१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मरिच अायात अस्वाभाविक

गत जेठ २१ गते दसगजा नजिकबाट बरामद अवैध मरिच बोकेको ट्रक ।फाइल तस्बिर : रितेश/नागरिक

वीरगन्ज - गत आर्थिक वर्ष वीरगन्ज नाकामार्फत मरिच आयातमा देखिएको अस्वाभाविक बढोत्तरीले भारततिर अवैध निर्यात भएको आशंका बढाएको छ।

वीरगन्ज भन्सार र सुक्खा बन्दरगाह भन्सारको तथ्यांक हेर्दा गत आवको आयात अघिल्लो वर्षको तुलनामा साढे ६ सयभन्दा बढी प्रतिशत छ । मुलुकमा यति धेरै मात्रामा मरिच खपत गर्ने नयाँ उद्योग नखुलेको अवस्थामा आयातमा भएको उच्च वृद्धिपछि भारतमा तस्करी भइरहेको आशंका गरिएको हो । मुलुकको आयात बर्सेनि करिव २० प्रतिशतले बढ्नु अस्वाभाविक मानिदैन । गत वर्ष मुलुकको समग्र आयात पनि साढे २७ प्रतिशतले बढेको छ । मरिच आयात भने साढे ६ सय प्रतिशतले बढेकाले आशंका उब्जिएको हो।

दुई भन्सारका अनुसार आर्थिक वर्ष ०७४-७५ मा एक करोड २२ लाख ६४ हजार दुई सय ५३ किलो मरिच आयात भएको छ । अघिल्लो आव ०७३÷७४ मा १८ लाख ६७ हजार चार सय किलो मात्र मरिच आएको थियो । अघिल्लो वर्षसँग गत वर्षको आयातको तुलना गर्दा ६ सय ५६ प्रतिशतले बढेको देखिन्छ । भन्सार अधिकारीका अनुसार सरकारले सामान्यतया २० प्रतिशतसम्मको आयात वृद्धि अनुमान गर्छ र त्यसै अनुपातमा राजस्वको लक्ष्य निर्धारण गर्छ । ती अधिकारीले गत वर्ष मरिच आयातमा देखिएको वृद्धिलाई ‘अपत्यारिलो’ भने।

वीरगन्ज भन्सारका प्रमुख सेवन्तक पोखरेलले आयात हुने बेला मात्र आफूहरुको भूमिका भएको बताउँदै निर्यातमा धेरै चासो नदिने बताए । पोखरेलले पनि साढे ६ सय प्रतिशतको वृद्धिलाई ‘धेरै’ भने ।विदेशबाट मरिच आयात गरी भारत पठाउने अवैध कारोबार तीन वर्षयता बढेको हो । विगतमा सुपारीको अवैध निकासी धन्दामा लागेकाहरु निरन्तर समाचार प्रकाशमा आएपछि रोकिए । अहिले तिनै व्यापारी मरिचतिर लागेका हुन्।

भारतीय बजारमा मरिचको मूल्य उच्च भएकाले यसको चोरी निकासी बढेको हो । नेपालमा आयात गर्दाको मरिचको भाउ र भारतीय बजार मूल्य प्रतिकिलो करिब तीन सय रुपैयाँ फरक छ । यही मूल्य अन्तरका कारण व्यापारीहरु यो धन्दामा लागेका हुन् । गत आर्थिक वर्षको १२ हजार दुई सय ६४ टन मरिच भारत निकासी गर्दा व्यवसायीलाई तीन अर्ब ६७ करोड रुपैयाँ फाइदा भएको देखिन्छ ।चोरी निकासी भएको मरिचको भुक्तानी भारतीय मुद्रामा हुने भएकाले यसको सटहीबाट पनि व्यवसायीलाई नाफा हुन्छ । सीमा क्षेत्रमा सरकारले तोकेको दरभन्दा भारु नोट प्रति सय पाँच रुपैयाँसम्म बढी लिएर साट्न सकिने रक्सोलका व्यवसायी दिपक रौनियार बताउँछन्।

औद्योगिक र घरायसी दुवै प्रयोजन गरेर नेपालमा पाँच सयदेखि हजार टनसम्म मरिच खपत हुने जानकार बताउँछन् । यस हिसाबले अहिले आयात भएको मरिच मुलुकको मागभन्दा दसौं गुणा बढी हो । भारतले विदेशी मरिच आयात गर्ने अनुमति दिएको छैन । स्थानीय मागको तुलनामा आपूर्ति कम भएपछि अन्तर्राष्ट्रिय बजारमा मरिचको भाउ खस्केका बेला भारतमा उच्च हुन्छ।

व्यवसायीहरु विदेशबाट मरिच आयात गरी भारत निर्यात गर्ने केही व्यवसायीको खेलोका कारण आयात बढेको बताउँछन् । प्रहरीले सक्रियता देखाएको बेला पाँच किलोको पोकादेखि १२ हजार किलो मरिच बोक्ने ट्रकसम्म फेला परेका घटना छन् । गत जेठ २१ गते विभिन्न सुरक्षा एकाइ, वीरगन्ज भन्सार कार्यालय र त्यहाँस्थित सशस्त्र प्रहरी बलको भन्सार राजस्व सुरक्षा गुल्मको सुरक्षा घेरा नाघेर दसगजा पुगेको एउटा ट्रक मरिचसहित बरामद भयो । युपी ७८ बिटी ३८०४ नम्बरको भारतीय ट्रकमा राखेर मूल नाका हुँदै १२ हजार दुई सय किलो मरिच भारत निकासी हुन लागेको थियो।

नेपाल र भारतका सबै निकायसँग सेटिङ मिलाएकाले मूल नाका भएरै भारी परिमाणमा मरिच लैजाने आँट तस्करले गरेको ती व्यापारी बताउँछन् । राजस्व अनुसन्धान विभागको पथलैयास्थित मध्य क्षेत्रीय कार्यालयले यसको अनुसन्धान गर्दैछ ।

भन्सारको ‘ग्रिन च्यानल’ प्रयोग गरी कागजमा छाला देखाइ वीरगन्ज भन्सारबाट मरिच निकासा भएको थियो ।छाला निकासीको आवरणमा मरिच चोरी निकासी गरेको आरोपमा ग्लोबल लेदर टेनिङ इन्डस्ट्रिजका सञ्चालक सन्जय अग्रवाल, भन्सार एजेन्ट प्रतिनिधि दिलीप श्रीवास्तव र ट्रकचालक भारतीय नागरिक धर्मेन्द्र कुमार हिरासतमा छन् । मरिच तस्करीका दर्जनौं घटनामा प्रहरीले विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिए पनि अनुसन्धान गर्ने निकायले मुख्य कारोबारीलाई अनुसन्धानको दायरामा ल्याउन सकेको छैन ।

 

प्रकाशित: २४ श्रावण २०७५ ०२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App