१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

भेल

‘टाङटाङ टिङटीङ’ – मोबाइलको चर्को घण्टीले मेरो तन्द्रा बिथोल्यो।

‘हेलो’–  उताबाट नम्रता बोली।

मेरो अल्छे आवाज सुनेर उसले भनी– ‘के हो ? अझै सुतेकै।’

मैले हाई काढ्दै भने– ‘होे।’

उसले अचम्म मानी– ‘किन सधै ५ बजे नै उठिसक्ने मान्छे । आजचाहिँ के भयो?’

भित्ते घडीमा आँखा परे । नभन्दै बिहानको आठ बजिसकेको रहेछ।

आफू ठीकठाक नै छु भन्ने आश्वास्त पर्दै मैले भने– ‘छुट्टीको दिनको उपयोग गरेको । कति सधै कुदकुदाइ मात्र गर्ने?’

‘ए, उसो भए दिउँसो न्यूरोडतिर भेटौं न त । ठीक १ बजे ।’ उसले प्रस्ताव राखी हाली । मैले स्वीकृति जनाएँ।
०००

बिहानभरि सुतिरहँदा पनि घरमा कसैले मलाई बोलाएन । यद्यपि आज यसरी छुट्टी मनाउने मुडमा भएको अग्रिम घोषणा मैले गरेकी थिइनँ।

म चाहन्थे– कमसेकम आजको बिहान कसैले मेरो छेउमा बाफ उडिरहेको कालो चियाको कप ल्याओस्। म सुतिहेकोमा चासो देखाओस् । कानमा यसरी मीठो साउती गाउँदै मलाई उठाओस्– ‘के हो अझै मीठो सपनामा?’

म उसको मायालु आवाजसँगै उठूँ । उसको हातबाट चियाको कप लिऊँ र लाडिँदै भनूँ– ‘थ्यांकु डार्लिङ । आज त कमाल ग-यौ ।’ जस्तो कि म नवीनका लागि प्रत्येक बिहान गर्छु।

तर, कोठामा चिया ल्याउनु त के कसैले भान्छामा समेत मलाई चियाको निम्तो दिएन । चियाको तलतललाई सिरक भित्रै थुनेर म बिहानभरि ओच्छयानमा मौन पल्टिरहे । कसैले चिया ल्याइदिएको कल्पनामा डुबिरहे।

वास्तवमा यसरी सुतेको बहानामा पल्टिरहनु साह्रै सकस हुँदोरहेछ । बरु उठेर केही समय ध्यान गरेको भए मन हल्का हुन्थ्यो । यसरी शरीरलाई मात्र निस्क्रिय बनाएर के गर्नु ? मन र दिमाग त घट्टको चक्काजस्तै घुमिरहेका छन् । विगत र वर्तमानको उकालो–ओरालो कुदिरहेका छन्।

यो मेरो वर्तमानलाई तौलने अवसर बन्यो । मप्रतिको अरुको चासोलाई छाम्ने उपाए । यद्यपि, यो नियत भने मभित्र थिएन।
०००

उठे । बाथरुम पसेर फ्रेस भए । भान्छामा केही त पाकेकै रहेछ । म नभएर कोही भोकै त नपर्ने रहेछन् ।
खाना खाएँ । तयार भएर लागेँ, न्यूरोडतिर । नम्रता भेटिई । हामी रामेश्वरम्को दोस्रो तल्लामा छिर्यौं । एउटा कुनातिरको टेबुल रोजेर बस्यौं र चिया अर्डर गयौं।

आज म स्वतन्त्र मुडमा भएको अनुमान लगाई उसले । अरु दिन जस्तो मलाई हतार, तनाव र चटारो केही छैन । अब काम नै के छ र ! गफका तानाबाना बुन्नु त हो।

उसले भनी– ‘आज बिहानभरि किन सुतिरहेकी नि ? केही समस्या त छैन?’

मैले भने– ‘सुतेकी नभई बहाना मात्र गरेकी।’

उ हाँसी– ‘कहिलेदेखि बहाना गर्न सिकेकी?’

‘आजैदेखि’ – मैले भनें।

हामी दुवै मस्तले हाँस्यौ । यहाँबाट हतारिएर हिँड्नुपर्ने काम उसको पनि रहेनछ । आज रमाइलो दिन बित्ने भयो हाम्रो।

उसले मेरो घरको हालखबर सोधी । मैले बिहानका चियाको अतृप्त तृष्णामा परेका कुराहरू बेलिबिस्तार लगाएँ।

नम्रताले भनी– ‘कुन ठूलो कुरा हो ? सक्षम मान्छे आफै उठेर चिया पकाएर खाएको भए भइहाल्थ्यो नि ।’
मैले सोधे– ‘के तलाई अनुभव छ ? तेरो बूढाले बेड टी दिएको?’

‘त्यो त आशा गर्नु पर्दैन । ऊ भने मैले बेड टी नदिएसम्म उठ्दैन । यो कुराको अनुभव नगरेरै मरिन्छ होला,’ उसले भनी।

हामी मस्तले हास्यौं– ‘हामीलाई पनि किन व्यर्थमा आशा गर्नुपरेको होला, जाबो एक कप बेड टीको ।’
रहँदै जाँदा भोक पनि लाग्यो । के खाने ? हाम्रो बीचमा केही खाने सहमति बन्यो । डोसा अर्डर गरे मैले । उसले पनि डोसा नै खाने इच्छा व्यक्त गरी।
०००

कलेज सुरु भएदेखि नटुंगिदासम्मका सहयात्री हामी । त्यसपछि पनि समय र घटनाक्रमहरूमा सँगसँगै हिँडिरहेका हामीसँग गफिने साझा विषयवस्तुको कमी हुने कुरै भएन।

 हामी एउटै समय र एउटै उद्देश्य लिएर नेपालको दूर दराजबाट काठमाडाैं भित्रिएका थियौं । तर, ‘चोक्टा खान आएकी बूढी मmोलमा डुबेर मरी’ जस्ता भएका छौं । दुवैका भोगाइहरू प्रायः उस्तै छन्।

गाउँबाट काठमाडाैं भित्रिनुअगाडि नै दिमागभरि एउटा राजनीतिक धारणा बोकिसकेका हामीहरू काठमाडाैं भित्रिएपछि त देशै बदल्ने सपना देख्थ्यौं । त्यसैले त हामी मज्जैले प्रयोग भएका थियौं, रत्नपार्कमा ढुंगा हान्दै हिँड्ने काममा।

‘देश त परिवर्तन गरेकै हौ नि हामीले । हामी जस्ता बेवकुपहरूले आन्दोलन नगरेको भए परिवर्तन आउँथ्यो त देशमा ? तर, नेताहरूका कारणले पो त देश भडखालामा परेको’– उसले जिकिर गरी।

‘देश परिवर्तन त हामीले गरेर के हुन्थ्यो । पढाइ सकेर गाउँमा गएर कुनै स्कुलमा पढाइदिएको भए त कति हुन्थ्यो । पढाइरहेका स्कुलहरू पनि छोडेर हिँडियो।’

यतिबेला आफूले स्कुलका विद्यार्थीदेखि गाउँघरका बुद्विजीवीहरूबाट पाएको सम्मान सम्झेर नोष्टिाल्जिक भयौं हामी।

‘छोडौं यस्ता कुराहरू, अब सम्झेर के नै हुन्छ र ?’– मैले अली झर्को मान्दै भनें।

 ‘त्रिभुवन विश्वविद्यालय पढ्न कीर्तिपुर दौढाहा खुबै गरियो है’– मैले कुराको प्रसंग बदलें।

‘कलेज अगाडिको चौरमा बसेर खुबै गफ मारियो । हामी त हुन न खाँदाका आदर्शवादी पो थियौं त। सादा जीवन उच्च विचारका हिमायती भएका कहीका । अरु त के हामी फिल्मसमेत केटाहरूसँग हेर्न नजाने कहीका सति सावित्री’ – लौ खा भन्दै नम्रताले आफैलाई लोप्पा खुवाई।

‘कति अन्तरमुखी थियौं हामी, केटाहरूसँग खुलेर क्लास नोटसम्म लिन–दिन नसक्ने । केटाहरू पनि हामीसँग बोल्ने आँटै गर्दैनथे । किन हो खै’ – मैले भने।

‘केटाहरूलाई लिफ्ट दिन पनि त जान्नुप¥यो नि । हामीसँग बोल्नलाई उनीहरूको पनि आँट थिएन । साच्चै उनीहरूले हामीलाई गोज्याङ्ग्री भन्थे होलान् हगी । अपडेट भएर पनि कहिले हिँडिएन’– उसले भनी।

मलाई आफूले विश्वविद्यालय पढ्दासम्म सधैं लगाउने गरेको सेतो रङमा हरियो बोर्डर भएको खद्दरको धोती याद आयो।

‘त्यहीँ अरू केटीहरू आउट ड्रेसमा ठाँटीएर पनि हिँडिदिन्थे । किन हामीलाई त्यही लगाउँदा पनि नसुहाउने, बूढी देखिने धोती भिडेर हिड्नुपरेको । मूर्खै हौं हामी त’– मैले भने।

‘कहाँका आउट ड्रेस पनि हाम्रा गतिला हुन्थे त । हुनु पनि त प¥यो नि गाँठ, आउट ड्रेस किन्नलाई । खेरै गइएछ’– उसले भनी।

हामी दुवै हाँस्यौं।

मैले भने—‘मलाई त आज सपिङ पनि गर्नु छ त।’

‘के को सपिङ?’

‘साडी, जुत्ता, ब्याग सेट । बिहे हुँदैछ नि त आफन्तको।’

‘होलान नि पहिले नै किनेका?’

‘छन् त छन् नि । तर, आउट डेटेट । थोत्रा देखिने।’

‘टियुको ड्रेसजस्तै’ – उ हाँसी।

‘प्रत्येक पटकका बिहे, व्रतबन्ध पार्टीमा फरक कपडामा सजिएका हुन्छन् महिलाहरू । गहनासमेत मिलाएर लगाउँछन् । कुराको प्रसंग नै लवाइ खवाइको हुन्छ– अहो कस्तो म्याचिङ ! कहाँ किनेको ? गजब सुहाएको छ । कति प-यो ? मतिर त कोही फर्केर पनि हेर्दैनन्।

‘अनि बानी नै छ नि त टियु ड्रेस मार्का’– उसले भनी।

 मजाले हास्यौं हामीहरू।

‘लवाइखवाइमा सामाजिक प्रतिष्ठा रहेछ । हाम्रो त इज्जतै गायव । जे होस् आज त म बिन्दास सपिङ गर्छु’– मैले भने।
०००

एक समय थियो, मानिसहरू हामीप्रति गर्व गर्थे । किनकि गाउँदेखि संघर्ष गरेर राजधानीसम्म आएर पढेका थियौं । त्यतिबेला हाम्रो इज्जतै अर्को थियो । ती दिनहरू सम्झेर नोष्टाल्जिक भयौं हामी।

आज किन हो खोइ, समय–चेतना पनि गज्जबले गायव भएको छ हामीबाट । नभए यतिन्जेल कति पटक घडी हेरी सकिन्थ्यो । मेरो बिन्दास मुडको प्रभाव उसमा पनि परेको छ आज । ऊ पनि हतारिएकी छैन ।
बिल तिरिवरी बिस्तारै अल्छे पाराले लाग्यौं हामी इन्द्रचोक, न्यूरोडतिर किनमेलमा।

चन्दाचकोरी साडी पसलभित्र पस्याैं।

‘साहुजी लेटेस्ट मोडेलका साडी निकाल्नुस् न’– मैले भने।

साहुजीले भने– ‘अरे बसी लिनोस् न हजुर । ए भाइ, साहेबनीहरूलाई हिजो ल्याएका साडी देखाइले ।’
केटाहरूले हाम्रो अगाडि साडीको थुप्रो लगाए । हाम्रा आँखै तिर्मिराउने गरी।

‘लौ हजुर, हेरी लिनुहोस् लेटेस्ट मोडेल । अरे पैसाको के कुरा गर्ने हजुर । हजुरको लागि कहाँ महँगो भनिलिन्छ हजुर’– साहुजीले प्रभाव जमाए।

हामीले सितारा भरेको रानी र हरियो रङको साडी टिप्यौं।

मैले पैसा गने– हजारका नोट । पाँचदेखि माथि खै कति हो कति।

अब म्याचिङ सेन्टर । साडीमा मिल्ने लेटेस्ट मोडेलको ब्लाउज । जरी भरेको । पिठ्युतिर तलसम्म झुम्का लट्केको । दुवै हातका नाडीभरि झल्किने मेटलका चुरा । टीका । गहनाको त कुरै अर्को । सबै लेटेस्ट मोडेल । कसले उछिन्ने अब मलाई । वाह!

हा हा हा...

हामी बेस्सरी हाँस्यौं।

‘हामीले आज सपिङ गरेकै हो ? बग्यो है हाम्रो पसिना छिमेकी देशतिर’– मैले भने।
०००

बिहेको दिन आयो । मनमौजी तालले सिङरिएँ म।

‘आज त मेरो सानै बेग्लै । मानै बेग्लै । मेरो वरिपरि अब सब झुम्मिने छन् । देवरानीले भन्नेछिन्, ‘वाह ! दिदी कस्तो म्याचिङ’ । जेठानीको त के कुरा र । इष्र्याले भुतुक्कै हुने त उनको बानी नै छ’ – मैले सोचें।

‘बुहारीहरू मेरै छेउमा आउनेछन् । र,साडीको प्रशंसा गर्न थाल्नेछन् । कहाँ किन्नु भएको ? कति प-यो नि । कस्तो खुलेको तपार्इँलाई’ – मेरो दिमागमा यस्ता चक्कर चढ्न थाले।
०००

म पुग्दा पार्टी प्यालेस झकाझक भइसकेको रहेछ । बत्तीको उज्यालोमा पाहुनाहरूको तामझामको के कुरा । डिस्को म्युजिक झ्वामझ्वाम।

म आफ्नो पहिरनको बोझले असजिलो मान्दै पार्टी प्यालेसभित्र पसें । सबैले मलाई नै हेरिरहेका होलान्।

उनीहरूले सोचिरहेका होलान्– ‘हैन आज यो फलानीलाई पनि फेसनको हावाले छोएछ।’

म बिस्तारै अलि टाढाकी जेठानी दिदीको छेउमा पुगें र उनलाई शीर थापेर ढोगें।

छेउमा उनकी भान्जी आइन । उनी नाताले मेरी पनि भान्जी नै हुन् । चानचुने पनि कहाँ हुन र ? धनी । त्यसमाथि पनि उच्चस्तरीय प्राविधिक।

उनले मलाई तलदेखि माथिसम्म हेर्न थालिन्।

मैले सम्झेँ– ‘उनले अब मेरो पहिरनमाथि कमेन्ट गर्दै भन्नेछिन्, माइजु आहा कस्तो म्याचिङ ! कति लेटेस्ट । कसैले पनि यस्तो साडी यहाँ लगाएकै छैनन्।’

अब उनले आफ्नी माइजुतिर औंला तेस्याइन् । र, मतिर आँखा तर्दै आफ्नी माइजुलाई भनिन्– ‘अब आइन्दा हजुरले यो साडी कहिले पनि लगाउनु पर्दैन, बुझिस्यो।’

उनले किन यसो भनिन्– एक क्षण त मैले बुझ्न पनि सकिनँ।

मैले उनकी माइजुको पहिरनतिर हेरें । उनको र मेरो साडी हुबहु एकैनासको परेछ।

उनकी माइजुको जस्तो साडी मैले लगाइदिएकोले उनले आक्रोश ओकलेकी रहिछिन् । मानौ मैले उनकी माइजुको शान, औकात नै खोसी दिएँ।

अब मैले मेरो परिश्रमले किनेको साडीमा छिमेकी देशतिर बगेको मेरो पसिना सम्झे । र, आफ्नो स्वाभिमानको एक एक अंश शीरदेखि पाउसम्म आएको पसिनाको भेलमा बगिरहेको महसुस गरें।

(हालै प्रकाशित कथा संग्रह ‘लोप्पा’बाट।)

प्रकाशित: २६ श्रावण २०७५ ०४:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App