१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

सपनाको सहादत

हाम्रा राजनीतिक व्यक्ति र कर्मचारीहरू ढोका बन्द गर्न सिपालु छन् । गत वर्ष मात्रै करिब ७० हजार मेधावी व्यक्तिले ‘नो अब्जेक्सन’ पत्र लिएको र थप २० हजारभन्दा बढी भारतमा अध्ययनका निम्ति गएको स्थितिबारे थप आश्चर्य मान्नु पर्दैन। यसबारे किन आश्चर्यमा पर्नु? जब कि मेरो उमेरका व्यक्तिसमेत ज्ञान, अनुभव, प्रतिबद्धता र समर्पणका कारण आफ्नो देश छाडेर विदेश गइरहेका छौं।

यो आलेखमार्फत म हाम्रा प्रधानमन्त्री, मन्त्रीहरू, राजनीतिक नेता, कर्मचारीहरूसँग हाम्रा उद्यमशील युवाका साथै मजस्ता व्यक्तिका लागि ‘ढोका खोल्न’ आग्रह गर्छु। यसो भए हामी हाम्रो देशमै रहेर सेवा गर्न सक्ने थियौं। कृपया हामीलाई के गर्न सकिँदैन होइन, के गर्न सकिन्छ बताउनुहोला । यसका लागि ढोका बन्द गर्नु र हाम्रो देशमा बस्न सकिँदैन, हाम्रा सपना पूरा गर्न सकिँदैन र हाम्रो मुलुकलाई उन्नत बनाउन हाम्रो विशेषज्ञता प्रयोग गर्न सकिँदैन भन्नु भन्दा यसलाई उपयोग गर्ने छिटो प्रक्रिया बताउनुहोला।

देशबाट भइरहेको व्यापक ‘ब्रेन ड्रेन’ का कारण उत्पन्न क्षति मुलुकको मूल्यवान् पानी बगेर भारत र समुद्रमा पुगेभन्दा बढी हो। त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले दलका नेताहरूसँगैको अन्तरक्रियामा बताएजस्तै हामीलाई ‘भिजनरी’ नेताको आवश्यकता छ जसले मुलुकको स्वार्थलाई परिवार, साथी र दलको स्वार्थभन्दा माथि राख्न सकोस्, जसरी पनि अर्को निर्वाचन जित्ने लोकरिझ्याइँमा लिप्त लोकप्रिय नेता हामीलाई चाहिएको होइन। म र धेरै देशभक्त भिजनरी नेता चाहन्छौं, जसले देशका निम्ति अत्यावश्यक भिजनरी र दीर्घकालीन नीति लागू गराउन सकोस्। प्रधानमन्त्री केपी शर्मा ओलीले चाहे र आफूलाई घेरिरहेका निहित स्वार्थलाई जित्न सके भने यसलाई हासिल गर्न सक्छन्। उनका निम्ति ‘स्टेट्सम्यान’ बन्ने यो सुनौलो अवसर हो।

म नेपालमा ख्यातिप्राप्त र सम्मानित निजी सगरमाथा विश्वविद्यालय निर्माण गर्ने सपना नेपालमै छाडेर हिँडेको छु ! मैले आफैंसँग धेरैपटक सोधें– के मेरो सपना सपना नै रहनेछ? के म मेरो सपनालाई चितामा सँगै लिएर जल्नेछु ? मैले १८ वर्षभन्दा बढी समय विदेशमा बिताएपछि तीन वर्ष विभिन्न ढोका चहारेर असफल भएँ। त्यसकारण मेरो देश छाडेर कम्बोडियामा एसियाली विकास बैंकको लगानी रहेको उच्च माध्यमिक शिक्षा परियोजनाको टिम लिडरको जिम्मेवारी लिन हिँडेपछिको पहिलो दिन यो सन्देश लेखिरहेको छु।

कम्बोडिया मेरो दोस्रो घर हो, जहाँ मैले १८ वर्षभन्दा बढी समयमा ६ वटा शिक्षा/प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (टिभिइटी) परियोजनाको टिम लिडरका रूपमा बिताएँ । कम्बोडिया सरकारले मेरो योगदानको कदर गर्दै दुईवटा ख्यातिप्राप्त तक्मा दियो र पुनः स्वागत ग-यो। तीन वर्षसम्म स्वदेशमा सपना सजाएको म फेरि कम्बोडिया फर्केको छु!

हाम्रा नेताले हामीलाई नेपाल फर्कन उत्साहप्रद वातावरण प्रदान गर्नुपर्छ। अन्यथा भविष्यमा थप युवा विदेशमा अध्ययन गर्न र मजस्ता व्यक्ति कामका लागि विदेश गइरहन बाध्य हुनेछन्।

मेरो यो आलेख धेरै परिवार सदस्य, नातेदार, साथीहरूलाई सेयर गर्नुहोला। त्यसो भयो भने यो सन्देश प्रधानमन्त्री, सबै मन्त्रीहरू, सबै दलका नेताहरू र सबै वरिष्ठ कर्मचारीकहाँ पुग्नेछ। नेपाललाई साँच्चै विकसित र समृद्ध देश बनाउने हो भने उनीहरूले यो गम्भीर ‘ब्रेन ड्रेन’ को मुद्दालाई सम्बोधन गर्न सक्नेछन्।

(त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानका पूर्वडिन माथेले नेपालबाट क्याम्बोडिया प्रस्थान गर्नुअघि लेखेको फेसबुक पोस्ट भाइरल भएको छ। यसै प्रसंगमा नागरिकले उनीसँग गरेको वार्ता :)

‘शिक्षामा राजनीति बन्द हुनुपर्छ’

नेपालमा निजी विश्वविद्यालयको अवधारणा अघि बढाउन तपाईंलाई कति समय लागेको थियो?
१२ वर्षसम्म अध्ययनअध्यापन गरेपछि मैले पुल्चोक इन्जिनियरिङ क्याम्पस प्रमुखको चुनौतीपूर्ण जिम्मेवारी लिएको थिएँ। त्यसअघि मैले सन् १९८८ देखि १९९१ सम्म सेन्ट जेभियर कलेजको संस्थापक प्रिन्सिपलको उत्साहपूर्ण जिम्मेवारी लिएको थिएँ । सन् १९९२ देखि १९९५ सम्म मलाई त्रिवि इन्स्टिच्युट अफ इन्जिनियरिङको डिन बन्ने सौभाग्य प्राप्त भयो। सन् १९९७ मा संस्थापक अध्यक्षका रूपमा म र सेन्ट जेभियर एकाडेमीका मन मिल्ने साथीहरू मिलेर नेपाल एजुकेसन फाउन्डेसनअन्तर्गत विश्वविद्यालय स्थापनाको तयारी ग-यौं। आर्थिक कारणले मलाई १२ महिनाका निम्ति कम्बोडियामा परामर्शदाता भएर काम गर्नुपर्ने बाध्यता आइलाग्यो। त्यो १२ माहिना १८ वर्षसम्म लम्बियो। सन् २०१० देखि मन मिल्ने साथीहरूको एउटा समूहले निजी विश्वविद्यालय स्थापनाका लागि काम थाल्यो। त्यसको नाम हामीले सगरमाथा विश्वविद्यालय प्रस्ताव ग¥यौं । हामीले करिब पाँच वर्षअघि निवेदन दियौं। म सन् २०१५ मा नेपाल फर्केपछि हामीले यो अवधारणा अघि बढाउनुका साथै सार्वजनिक–निजी साझेदारी अवधारणामा नयाँ शैंक्षिक कार्यक्रम अघि बढाउन चाह्यौं। मैले यसका लागि तीन वर्ष खर्च गरे पनि कुनै उपलब्धि भएन। मैले कति ढोका चाहारें, त्यसको कुनै गिन्ती छैन।

निजी विश्वविद्यालयको अवधारणा कार्यान्वयन गर्न मुख्य चुनौती के रहेछन्?
मुख्य अवरोध दृष्टिदोष र नियन्त्रणात्मक वातावरण हो, जसका कारण ‘हुन्छ’ भन्नु भन्दा ‘हुन्न’ भन्नु सजिलो रहेछ। शिक्षाको परिभाषाअनुसार जागरण र प्रोत्साहन हुनुपर्ने हो तर नेपालमा शिक्षा नीति स्वतन्त्र विचार र स्वस्थ बहस रोक्ने उद्देश्यले तय गरिएका छन्। हामी सिर्जनशील कार्यक्रम प्रदान गर्न चाहन्छौं जसका कारण उत्तम र मेधावी व्यक्ति नेपालमा रहन सक्छन्। तर, विश्वविद्यालय राजनीतिक रूपमा ध्वस्त भएका कारण शिक्षामा सुधार र मुलुकको उन्नयनका निम्ति कोही पनि तयार छैनन्। हाम्रा राजनीतिक नेता, नीति निर्माता र शिक्षाविद्ले मूल्यवान् मानव पुँजीको पीडामाथि ध्यान दिएका छैनन्। शिक्षा राजनीतिक हस्तक्षेपबाट स्वतन्त्र हुनुपर्छ। राजनीतिक नियुक्ति बन्द हुनुपर्छ। नियुक्ति क्षमताका आधारमा पारदर्शी र कडा छनोटका आधारमा हुनुपर्छ।

तपाईंको भाबी योजना के छ?
सगरमाथा विश्वविद्यालय स्थापना गर्ने मेरो सपना अझै जीवित छ। सेन्ट जेभियर कलेज र जेभियर एकाडेमी स्थापनापछि म आफूलाई संस्था निर्माताका रूपमा मान्छु। मैले नेपालमा मात्र होइन, दक्षिणपूर्वी एसिया र पूर्वी अफ्रिकी मुलुकमा पनि शिक्षाको विकासमा पनि योगदान गरेको छु। विगत ४४ वर्षभन्दा बढी अवधिमा मैले १० हजारभन्दा बढी विद्यार्थीलाई पढाएको छु, उनीहरूसँग सम्पर्क गरेको छु। धेरै साथी र शुभेच्छुकले मुलुकमा उत्कृष्ट र रचनात्मक शिक्षा कार्यक्रमका निम्ति मलाई सघाउनेछन्।

तपाईंको सगरमाथा विश्वविद्यालयको अवधारणा अन्त्य भयो?
म सगरमाथा विश्वविद्यालय स्थापनाका लागि निरन्तर क्रियाशील हुन्छु, जुन यस क्षेत्रका अन्य विश्वविद्यालयभन्दा कम्ती हुने छैन। मलाई विश्वास छ, यो एक दिन सम्पन्न हुनेछ। त्यसकारण मैले कम्बोडियाको लामो जिम्मेवारी लिएको छैन, जहाँ मेरो व्यावसायिक सेवा खोजिएको छ। म र मजस्तै अरूका निम्ति ढोका बन्द हुने छैन भन्ने विश्वासमा म नेपाल आइरहनेछु।

प्रकाशित: २५ श्रावण २०७५ ०३:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App