१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लागूऔषध भित्र्याउने ‘ट्रान्जिट’ बन्दै सर्लाही

केही समयअघि स्थानीय महिलाले लुकाएर पसलमा बिक्रीका लागि राखेको अवस्थामा ईलाका प्रहरी कार्यालय लालबन्दीले बरामद् गरेको ९० बोतल कोरेक्स।    तस्बिर : टंक/नागरिक

सर्लाही – भारतबाट नेपालतर्फ लागूऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित औषधि भित्र्याउनका लागि सर्लाहीका विभिन्न नाकाहरू प्रयोग हुने गरेको पाइएको छ। कारोबारीले लागूऔषधको रुपमा प्रयोग हुने विभिन्न औषधीहरू ओसारपसारमा भारत र नेपाल दुवैतर्फका स्थानीय बालबालिका, किशोर र महिला लगायतलाई प्रयोग गर्ने गरेको खुलेको छ।

गत शुक्रबार बिहान एक भारतीय किशोर सहित २ जनालाई नेपालतर्फ लागूऔषध ओसार्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट संग्रामपुरका प्रहरी निरीक्षक सानुबाबु त्वानावसु नेतृत्वको टोलीले पक्राउ गर्यो। भारत सीतामढीका १५ वर्षीय हमान अन्सारी र सर्लाही मलंगवाका १६ वर्षीय समिर अन्सारीलाई लागूऔषधको रुपमा प्रयोग हुने १ हजार ७९४ थान (एम्पुल), विभिन्न औषधी सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूले बोकेको झोला चेकजाँच गर्दा फेनार्गन, डाइजेपाम र नुफिन नामक एम्पुलहरू फेला परेको हो। पक्राउ परेका २ अभियुक्तले अर्कैको सामान ओसारेको बयान दिएका छन्। सिमा सुरक्षा कार्यालय सर्लाहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक समर श्रेष्ठले पक्राउ परेका अभियुक्तको भनाइले उनीहरू लागूऔषध ओसारपसारमा भरियाको रुपमा प्रयोग भएको देखिएको जानकारी दिए।

‘प्रारम्भीक सोधपुछबाट उनीहरू आफैं कारोबारी एवं सेवनकर्ता जस्तो बुझिएन’, सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘कारोबारीले ओसारपसारमा भरियाको रुपमा प्रयोग गरेको देखिन्छ।’ सशस्त्र प्रहरीले पक्राउ परेका अभियुक्त सहित बरामद् लागूऔषध नेपाल प्रहरीको जिम्मा लगाएको छ। पक्राउ परेका दुई अभियुक्तले सामान ओसार्न खटाउनेको एनसेल नम्बर समेत दिएको प्रहरी स्रोतले जनाएको छ। उक्त नम्बर मार्फत ओसारपसारमा संलग्न मुख्य गिरोहसम्म पुग्ने गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय मुद्धा फाँटका प्रमुख प्रहरी निरीक्षक कुन्दन देवले अनुसन्धान भइरहेको जानकारी दिए। ‘प्रारम्भीक अनुसन्धानका क्रममा पक्राउ परेकाहरू कारोबारी एवं सेवनकर्ता हैनन्’, देवले भने, ‘ओसारपसार गर्ने गिरोहले प्रयोग गरेको देखिन्छ, अनुसन्धान अगाडि बढाएका छौं, विस्ततृ जानकारी केही दिनपछि खुल्नेछ।’ त्यस्तै साउन १ गते बा. ८ च ९०८ नम्बरको कारमा सिटमुनी लुकाएर लागूऔषध नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा दुईजना पक्राउ परेका थिए।

सदरमुकाम मलंगवास्थित मुख्य नाकाबाट भित्रदै गरेको कार गोरखकाली सिमा प्रहरी चौकीको टोलीले चेकजाँच गर्दा डाइजेपाम, नुफिन, फेनार्गन, नाइट्राभेट, स्पास्मो प्रोक्सिभान एटेन लगायत गरी ४०५ थान लागूऔषधको रुपमा प्रयोग हुने औषधी फेला परेको थियो। कारमा रहेका काठमाडौं निवासी प्रवेश उप्रेती र प्रनेश भट्टाचार्यलाई लागूऔषध नियन्त्रण ऐन अन्र्तगत मुद्धा चलाएकामा हाल दुवैजना पुर्पक्षका लागि झुम्का कारागार चलान भएका छन्।

४ दिनअघि साउन २३ गते मात्र २६ बोतल लागूऔषध बोकेर मोटरसाइकलमा आउँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय लालबन्दीको टोलीले दुईजनालाई पक्राउ गरी मुद्दा प्रकृया अगाडि बढाएको छ। २०७५ सालयता ४ महिनाको अवधीमा मात्र जिल्लाका विभिन्न स्थानबाट ९ जनालाई लागूऔषध ओसारपसार गरिरहेको अवस्थामा पक्राउ गरी नेपाल प्रहरीले कारबाही प्रकृया अगाडि बढाएको छ। सेवनकर्ता एवं कारोबारीले पछिल्लो समय लागूऔषध ओसारपसारमा बालबालिका एवं महिलालाई प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ।

पटक–पटक आफै ओसारपसारमा संलग्न हुँदा सुरक्षाकर्मीले निगरानी बढाउने भएकाले कारोबारीले भरिया लगाउन थालेका हुन्। कारोबारीले पूर्व–पश्चिम राजमार्ग क्षेत्रका युवा एवं काठमाडौंसम्म लागूऔषध पुर्याउने ‘ट्रान्जिट’ को रुपमा सर्लाहीको विभिन्न नाका उपयोग गर्ने गरेको माथिका घटनाले देखाएको छ।

‘अहिले गाउँगाउँबाट छुट्ने रात्रीबस मार्फत लागूऔषध सजिलै काठमाडौं पुर्याउने गरिएको छ’, एक जानकारले भने, ‘कारोबार गर्ने गिरोहले गाउँ गाउँमा आफ्ना सम्पर्क व्यक्ति खटाएका हुन्छन् र रात्रीबसका मजदुरलाई पनि मिलाएका हुन्छन्।’ भारतबाट भित्रिने लागूऔषध नियन्त्रणका लागि सिमानाकाहरूमा विशेष निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

प्रकाशित: २७ श्रावण २०७५ ०८:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App