१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

लोकसंगीतकी कोइली

लोकगायिका हरिदेवी कोइराला। तस्बिर : दुर्गा राना

उनलाई आफ्नो नाउँ मन पर्दैन । उनलाई मनै नपरे पनि लोकसंगीत क्षेत्रमा उनी त्यही नामले प्रसिद्ध भइन् । ‘हरि ! हरि !’ शब्दको बारम्बार उच्चारण गर्दा स्वर्गको बास हुने आशामा हजुरआमाले ५९ वर्षअघि उनको नाम हरिदेवी जुराइन् । त्यसपश्चात हरिदेवी कोइराला नामले नै उनले लोकसंगीतमा ख्याती कमाइन्।  

करिब ४५ जनाको संयुक्त परिवार, त्यसमा पनि ९ भाइबहिनीकी जेठी दिदी उनी । ठूली छोरी भएकै कारण सारा कामधन्दा गर्नु र भाइबहिनीको हेरचाह गर्नु उनको नियमित काम हुन्थ्यो । अन्तरमुखि स्वभावकी हरिदेवी भट्टराई (विहे अघि) सानैदैखि कविता, गीत लेख्न र गाउनमा रुचि राख्थिन्। हजुरआमाले प्रत्येक विहान सुनाउने श्लोकहरु ध्यान दिएर सुन्थिन् । घरमा गन्धर्वहरु सारंगी बजाएर गीत गाउन आउने बित्तिकै हुरुक्क हुन्थिन् । खेतीपाती गर्दा खेतालाले गाउने भाका मन्त्रमुग्ध भएर सुन्थिन्।

‘हाम्रोमा अहिले सेन्सरसिप भन्ने नै भएन, जसले जे लेखिदिए पनि भयो, गाए पनि भयो, रोक्ने कोही पनि भएन, जसले गर्दा नै विकृतिहरु भित्रिएका हुन्’, लोकगायिका हरिदेवी कोइराला भन्छिन्, ‘सञ्चारमाध्यमले पनि आएका सबै गीत बजाउने/देखाउने गरेका कारण पनि यस्तो हुन पुगेको हो।’

यसरी सानैदेखि संगीतप्रति उनको भोक प्यास जाग्दै गयो । फुर्सद हुनेवित्तिकै उनी गीत लेख्दै भाका हालेर गाउन सुरु गरिहाल्थिन् । उनी विद्यालय जीवनका कार्यक्रमहरुमा पनि प्रतिभा देखाउँथिन्।

मन नपरेको मान्छे  
कक्षा ५ सम्म तालबाराहीमा अध्ययन गरेकी उनले एसएलसी भने पोखराकै बाराही माध्यमिक विद्यालय, पस्र्याङबाट दिइन् । एकातिर हरिदेवी एसएलसीको परीक्षाफलको पर्खाइमा थिइन् भने अर्कातिर उनका हजुरबा उनका लागि दुलहाको खोजीमा । हजुरबाले एकपटक पनि उनीसंग विवाहबारे सोधेनन् । बेहुला खोजिहाले । धेरै नबोल्ने स्वभावकै कारण उनले विवाहप्रति प्रतिक्रिया जनाइनन् । त्यसको अर्थ मौन सहमति थियो । उनलाई हुनेवाला श्रीमान् कृषि बैंकमा जागिरे हुन् भन्ने बाहेक केही थाहा थिएन । जग्गेमा घुमेर सिउँदोमा सिन्दुर भरुन्जेल पनि उनले श्रीमान्को अनुहार राम्ररी देख्न पाइनन्।

घर आइसकेपछि बल्ल उनले श्रीमान् रामबहादुरको अनुहार राम्ररी देखिन् । भर्खर विहे गरेका श्रीमान् किन हो उनलाई त्यत्ति मनपरेन । उनले मनमनै भनिन्, ‘केटा अलि राम्रा खोजिदिएका भए !’ तर उनले केही समयमै बुझिहालिन् हजुरबाले उनका लागि सुन्दर र असल श्रीमान् खोजिदिएका रहेछन् । विहेको पहिलो दिनमा मन नपरेको मान्छे अहिले उनका सबैभन्दा प्रिय साथी हुन् । उनी गीत, कविता लेख्छिन्/गाउँछिन् भने रामबहादुर त्यसको व्यवस्थापन गरिदिन्छन्।

नबिर्सने स्वाद
उनलाई गीत लेख्ने प्रेरणा सामाजिक परिवेश र घरबाटै मिल्यो । भन्छिन्, ‘हाम्रो परिवार धेरै ठूलो थियो । सबै एकै ठाउँमा जम्मा हुँदा त ४५ जनासम्म पुग्थ्यौं । त्यसमा पनि मेरा बाको दुई परिवार । सानैबाट हजुरआमाहरुलाई देखें । आमाहरुलाई देखें । उहाँहरुका दुःखहरुलाई देखेँ र भोगें पनि।’

खानाको समय पहिला हजुरबा, बाबाहरु त्यसपछि दाजुभाई र वच्चा अनि मात्र पालो आउँथ्यो आमाहरुको । पालो पर्खदापर्खदै रातको १२ बज्थ्यो र दाजुभाईले खाएकै थालमा हजुरआमा/आमाले खाने गर्थे । उनको मनमा त्यतिबेलामा नै धेरै प्रश्न उठ्थ्यो– किन यस्तो विभेद होला ? दाजुभाईलाई दिइने र छोरीलाई दिइने खानाको परिकार नै फरक हुन्थ्यो । जसले उनको मनमा गहिरो प्रभाव पा-यो।

उनको मनमा यी घटना ताजै छन्–‘सबैले खाएर सुत्न गइसकेपछि जब आमाको पालो आउँथ्यो, आमाहरु माइतीबाट ल्याएका कोशेली फुकाउन थाल्थे, बारीमा के फलेको छ टिपेर ल्याउने र राती नै भातत्यून पकाउनुहुन्थ्यो, म चाहिँ निन्द्रामा हुन्थे, आमाले मलाई उठाउनुहुन्थ्यो, आमाले भात, तरकारी र त्यसमा घ्यू राखेर दिनुहुन्थ्यो, म सपक्कै मिठो मानेर खान्थे।’

मिठो खान मन लागेर नै त आमाहरुले त्यसो गरे होलान् भन्ने लाग्छ । घरमा छोराले खाने एउटा खान्की र छोरीवुहारीको अर्को खान्की हुन्थ्यो । त्यसले नै उनलाई गीत÷कवितामा महिलाका वेदना उतार्न झक्झकाइरह्यो । उनले आमाको माया सम्झेर गीत पनि लेखिन्–‘आमा तिम्रो दुधको भारा’।

पाइनँ खबर
ब्राम्हण परिवारमा हुर्केकी उनलाई खुलेर गीत नै गाउने अवस्था थिएन । विहेअघि गाउन नपाएको छुट विहेपछि भने पाइन् । श्रीमान् र परिवारको सहयोगले उनलाई गाउन झन् प्रेरणा मिल्यो । उनले गाएको सुन्दा साथीसंगीले गीत रेकर्ड गर्न सुझाव दिए । त्यसैबाट हौसिँदै विसं ०४० सालमा गीत रेकर्ड गर्न उनीहरु काठमाडौं लागे । लोकगायक प्रेमराज महत उनका पतिका मामा पर्थे, त्यसले पनि उनलाई सजिलो भयो । रेडियो नेपालमा गीत रेकर्ड गर्न हिँडेका त थिए तर धेरै समय लाग्ने देखे पछि प्राइभेट रेकडिङ टुडियोमा गीत रेकर्ड गर्ने निधो भयो । त्यही अनुरुप ६ हजार रुपैयाँ तिरेर उनले ८ वटा गीत रेकर्ड गराइन् । त्यतिबेला एक विहान ४ र अर्को विहान ४ गरेर ८ वटा गीत रेकर्ड गराएकी थिइन्।

महिना दिन वितेपछि बल्ल उनले आफ्नो गीतले बजार तताएको थाहा पाइन् । त्यसमा पनि जुन गीत बजारमा ल्याउने सोच नै थिएन त्यही गीत ‘पाइनँ खबर’ले झन् बढी चर्चा बटुल्यो । क्यासेट रातारात विक्रि भयो जसले बजारको माग धान्न पनि गाहे भयो । रत्नपार्कमा उनको ठूलो पोष्टर टाँसेर ‘हरिदेवी कोइरालाको गीती एल्बम यहाँ पाइन्छ’ भनेर होर्डिङ बोर्ड नै राखिएको थियो त्यतिबेला।

‘घरको मालिक परदेशमा गएको
धेरै भयो केही खबर नपाको
पाइनँ खबर, घर फर्की आउनुहोस्
मेरो हजुर।

कामको सिलसिलामा विदेशिएका श्रीमान्को महिनौँसम्म खबर नपाएपछि श्रीमतीको मनमा छाउने बेचैनी र पीडा यसमा समेटिएको छ । ‘घरतिर मलायाका लाहुरे, हङकङका लाहुरे थुप्रै देख्थें । भर्खर बिहे भएका श्रीमान लाहुर जाँदा श्रीमतिको मनोदशा नजिकबाट नियाल्न पाएँ’, उनी भन्छिन्, ‘महिलाले मानसिक रुपमा खेप्नुपरेको पीडालाई देखें र लेखेँ।’  

लमजुङमा छँदा आफ्नो सम्मानमा भएको कार्यक्रममा उनले यही गीत गाइन् जहाँ सबैका आँखा रसाए । सबै भावविभोर बने । त्यो देखेर उनी आफैं पनि निःशब्द भइन् । दिदी बहिनीहरुले त्यहाँ उनलाईं रुपैयाँ उनेर माला लगाइदिए।

‘मेरो जीवनको सबैभन्दा विशेष दिन थियो त्यो, ती लमजुङेहरुका भिजेका आँखाले मलाई प्रेरणा दिनुभयो, ती आमाहरुलाई कहिले बिर्सन्न।’

अफवाहको कुहिरो
‘पाइनँ खबर’ गीतले सकरात्मक चर्चा बटुल्यो तर त्यससंगै उनका बारेमा धेरैथरिका अफवाह फैलन थाले । धेरैले थरिथरिका अड्कलबाजी गर्न थाले । कसैले यो गीत हरिदेवीको वास्तविक घटना हो भने । कसैले हरिरदेवीले जस्तो दुःख कसैले नपाओस् भने । ‘कोही त झन् मेरो श्रीमान्लाई नचिनेर उहाँलाई नै उल्टो हरिदेवीको श्रीमान् र म एउटै पल्टनमा थियौं भन्न समेत भ्याएछन्’, उनी सम्झिन्छिन्, ‘एकातिर गीतबाट राम्रो चर्चा पाएकोमा खुसी लागेको थियो भने अर्कातिर दिनदिनै नयाँ नयाँ अफवाह फैलिँदा दुःख पनि लाग्थ्यो।’   

कति आफन्तले समेत कुरा बुझिदिएनन् । ‘आफन्तहरुले नै यस्तो गीत किन गाउनुपरेको, हाम्रो इज्जत फाल्यौ, घरबार बिगा¥यौ समेत भने । हामी बुढाबुढीको सम्बन्ध बिग्रिएको छ भनेर सम्झाउन पनि आउँथे’, उनले सुनाइन् । यस्तो समयमा उनलाई श्रीमान्को साथ मिलिरह्यो । त्यसबाट झन् संगीतमा निरन्तर लाग्न प्रेरणा मिल्यो।

तीजे गीतको विकृति
हरिदेवी लोकगायन, संगीत, साहित्य र सामाजिक सेवामा समर्पित छिन् । उनले गाउने हरेक गीतमा मानवीय संवेदनाका भाव हुन्छ । उनले लेखेका र गाएका ८ सय भन्दा बढी गीत छन् । उनका कविता संग्रह, बाल गीति कविता, तीज गीत संग्रह गरि ८ किताब प्रकाशित छन्।

कुर्नै समय तीजे गीतमा उनको एकछत्र राज थियो । उनका माइती, मेरो मुग्लान, चेलीको आवाज, आमाको चिठी, भेटौंला तीजमा लगायत थुप्रै गीत आए । पुराना गीतलाई नयाँ पुस्तासंग जोड्न र बचाइराख्न पुराना गीतलाई उनले नयाँ एल्बममा समावेश गरि बजारमा ल्याउने गरेकी छन्।

वर्षभरि मनमा गुम्सेका पीडालाई माइतीको आँगनमा बसेर बाआमा, दाजुभाइका अगाडि गीतका माध्यमबाट वेदना पोख्नु तीज गीतको मौलिकता हो । समयको परिवर्तनसँगै गीत संगीतमा सामाजिक तथा सांस्कृतिक मौलिकता हराउँदै गएकामा भने उनी चिन्तित छिन् । माइती, चेली, माइती घरसंगको प्रेम, दाजुभाई दिदीबहिनी, बाआमासँगका जमघट र गुनासा सुन्ने, वेदना पोख्ने जस्तो महत्व तीजगीतले बोकेको हुन्छ । अहिलेका गीतले यी कुरालाई सम्बोधन गर्न नसकेकाले तीजका गीतमा विकृति भित्रिएको उनको बुझाई छ।  

‘हाम्रोमा अहिले सेन्सरसिप भन्ने नै भएन, जसले जे लेखिदिए पनि भयो, गाए पनि भयो, रोक्ने कोही पनि भएन, जसले गर्दा नै विकृतिहरु भित्रिएका हुन्’, उनी भन्छिन्, ‘सञ्चारमाध्यमले पनि आएका सबै गीत बजाउने/देखाउने गरेका कारण पनि यस्तो हुन पुगेको हो।’

उनी सोध्छिन्, ‘दशैंको मालश्री धुन तीजमा बजाएर हुन्छ र ? तिहारको देउसी भैलो दशैमा गाएर हुन्छ? तीजगीत मायाप्रितिको गीत होइन, तीज गीतको एउटा आफ्नै मर्म छ, त्यसलाई नबुझि तीजगीतलाई बाह्रमासे गाएर हुँदैन।’  

तीजको नाममा रत्यौलीका गीत, मायाप्रितिका गीत गाउने र आधुनिकताको नाम दिएर मौलिकपन मेटाउने प्रयास भएको छ । उनलाई एउटै चिन्ता छ, ‘यस्तै भइरहने हो भने तीजको मौलिकपन त गुम्छ नै भावी पिंढीले तीजको गीत भनेर अहिलेका रत्यौली र दोहोरीलाई मात्र चिन्नेछन्।’

प्रकाशित: २६ श्रावण २०७५ ०३:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App