीडित अरु पनि छन्। ‘यहाँ पीडित नभएकाले लाभ उठाए तर पीडित अझै लाभग्राही सूचीमा पर्न सकेका छैनन्’, बिहीबार वडा कार्यालयमा भेटिएका एक स्थानीयले भने। ती गाउँलेका अनुसार गाउँमा घरै नभएका, लामो समयदेखि राजधानीमा घर बनाएर बस्दै आएका र एउटा घर तर तीनचारजना छोराको अंशमा परेको देखाएर पनि थुप्रैले अनुदान लिएका छन्।

पार्वतीको झुपडी मर्मत गरेर बस्न मिल्ने भनेर प्रबलीकरण सूचीमा आएपछि गाउँकै नाता पर्ने एक शिक्षकले उनको पीडा र तस्बिरसहित फेसबुकमा लेखे। सदरमुकामका केही सञ्चारमाध्यमले पनि उनको समस्याबारे उठाएपछि चरिकोटका दुई व्यवसायीले शुक्रबार घरमै पुगेर उनलाई घर छाउन पाँच बन्डल जस्ता दिएका छन्।

प्रकाशित: २ भाद्र २०७५ ००:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App