१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

हाडारीले संन्यास लिने

कायरो – रूस विश्वकपमा सबैभन्दा पाका खेलाडीको रूपमा सहभागी भएका इजिप्टका गोलकिपर इसाम अल हाडारीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्।

इजिप्टका ४५ वर्षे इसामले मंगलबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन् । इजिप्टबाट रूसमा विश्वकप खेल्दै हाडारीले विश्वकप खेल्ने सबैभन्दा बढी उमेरका खेलाडीको कीर्तिमान बनाएका थिए। 

‘लामो समय फुटबलमा बिताएसँगै मैले फुटबलबाट विश्राम लिने सोच बनाएको छु,’ इसामले फेसबुकमा लेखेका छन् । ‘२२ वर्ष इजिप्टको राष्ट्रिय टोलीबाट खेलेँ । यो अवधि मेरा लागि निकै उत्कृष्ट बन्यो । अब नयाँ खेलाडीलाई पनि मौका दिनुपर्छ । त्यसैले मैले आफ्नो ग्लोभ्स थन्क्याउने निर्णय गरेको हुँ,’ हाडारीले संन्यासपछि भनेका छन्।

‘हाइ डाम’ को उपनामले चिनिने  हाडारीले इजिप्टबाट १ सय ५९ खेल खेलेका छन् । २२ वर्ष राष्ट्रिय टोलीबाट खेल्ने क्रममा हाडारीले चार पटक अफ्रिकन च्याम्पियनसिपको उपाधि उचालेका थिए ।  ४५ वर्ष १ सय ६१ दिनमा विश्वकपको खेल खेल्दै हाडारीले यसअघि कोलम्बियाका फ्रायड मन्ड्रागोन्सको कीर्तिमान भंग गरेका हुन्। 

विश्वकप फुटबल खेल्नु सबैभन्दा ठूलो सपना भएको र सपना पूरा भएसँगै अन्तत धेरै खुसी भएको हाडारीले बताए । रूसमा सम्पन्न विश्वकपमा हाडारीले समूहचरणको अन्तिम खेलमा साउदी अरेबियाविरुद्ध खेलेका थिए । उक्त खेलमा इजिप्ट २–१ ले विजयी हुँँदा इसामले एक पेनाल्टी बचाएका थिए।

यस्तै इजिप्टका स्ट्राइकर मोहम्मद सालाहले हाडारीलाई उज्ज्वल भविष्यको कामना गर्दै शुभकामना दिएका छन् । ‘स्वर्ण युगका प्रेरक खेलजीवनबाट टाढिएका छन्,’ सालाहले ट्विटरमा लेखेका छन् । राष्ट्रिय टोलीबाट संन्यास लिए पनि हाडारीले इजिप्टको शीर्ष क्लब आइसमेलीबाट भने खेलिरहेका छन्। 

 

प्रकाशित: २३ श्रावण २०७५ ००:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App