१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पोग्बालाई राखेर टिम बनाउन सुझाव

लन्डन – म्यानचेस्टर युनाइटेडका पूर्वरक्षक रियो फर्डिनान्डले मिडफिल्डर पाउल पोग्बालाई समावेश गर्दै टोली बनाउन सुझाव दिएका छन्। 

स्पेनिस क्लब बार्सिलोनाले युनाइटेडका मिडफिल्डर पोग्बालाई भित्र्याउन प्रयास गरिरहेको हल्ला चलिरहेका बेला पूर्वरक्षक फर्डिनान्डले २५ वर्षे पोग्बालाई खेलाएर टिम मजबुत बनाउन क्लबका उपाध्यक्ष एड उडवार्डलाई सुझाव दिएका हुन्।

प्रशिक्षक जोजे माउरिन्होले सरुवा बजार खुल्नुअघि नै खेलाडी किनबेचमा विशेष ध्यान नपुर्याए क्लबलाई गाह्रो हुने बताएका थिए । खेलाडी सरुवा बजार यही बिहीबार राति समाप्त हुँदै छ।

क्लबका लागि ४ सय ५० भन्दा बढी खेल खेलेका पूर्वरक्षक फर्डिनान्डले पोग्बा क्लबमै रहेको र टोटेनह्यामका रक्षक टोबी अल्डरवार्यल्ड भित्रिएको हेर्ने चाहना रहेको बताए।

पोग्बाका एजेन्ट मिनो राइओलाले पोग्बाको नयाँ गन्तव्य क्याम्प नोउ हुन सक्ने बताएका थिए । तर यही विषयलाई लिएर पूर्वरक्षक फर्डिनान्डले पोग्बाको घर युनाइटेड नै भएको र अनावश्यक हल्ला नफैलाउन आग्रह गरेका छन्। 

युनाइटेडले शुक्रबार घरेलु मैदानमा लेस्टरलाई आतिथ्यता प्रदान गर्दै प्रिमियर लिगको सुरुआत गर्दै छ । यसअघि आइतबार प्रशिक्षक जोजे माउरिन्होले क्लबको गतिविधिलाई नियालिरहेको बताए । उनले भनेका छन्, ‘मेरो इच्छालाई क्लबका प्रमुख कार्यकारी अधिकृतले बुझ्छन्, पर्खिरहन अझै केही दिन बाँकी छ, हेरौं के हुन्छ।’

‘हामीसँगका प्रतिस्पर्धी टोलीहरूले उत्कृष्ट खेलाडीलाई टोलीमा भित्र्याउँदै उत्कृष्ट टोली बनाउन सफल भएका छन्। लिभरपुलजस्ता क्लबले ठूलो मात्रामा लगानी गर्दै सबै खेलाडी टोलीमा समावेश गरेको छ ’ माउरिन्होले थपे। 

ओल्ड ट्राफोर्डमा यसपालि भित्रिएका ब्राजिलियन मिडफिल्डर फ्रेड, युवा रक्षक डिएगो डालत र वैकल्पिक गोलकिपर ली ग्रान्ट मात्र हुन्। फ्रान्सका मुख्य खेलाडी पोग्बाको टोलीले गत महिना रूसमा सम्पन्न विश्वकपको फाइनलमा क्रोएसियालाई ४–२ पराजित गर्दै  उपाधि जितेको थियो। 

२०१२ देखि २०१६ सम्म इटालियन क्लब युभेन्ट्सबाट खेलेका पोग्बालाई माउरिन्होले २०१६ मा तत्कालीन कीर्तिमानी ८ करोड ९० लाख पाउन्डमा अनुबन्ध गरेका थिए। 

 

प्रकाशित: २३ श्रावण २०७५ ००:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App