१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अधिकार कटौतीप्रति आदिवासीको आक्रोश

विश्व आदिवासी दिवसका अवसरमा काठमाडौंमा निकालिएको र्‍याली। तस्बिर : नागरिक

मकवानपुर - नयाँ संविधानसहित देश संघीय संरचनामा गए पनि जनजातिको हक अधिकार वृद्धि हुनुपर्नेमा कटौती भएको भन्दै आदिवासी अगुवाले तीव्र आक्रोश पोखेका छन्। जनजातिकै उल्लेख्य सहभागितामा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याइए पनि प्रदेशको नामसमेत नराखिएको उनीहरूको गुनासो छ।

२४ औँ विश्व आदिवासी दिवसका अवसरमा मकवानपुरमा आयोजित कार्यक्रमका वक्ताहरूले संघीय र प्रदेश सरकारलाई ध्यानाकर्षणसमेत गराए। हेटौंडामा आदिवासी जनजातिका साँस्कृतिक झाँकीसहित -याली गर्दै सांस्कृतिक समारोह गरी दिवस मनाइएको हो।

कार्यक्रममा सामाजिक विकासमन्त्री युवराज दुलालले आदिवासीको उचित मागको सम्बोधन गर्न सरकार तयार रहेकोमा जोड दिदै जाति भन्दा वर्ग ठूलो भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए। नेपाल आदिवासी जनजाति महासंघका प्रदेश ३ (नेवाःताम्सालिङ)को आयोजना तथा आदिवासी जनजाती महासंघ मकवानपुरको व्यबस्थापनमा बिहीबार हेटौंडामा कार्यक्रम भएको हो। कार्यक्रम आदिवासी जनजाति महासंघका प्रदेश ३ का संयोजक काजीमान थिङको अध्यक्षतामा भएको थियो। कार्यक्रममा प्रदेश सांसद कुमारी मोक्तान, ओम घलान, सन्त चेपाङको उपस्थिति रहेको थियो।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, हेटौंडा उपमहानगरपालिका १५ का वडा अध्यक्ष ललित घलान, आदिवासी जनजाती महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष बुद्ध लामा, नेपाल मगर युवा संघका केन्द्रीय अध्यक्ष अशोक सारु मगर, किराँत राई यायोख्याका केबी राईलगायतले आदिवासीको हक अधिकार, संस्कृति, मुद्दा र सामाजिक अवस्थाबारे बोलेका थिए।

हेटौंडाको पल्पसा सभागृहबाट शुरु भएको जातीय भेषभूषामा झाँकीसहितको ¥याली बुद्धचोक पुगी पुनः पल्पसामा पुगेर सभामा परिणत भएको आदिवासी जनजाती महासंघ मकवानपुरका सहसचिब जंगबहादुर गुरुङ्गले जानकारी दिए । कार्यक्रममा तामाङ, मगर, राई, माझी, गुरुङ, नेवार, चेपाङ, थाङ, भुजेल, कुमाल, बोटेलगायत जातीय संघसंस्थाले व्यानरसहित सहभागिता जनाएका थिए।

‘अधिकार, प्रतिनिधित्व र स्वायत्तता/स्वशासनका लागि आदिवासी जनजातिको अडान, मानव पहिचानसहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान’ भन्ने नारासहित आयोजित दिवसमा मगर, थारु, तामाङ जातीय नृत्य पनि प्रस्तुत गरिएको थियो।

विश्वका आदिवासी जनजातिले सन् १९९३ देखि अगस्ट ९ तारिखका दिन विश्व आदिवासी दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै आएका छन्। नेपालमा पनि नेपाल आदिवासी जनजाति महासंघ र महासंघसँग आबद्ध विभिन्न जातीय संघसंस्थाहरुले आदिवासी जनजातिको पहिचानको अधिकार स्थापित गर्ने आन्दोलनको रूपमा विश्व आदिवासी दिवस मनाउँदै आइरहेको छ। संयुक्त राष्ट्रसंघले विश्व आदिवासी दिवसको यसवर्षको नारा ‘आदिवासी जनजातिको बसाँइसराई र स्थानान्तरण’ तय गरेको छ।

प्रकाशित: २५ श्रावण २०७५ ०१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App