२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उद्योगमार्फत रोजगारी

काठमाडौं, साउन २९ (नागरिक) – प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा उद्योग स्थापनामार्फत रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् । सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकाल नेतृत्वको प्रतिनिधिमण्डलसँग मंगलबारको भेटमा प्रधानमन्त्री ओलीले नयाँ उद्योगको स्थापनामार्फत नेपालमा मात्र नभएर सार्क राष्ट्रमै अविकास, गरिबी र पछौटेपन हटाउनुपर्नेमा जोड दिएका हुन् ।

‘यो अभियान हामीले नेपालमात्र होइन दक्षिण एसियामै सञ्चालन गर्नुपर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘गरिबी र पछौटेपनबाट अब दक्षिण एसियालाई नै मुक्त गर्नुपर्छ ।’

सार्क चेम्बर अफ कमर्स जस्ता संस्थाले मुलुकको विकासमा महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले युवा पुस्तालाई प्रोत्साहित गर्न पनि सुझाए । अब स्थापना हुने उद्योगहरु प्रविधिमैत्री हुनेपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले नयाँ प्रविधि, नयाँ सोचका साथ युवा पुस्ता आइसकेको तर्फ उद्यमीको ध्यानाकर्षण गराए ।
उद्योगमा काम गर्ने मजदुर पनि प्रविधिमा पोख्त हुनुपर्ने भन्दै उनले थपे, ‘नयाँ जमाना, नयाँ सोच र नयाँ टेक्नोलोजीसहित युवापुस्ता आएको छ । अब पुरानाले धान्न अलि गाह्रो हुँदै गएको छ । युवा पुस्तालाई अघि बढाउन महत्वपूर्ण भूमिका तपाईंहरुको छ ।’

देश विकासका लागि अहिले उपयुक्त समय भएको सुनाउँदै प्रधानमन्त्री ओलीले त्यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए । तर, अहिले पनि केही तत्वहरु नेपालमा केही भएको छैन भनेर कुप्रचारमा लागिपरेको गुनासो गर्दै ओलीले भने, ‘निराश जनता देशको लागि सबभन्दा खतरनाक हुनेछ । आम जनतामा आत्मविश्वास बढाउनु र आस लाग्दो भविष्य देखाइदिनु सरकारको काम  हो । जसले जनतामा आशावादीता बढेर जान्छ।’

नेपालमा मात्र नभएर दक्षिण एसियामै काम गर्न सक्ने जनशक्तिको बाहुल्य रहेको जनाउँदै प्रधानमन्त्री ओलीले भारतमा ६० प्रतिशत युवा जनशक्ति रहेको उल्लेख गरे । ‘देशको जनसंख्यामा काम गर्न सक्नेको बाहुल्य छ,’ उनले भने, ‘यो जनशक्तिलाई उपयोग गरेर देश निर्माणको काममा लाग्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले मुलुकमा अपार प्राकृतिक स्रोत र साधन भए पनि त्यसको उपयोग गर्न नसकेको गुनासो गर्दै थपे, ‘सम्पत्ति भएरमात्र हुँदैन, जनता खुसी र सुखी हुनुपर्छ।

सार्क राष्ट्रका देशहरु एकअर्कासँग जोडिएको जनाउँदै प्रधानमन्त्री ओलीले भने, ‘नेपालको जलस्रोत जलविद्युत् उत्पादनमा मात्र सिमित छैन । यहाँ उच्च बाँध बनाउँदा भारतमा बाढी नियन्त्रणमा पनि सहयोग पुग्नेछ । बंगालको खाडीमा हाम्रा नदी नालाको पानी पुग्छ । त्यहीबाट मनसुन हामी कहाँ आउँछ । त्यसले यो रिजन एक अर्काबीच इन्टरलिंक्ड छ।’

सार्क भावनालाई अझ बलियो बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले एकअर्काबीच द्वेष, बैमनस्यको भावना हटाउँदै अघि बढ्नुपर्ने धारणा राखे ।

प्रधानमन्त्री ओलीले विश्व समुदायलार्ई नेपालमा लगानीमैत्री वातावरण भएको कुरा प्रचार गर्न नेपाली उद्यमीलाई आग्रह गरे ।

भेटमा सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष ढकालले सार्क राष्ट्र र उद्यमीबीचको सम्बन्ध सुमधुर बनाउन आफू निरन्तर सक्रिय रहने बताए । नेपालको आर्थिक विकासमा आफूहरु सहयोगी बन्ने पनि उनले प्रतिबद्धता जनाए ।
सार्क चेम्बरकी सदस्य शोभा ज्ञवालीले सार्क राष्ट्रमा व्यापार सहज बनाउन सरकारले पहल गर्नुपर्ने धारणा राखिन् । ‘एक व्यक्ति वा उद्यमीले गरेको पहल सार्क राष्ट्रको व्यापार र सम्बन्ध विस्तारमा पर्याप्त हुँदैन,’ उनले भनिन्, ‘राज्यले नै त्यसका लागि पहल गर्नुपर्छ ।’
वैदेशिक व्यापार तथा आर्थिक सहयोगको लागि छेङ्दु संघ, व्यापार तथा लगानी प्रवद्र्धनका लागि चिनिया“ परिषद् र सार्क उद्योग वाणिज्य संघले संयुक्त रुपमा आगामी सेप्टेम्बर १६ देखि २० सम्म चीन छेङदुमा कार्यक्रम हुँदैछ । त्यसको जानकारी गराउन उपाध्यक्ष ढकालका साथै उमेशलाल श्रेष्ठ, राजेन्द्र शेरचन, जोशना श्रेष्ठ, शोभा ज्ञवाली, अजित बस्नेत, राजेन्द्र रावतसहितका उद्यमीहरुको टोलीले प्रधानमन्त्रीलाई भेटेको थियो ।

भेटमा नेपाललाई दक्षिण एसिया र चीनको प्रमुख पारवहन हबको रुपमा विकास गर्न सरकारको सशक्त सहयोग भएमा निजी क्षेत्र यसलाई मूर्त रुप दिन तयार रहेको प्रतिनिधिमण्डलले जानकारी गरायो । नया“ एयरपोर्ट, ठूला राजमार्ग, रेलमार्ग, जलमार्गसहित नेपालको आर्थिक विकास र समृद्धिका लागि के के गर्न सकिन्छ भनेर दुई दर्जन छलफलका विषय छनोट गरिएको छ । उक्त कार्यक्रममा सहभागी हुन ढकालसहित १५ जनाको टोली चीन जाँदैछ ।

 

प्रकाशित: ३० श्रावण २०७५ ०६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App