१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

खुला क्याम्पबाट खेलाडी छानिँदै

पत्रकार सम्मेलनमा यु–१९ टोलीका प्रशिक्षक विनोद दास । तस्बिर सौजन्यः एनएसजेएफ

काठमाडौं –  यु १९ राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक विनोद दासले भारत भ्रमण र बंगलादेशमा हुने एसिया कपका लागि टोली तयार गर्न सोमबारबाट तीनदिने खुला छनोट क्याम्पको आयोजना गरिने बताएका छन्।

दासले क्रिकेट संघ नभएको र उमेरसमूहका क्षेत्रीय प्रतियोगिताहरू पनि नभएकाले साउन २८, २९ र ३० गते इन्डोर खुला छनोट क्याम्पको आयोजना गरिन लागेको बताए । दासले वर्षाका कारण छनोट प्रतियोगिता गराउन समेत असम्भव भएकाले रातोपुलस्थित भेलोसिटी एरेनामा छनोट क्याम्पको आयोजना गरिएको बताए।

‘नेपाल  क्रिकेट संघ (क्यान) निलम्बनमा छ र हामीले राष्ट्रिय टोली र कुनै पनि उमेरसमूहको छनोटका लागि गरिने छनोट प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र एसियाली क्रिकेट परिषद् (एसिसी) बाट अनुमति लिनुपर्छ,’ दासले भने, ‘त्यसका लागि लामो प्रक्रिया लाग्छ । त्यसैले मैले मेरो व्यक्तिगत सक्रियतामा खुला छनोट क्याम्पको आयोजन गर्न लागेको हुँ।’

‘यस्ता खाले कार्यक्रमले प्रतिभा भएर पनि कुनै पनि उमेरसमूहमा छनोट हुन नसकेका युवा खेलाडीलाई राष्ट्रिय टोलीको ढोका खोल्नेछ,’ दासले थपे । उनले छनोट चरणमा १९९९ सेप्टेम्बर १ पछि जन्मिएका खेलाडीले मात्र सहभागिता जनाउन पाउने बताए।

‘मैले मेरो व्यक्तिगत सक्रियतामा खुला छनोट क्याम्पको आयोजन गर्न लागेको हुँ।’

दासले तीन दिनको छनोट क्याम्पबाट कम्तीमा ९ खेलाडीलाई छनोट गरिने बताए । त्यस्तै यु–१६ टोलीका १४, ७ प्रदेशमध्ये सबै प्रवेशबाट समान ३ गरी २१ छनोट गरी कुल ४४ खेलाडीलाई यु–१९ टोलीको बन्द प्रशिक्षणमा राखिनेछ।
‘पहिलो चरणबाट छनोट भएका ४४ खेलाडीलाई दोस्रो चरणको प्रशिक्षणमा सहभागी गराइनेछ,’ दासले भने, त्यसमध्ये १२ खेलाडी र गत वर्ष यु १९ एसिया कप खेलिसकेका ९ खेलाडी गरी १९ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिनेछ।’

दासले यु १९ टोलीमा रहेका दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहितकुमार पौडेलले राष्ट्रिय टोलीमा समेत गतिलो प्रभाव छोडिसकेकाले भने उनीहरूलाई भारतमा हुने एकदिवसीय शृंखला र एसिया कपको टोलीमा समावेश नगरिने स्पष्ट पारे।

‘युवा खेलाडीलाई अवसर दिनका लागि यो छनोट क्याम्पको आयोजना गरिएको हो,’ दासले भने, ‘दीपेन्द्र, सन्दीप र रोहितले आफूलाई सिनियर टोलीमा प्रमाणित गरिरहेका छन् । त्यसैले म अन्य युवा खेलाडीले अवसर पाएको हेर्न चाहन्छु । हामीले गत वर्ष एसिया कपको अन्तिम ४ सम्मको यात्रा तय गरेकाले एसिया कपमा हामी छनोट भइसकेका छौं । विश्वकप छनोट खेलमा आवश्यक परेमा भने उनीहरूलाई टोलीमा समावेश गर्न सकिनेछ।’

नेपालले सेम्टेम्बर १९ र २० मा कोलकातामा भारतको यु १९, अफगानिस्तानको यु–१९ र नेसनल क्रिकेट एकेडेमी इन्डिया (एनसिए) को यु–१९ टोली  सम्मिलित एकदिवसीय शृंखला खेल्दै छ।

त्यस्तै नेपालले अक्टोबरमा बंगलादेशमा हुने यु–१९ एसिया कप पनि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा नेपाल र आयोजक बंगलदेशसहित पाकिस्तान, भारत, श्रीलंका, अफगानिस्तान, हङकङ र युएई गरी ८ टोलीको सहभागिता रहनेछ।

प्रकाशित: २५ श्रावण २०७५ ०३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App