१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘ट्रम्पले संवदेनशील कागजात खाए’

ह्वाइट हाउसको रुजभेल्ट कक्षमा अफ्रिकी अमेरिकी ऐतिहासिक महिना को बैठकमा २०१७ फेब्रुअरी १ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै ह्वाइट हाउसी पूर्वकर्मचारी ओमारोसा मानिगल्ट न्युम्यान (बायाँ) । फाइल तस्बिर:  एजेन्सी

वासिङ्टन – अधिवक्ता माइकल कोहेनसँगको बैठकपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संवेदनशील सूचनालाई ध्वस्त गर्ने प्रयासस्वरुप कागजात खाएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसकी एक जना पूर्वकर्मचारी ओमारोसा मानिगल्ट न्युम्यानले खुलासा गरेकी छन्। 

उनीद्वारा लेखिएको नयाँ पुस्तक ‘अनहिंग्ड : यान इन्साइडर अकाउन्ट अफ द ट्रम्प ह्वाइट हाउस’ नामक पुस्तकमा न्युम्यानले राष्ट्रपति ट्रम्पले गरेका विभिन्न गतिविधिलाई उल्लेख गर्ने क्रममा यस्तो विषय खुलासा गरेकी छन् । 
‘मैले राष्ट्रपति ट्रम्पले कागजको टुक्रा मुखमा हालेको देखें । किटाणुप्रति सचेत उनले कागज चपाइरहेको र त्यसलाई निलेको देख्दा म आश्चर्य चकित भएँ । उक्त कागज पक्कै पनि अति संवेदनशील विषय हुनपर्छ,’ न्युम्यानले आफ्नो पुस्तकमा लेखेको विवरण उद्धृत गर्दै ‘द वासिङ्टन पोस्ट’ले जनाएको छ। 

न्युम्यानको यस्तो आरोपलाई नाम उल्लेख नगरिएका ह्वाइट हाउसका अन्य धेरै सहयोगीले भने सत्य नभएको भन्दै हाँसो व्यक्त गरेको ‘द वासिङ्टन पोस्ट’ले जनाएको छ । ह्वाइट हाउसकी प्रवक्ता साराह हकाबी सान्डेर्सले जारी गरेको आधिकारिक विज्ञप्तिमा न्युम्यान खराब मनस्थिति भएकी पूर्व ह्वाइट हाउस कर्मचारी भएको र झुटो आरोप लगाएर फाइदा लिन खोजेको बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र उनका कर्मचारीलाई निरन्तर आरोप लगाउँदै आएकी न्युम्यानको पछिल्लो कथा पनि त्यसकै निरन्तरता भएको ‘द वासिङ्टन पोस्ट’ले जनाएको छ । चिफ अफ स्टाफ जोन केल्लीले पदमुक्त गरेपछि ह्वाइट हाउसकी पूर्वकर्मचारी न्युम्यानले डिसेम्बरमा ह्वाइट हाउस छोडेकी थिइन्। 

न्युम्यान अत्यन्तै अप्ठेरो प्रकृतीकी कर्मचारी भएको र उनले कयौं पटक खराब आचरण प्रस्तुत गरेको ह्वाइट हाउस स्रोतले आरोप लगाएको छ । उदाहरणका लागि उनले ह्वाइट हाउसमा विवाहको फोटो लिन खोजेको र त्यस्तो गर्न नपाउँदा त्यहाँ कार्यरत अन्य कर्मचारीसँग विवाद गर्दै रिस पोखेकी थिइन् । भनेजस्तो गर्न नपाएपछि उनले आफ्नो जुत्ता वेस्ट विङतिरै छोडेको समेत ह्वाइट हाउसले आरोप लगाएको छ । ह्वाइट हाउसभित्र हुने वार्तालापलाई ट्यापिङ गरेको आरोपमा उनलाई निलम्बन गरिएको थियो। 

ह्वाइट हाउसमा कार्यरत वरिष्ठ अश्वेत कर्मचारी न्युम्यानले आफ्नो पुस्तकमा ट्रम्पलाई रंगभेदी, स्त्रीद्वेषी र कट्टर मानिसका रूपमासमेत चित्रण गरेकी छन् । उनले पुस्तकमा पटकपटक रंगभेदी आरोपको प्रयोग गरेको ‘द वासिङ्टन पोस्ट’ले जनाएको छ । ह्वाइट हाउसबाट निकालिएपछि चुप बस्नका लागि आफूलाई प्रत्येक महिना १५ हजार डलरको प्रस्ताव भएको समेत उनले पुस्तकमा खुलासा गरेकी छन्।

ट्रम्पको प्रतिनिधित्व गर्दै कैयौं वर्ष काम गरेका अधिवक्ता कोहेनले उनको कामसँग सम्बन्धित विषयमा मुद्दा खेप्न सक्छन् । यद्यपि एक पटक उनले राष्ट्रपतिका लागि गोली थाप्नसमेत तयार रहेको बताएका थिए। 

प्रकाशित: ३० श्रावण २०७५ ०३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App