१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अटोरिक्सा टेम्पोको आयात ७४ प्रतिशतले बढ्यो

वीरगन्जको एउटा सोरुमअगाडि बिक्रीका लागि राखिएको अटोरिक्सा टेम्पो ।तस्बिर : रितेश/नागरिक

वीरगन्ज - आर्थिक वर्ष ०७४- ७५ मा वीरगन्ज भन्सारको बाटो अटोरिक्सा (तीनपांग्रे टेम्पो) को आयात ७४ प्रतिशतले बढेको छ । सार्वजनिक यातायातका साना साधनको रुपमा यसको प्रयोग बढ्न थालेपछि आयात बढेको हो । पछिल्लो समय गाउँगाउँसम्म पुग्ने बाटो खुलेसँगै अटोरिक्सा टेम्पोको माग बढेको छ।

वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार गत आवमा आठ हजार ६ सय ८२ वटा अटोरिक्सा टेम्पो भित्रिएका छन् । त्यसअघिको आव (०७३-७४) मा चार हजार नौसय ८९ अटोरिक्सा टेम्पो भित्रिएको थियो । गाउँगाउँसम्म सेवाग्राही बढेसँगै यसलाई सार्वजनिक यातायातको रुपमा चलाएर स्वरोजगार बन्ने क्रम पनि बढेको छ । यसले पनि अटोरिक्सा टेम्पोको आयात उच्च भएको हो।

वीरगन्ज नाका भएर भित्रिएका अटोरिक्सा टेम्पो तराईका जिल्लादेखि पहाडी सहर बजारसम्म जाने गरेका छन् । ‘अहिले टेम्पो आयातमा भारी वृद्धि देखिएको हो,’ वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सेवन्तक पोखरेलले भने, ‘टेम्पोको मूल्यमा ३० प्रतिशत भन्सार महसुल, ५५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर गरी ९८ प्रतिशत राजस्व प्राप्त भएको छ ।’ बजारमा टेम्पोको माग बढेकाले आयात बढेको उनको ठम्याइ छ।

सार्वजनिक यातायातका लागि साना सवारीको रुपमा अटोरिक्सा टेम्पोको प्रयोग बढ्न थालेपछि आयात वृद्धि भएको हो ।

गत आवमा अटोरिक्सा टेम्पो आयातबाट वीरगन्ज भन्सार कार्यालयले एक अर्ब ६० करोड दुई लाख रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सारमा आयातकर्ताद्वारा घोषित मूल्यअनुसार उक्त संख्यामा अटोरिक्सा टेम्पो आयात हुँदा एक अर्ब २८ करोड ८४ लाख २८ हजार रुपैयाँ नेपाली मुद्रा बिदेसिएको देखिन्छ।

सर्वसाधारणको उपयोगिताको वस्तु अटोरिक्सा टेम्पोको आयात बढेको घटनाले विभिन्न इलाकामा यातायात सञ्चालन बढेको संकेत गर्छ ।आयात गर्दा घोषित मूल्य र त्यसमा लागेको भन्सार महसुल जोड्दा प्रतिटेम्पो मूल्य करिब तीन लाख रुपैयाँँ पर्न जान्छ । आयातकर्ताले वितरकको सोरुमसम्म पुर्याउँदा यसको मूल्य एउटाको साढे तीन लाख रुपैयाँ पुग्छ । बजारमा अहिले चार लाखदेखि साढे पाँच लाख रुपैयाँसम्मका टेम्पो छन् । सडकमा अहिले भारतका आधा दर्जन बेग्लाबेग्लै ब्रान्डका टेम्पोको संख्या बाक्लिँदै गएको छ ।


 

प्रकाशित: २४ श्रावण २०७५ ०१:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App