१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

क्रसर उद्योग हटाउन स्थानीयको माग

बेलका छ जहडामा सञ्चालित क्रसर ।    तस्बिरः महेश्वर

उदयपुर – बेलका नगरपालिका ५ को जहडामा संचालित क्रसर उद्योग हटाउन स्थानीयले माग गरेका छन्। सुनसरीको नदाहादेखि बेलकाको रामपुर ठोक्शीला हुँदै सप्तरीको कन्चनपुरसम्म जोड्ने दोहोरो लेनको पक्की सडक निर्माणका लागि ३ वर्षअघि स्थापित क्रसर उद्योगले मानव स्वास्थ्यमा गम्भीर प्रभाव पारेको, ध्वनी प्रदुषण गरेको तथा वातावरण प्रदुषण गरेको भन्दै तत्काल हटाउन स्थानीयले माग गरेका हुन्।

उक्त क्रसर नदाहा–ठोक्शीला–कन्चनपुर सडक निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सनले स्थापना गरेर सञ्चालनमा ल्याएको हो। तर, अहिले सडक निर्माण कार्य सम्पन्न भइसकेको र सडक बनाउन पुग्ने चाहिदो सबै सामग्री क्रसरले उत्पादन गरेर मौज्दात राखेकाले अब क्रसरको काम नभएको भन्दै हटाउन माग गरेको स्थानीय देवबहादुर विकले बताए। 

बेलका ५ जहडानजिकै गिदेरी खोलाकिनारमा संचालित क्रसर राख्नुअघि वातावरणीय प्रभाव मुल्यांकन नगरिएको तथा स्थानीयलाई प्रदुषण नगर्ने गरी सञ्चालन गर्ने आश्वासन दिइएको भए पनि अहिले आसपासका धेरै स्थानीयलाई अहिले हानी गर्दै गरेकाले हटाइहाल्न माग गरेको अर्का स्थानीय छत्रबहादुर मगरले बताए। गाउँमा सडक बनाइदिने, प्रदुषण भए क्षतिपूर्ति दिने आश्वासन दिएकाले सुरुमा वास्तै नगरेका स्थानीयहरू अहिले धुलो, धुँवा र ध्वनी प्रदुषणले अस्वस्थ हुन थालेपछि क्रसर हटाउनुपर्ने मागमा पुगेका हुन्।

मानवस्थास्थ्यसँगै अन्नबाली र सागसब्जी फल्नै नसक्ने गरी धुलो बस्ने, खानेकुरा फोहोर हुने तथा लुगाफाटो मैलिने समस्याले आजित भएपछि क्रसर हटाउनुपर्छ भन्ने निश्कर्षमा पुगेको अर्का स्थानीय देविका मगरले बताईन्। अर्का स्थानीय चन्द्र तामाङले भने ‘अब सडक पनि बनिसक्यो, चाहिदो रोडा, ढुंगा र बालुवा निकालेकै छ, त्यसैले क्रसर हटाउनुपर्छ।’ अहिले धेरै स्थानीयले क्रसर हटाइहाल्नुपर्ने माग गरेको उनले बताए। क्रसर राखिराखे अरु खोलाको प्राकृतिक स्रोतको दोहन हुने तथा मानव स्वास्थ्यमा थप असर पर्ने भएकाले तत्काल हटाइहाल्न आग्रह गरिएको भन्दै उनीहरूले नहटाए संघर्ष समिति बनाएर हटाउन आन्दोलन गर्ने चेतावनी दिएका छन्।

स्थानीय आसपासका खोलाखहरेको ढुंगा गिटी बालुवा ३ वर्षदेखि बाह्रैकाल निकालेर अन्यत्र बेच्ने गरेको पनि उनीहरूको आरोप छ। नदीजन्य पदार्थ त निकालेकै छ, गाउँलेलाई प्रदुषण र धुलोले धेरै अस्वस्थ्य बनाएको गुनासो उनीहरुको छ। स्थानीय आदर्श टोलविकास संस्थासँग पनि क्रसर हटाउने विषयमा पहल गरिदिन अनुरोध गरेको र टोलविकास संस्थाका सचिव रामबहादुर कार्कीले नगरपालिकासँग छलफल गरेर हटाउन माग गर्ने आश्वासद दिएको बताएका छन्। बेलका नगरपालिका ५ नम्बर वडाध्यक्ष गोविन्द खड्काले कालिकाले सञ्चालन गर्दै आएको क्रसर अहिले अर्कै उद्योगीले किनेर चलाउन थालेको बताए। 

प्रकाशित: २९ श्रावण २०७५ ०८:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App