१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

काठमाडौंबाट सिसडोल पु-याउन दुई दिन

सडकभरि फोहरले भरिएका ट्रक लामवद्ध छन्। जाममा फसेका ट्रकको ढालाबाट तपतप लिच्चड चुहिएको छ। केही ट्रकको एकातिरको टायर माटोमा धसिएको छ। वरिपरि गन्हाएर हिँडिसक्नु छैन। पैदल यात्रु नाक थुनेर ओहोरदोहोर गरिरहेका छन्। घन्टौं जाम खेपेका चालकहरू आजित मान्दै सडकको डिलमा उभिएका छन्।

बिहीबार नुवाकोटको सिसडोल ल्याण्डफिल्ड साइट नजिकै रातामाटेमा पुग्दा यस्तै देखियो। उपत्यकाको ल्याण्डफिल्ड साइटको रूपमा प्रयोग हुँदै आएको सिसडोलका अवस्था बिजोग छ। काठमाडौंबाट फोहर बोकेर हिँडेको ट्रकलाई सिसडोलसम्म आइपुग्न दुई दिन लाग्छ। फोहर बोकेर गुडेको गाडी नुवाकोटको रातामाटेदेखि सिसडोलसम्म जाममा फस्छन्। फोहर ढुवानीमा समस्या भएपछि काठमाडौंको फोहर उठ्न सकेको छैन। सडक जाम र खन्याउने ठाउँ पर्याप्त नहुँदा दैनिक २० ट्रक फोहर पनि सिसडोलसम्म पु-याउन कठिन भइरहेको फोहर बोक्ने सवारीका चालक बताउँछन्। ‘सडकभरि ट्रक लामवद्ध हुन्छन्, त्यसैले एक ट्रक फोहर खन्याउन दुई दिन लाग्छ,’ बिहीबार नागरिकसँग कुरा गर्दै चालक लाहुरे देउजाले भने, ‘स्थानीय चालकले बाहिरका चालकलाई हेप्छन्, उनीहरू आफ्नो गाडी जाममा फस्यो भने हामीलाई बाटो छेक्छन्।’ उनका अनुसार पहिले आधा घण्टा लाइनमा बसेर फोहर खन्याउन पाउँथे। अहिले एउटा गाडीले दुई दिन लाइनमा बसेर डम्पिङ साइडसम्म फोहर खन्याउने गरेका छन्। साँघुरा र फोहरमाथि बनेको सडकका कारण पानी नपरेको बेला मात्रै फोहर खन्याउने गरिएको छ।

काठमाडौंबाट फोहर बोकेर हिँडेको ट्रकलाई सिसडोलसम्म आइपुग्न दुई दिन लाग्छ। फोहर बोकेर गुडेको गाडी नुवाकोटको रातामाटेदेखि सिसडोलसम्म जाममा फस्छन्। जसका कारण फोहर ढुवानीमा समस्या भएपछि काठमाडौंको फोहर उठ्न सकेको छैन।

‘प्रशासनले ध्यान नदिँदा सडकभरि फोहर बोकेका गाडीको ताँती छ,’ उनले भने, ‘काठमाडौं महानगरपालिका र यस क्षेत्रको नेपाल प्रहरीले यसबारे चासो दिएको छैन, फोहरको गाडीमा रात काट्नुपरेको छ।’

चालक देउजाले भनेजस्तै काठमाडौंको फोहर सिसडोलसम्म पु-याउने चालक र कामदारको दुर्दशा नै छ। सडकमा गाडी फस्दा उनीहरू भोकभोकै सडकमै दिन बिताउने गरेका छन्। बिहान ७ बजे काठमाडौंको टेकुबाट भरिएको गाडी नुवाकोटको रातामा पुगेर जाम पर्ने गरेको अर्का चालक कृष्णबहादुर तामाङले बताए। उनले भने, ‘ पानी परिरहेको बेला भने दुई दिनसम्म सडकमै गाडी रोक्नुपर्छ।’

सडकमा गाडीको लावालस्करले सडकभरि लिच्चड बगेको स्थानीय बताउँछन्। ‘लिच्चडले गन्हाएर बसिसक्नु हुँदैन,’ रातामाटेका स्थानीय रमेश अधिकारीले भने, ‘यस्तो अवस्था हुँदा पनि काठमाडौं महानगरपालिकाले यसबारे समाधान खोजेको छैन।’

सडक जाम र खन्याउने ठाउँ पर्याप्त नहुँदा दैनिक २० ट्रक फोहर पनि सिसडोलसम्म पु-याउन कठिन भइरहेको फोहर बोक्ने सवारीका चालक बताउँछन्।  

काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिबहादुर कुँवरले पछिल्लो समय फोहर व्यवस्थापनलाई केन्द्रीय सरकारले नै ध्यानमा राखेको जानकारी दिए। उनले बञ्चरेडाँडा तयार नभएसम्म तीन वर्षलाई विकल्प खोज्न कमिटी गठन भइसकेको जानकारी दिए। उक्त कमिटीले फोहर व्यवस्थानको टुंगो लगाउने बताए। ‘साता दिनसम्म फोहर नउठ्दा स्थानीयले महानगरलाई धारे हात लगाइरहेका छन्,’ उनले भने, ‘महानगरले पनि सक्दो व्यवस्था गर्ने हो। यसमा केन्द्रिय सरकारले पनि चासो दिन जरुरी छ।’ उनका अनुसार महानगरले केही दिनमै फोहोर व्यवस्थापन गर्ने विकल्प खोजिनेछ ।
१३ वर्षदेखि फोहर ‘डम्प’ गरिँदै आएको सिसडोल भरिसकेको छ। अब उक्त क्षेत्रमा ६ महिनासम्म मात्रै फोहर फाल्न सकिने महानगरको आँकलन छ। त्यसको लागि केन्द्रीय सरकार र अन्य स्थानीय तहसँग छलफल भइरहेको उनको भनाई छ।

‘अहिले यो विषय निकै अन्योल छ, यसमा काठमाडौं महानगर एक्लैले काम गर्न सक्दैन,’ उनले भने, ‘अन्य नगरपालिका र स्थानीय तहले पनि बढी चासोको रुपमा लिनुपर्छ।’

सिसडोल बन्यो फोहरको पहाड
१३ वर्षदेखि फोहर फाल्दै आएको सिसडोल अहिले फोहरको पहाड बनेको छ। फोहर व्यवस्थापन गर्ने विकल्प नभएपछि भरिएको ठाउँमा महानगरले जबर्जस्ती फोहर थुपार्दै आएको छ। यसको समाधान गर्न ९ वर्षअघि सरकारले लगानी बोर्डको कार्यालय अन्र्तगतको प्रोजेक्टलाई अघि सारेको थियो। तर, उक्त प्रोजेक्टले बञ्चरे डाँडामा फोहोर व्यवस्थापनको लागि पूर्वाधार तयार पार्न सकेको छैन। महानगरले ६ महिनाअघि नै सिसडोलमा तीन महिनाभन्दा धेरैको समयको फोहोर नअट्ने बताएको थियो। तर, अहिले कुनै विकल्प नै नभेटिए पनि त्यसैलाई नै डम्पिङ साइटको रूपमा प्रयोग गरेको हो।

अन्यत्र ठाउँ नहुँदा आयु समाप्त भइसकेपछि पनि सिसडोलमै फोहर थुपार्नुपरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले बताए। उनले यसबारे उपत्यकाका सबै स्थानीय तहले सोच्नुपर्ने र महानगरसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताए।

‘अहिलेसम्म काठमाडौंको फोहर व्यवस्थापन काठमाडौं महानगरले गर्दै आएको थियो। तर, महानगरको मात्रै फोहर त्यहाँ जाँदैन,’ उनले भने, ‘यसबारे महानगरजत्तिकै जिम्मेवार भएर अन्य नगरपालिकाले पनि सोच्न जरुरी छ।’

उपत्यकाका तीन जिल्लाबाट सिसडोलमा दैनिक करिब ११ सय मेट्रिक टन फोहर पुग्छ। महानगरले व्यवस्थापन गरिरहेको सिसडोलमा अन्य नगर तथा संस्थाले शुल्क तिरेर फोहर बिर्सजन गर्दै आएका छन्। महानगरले न्युनतम ८ टनसम्म १ सय ५० र त्यसभन्दा माथिको फोहोरको शुल्क २ सय ५० रूपैयाँ लिएर फोहर विर्सजन गर्न दिन्छ।

सरकारले २०५८ सालमै नुवाकोटकै बञ्चरेडाँडालाई ल्याण्ड फिल्ड साइड बनाउन स्थानीयलाई मुआब्जा बुझाइसकेको थियो। हालको ककनी गाउँपालिका–२ मा पर्ने यस क्षेत्रमा ल्याण्ड फिल्ड साइट बनाउन २०६१/६२ देखि वार्षिक एक करोड ५० लाख रूपैयाँभन्दा बढी रकम विनियोजन गर्दै आएको छ।

बन्चरेडाँडामा पूर्वाधार निर्माण सुरु भएन
काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको लागि अघि सारिएको बञ्चरेडाँडा ‘ल्याण्ड फिल्ड साइट’मा पूर्वाधार निर्माण सुरु भएको छैन। हालसम्म नदी डाइभर्सनबाहेक अन्य काम सुरू हुन सकेको छैन। करिब १७ सय ७१ रोपनीमा रहेको उक्त क्षेत्रमा ३० वर्षसम्मको फोहर व्यवस्थापन गर्न सकिने महानगरका अधिकारीहरूको भनाई छ।

सरकारले साउन १ गते काठमाडौं फोहर व्यवस्थापनको जिम्मा निजी कम्पनी दिने निर्णय गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा लगानी बोर्डको बैठकले नेपवेस्ट प्रालिलाई फोहोरको जिम्मा दिने निर्णय गरेको थियो। तर, प्रालिले फोहर प्रसोधन केन्द्र निर्माण सुरु गरेको छैन। आयोजना निर्माणका लागि ८ अर्ब रूपैयाँ लगानी छुट्याइएको छ।

नुवाकोटको सिसडोल ल्याण्डफिल्ड साइट नजिकै रातामाटेमा बिहीबार देखिएको जाम।

प्रकाशित: १ भाद्र २०७५ ०६:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App