१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सारीले प्रयास गरेको खुलासा

रोम – एसी मिलानका अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिग्विनले शुक्रबार चेल्सीका नयाँ प्रशिक्षक माउरिसियो सारीले आफूलाई स्टाम्फोर्ड ब्रिजमा अनुबन्धित गर्न प्रयास गरेको खुलासा गरेका छन्।

हिग्विन बिहीबार इटालियन सिरी ‘ए’ विजेता युभेन्ट्सबाट एक वर्षका लागि लोनमा मिलानमा अनुबन्धित भएका थिए। हिग्विनले मिलानमा अनुबन्धित हुनुअघि प्रिमियर लिग क्लब चेल्सी जाने विषमा छलफल भएको बताएका हुन्। हिग्विनले नेपोलीमा सारीको प्रशिक्षणमा खेलेका थिए । सारी यसै सिजन एन्टोनियो कोन्टेको स्थानमा चेल्सीको प्रशिक्षण सम्हाल्न पुगेका थिए।

२०१५–१६ को सिजनमा नेपोली टोली सम्हालेका सारीको प्रशिक्षणमा ३० वर्षे हिग्विनले सिरी ‘ए’ मा ३६ गोल गर्दै कीर्तिमान बनाएका थिए । प्रशिक्षक सारीले अनुबन्धनका लागि प्रयत्न गरे पनि चेल्सीले खासै चासो नदिएको हिग्विनले बताए।

‘प्रशिक्षक सारीसँगको सम्बन्ध मेरा लागि नौलो होइन । सारी मलाई चेल्सीमा भित्र्याउन चाहन्थे तर क्लब व्यवस्थापनले भने यस विषयमा खासै चासो दिएन,’ मिलानमा अनुबन्धित भएपछि सार्वजनिक कार्यक्रममा हिग्विनले भने।

मिलानले ३० वर्षे हिग्विनलाई १ करोड ८० लाख युरो खर्चंदै एक सिजनका लागि लोनमा भिœयाएको हो । सम्झौताअनुसार क्लबले चाहेमा ३ करोड ६० लाख युरो थपेर मिलानले हिग्विनलाई थप एक सिजन आफूसँग राख्न पाउनेछ। 

इटालियन रक्षक बोनुची पुरानो क्लब युभेन्ट्स फर्किंदा एट्लान्टाबाट सरुवा भएर टुरिन आएका माटिया काल्डारा मिलान पुगेका छन् । मिलानले गत सिजन नयाँ खेलाडी भित्र्याउन २० करोड खर्च गरे पनि इटालियन सिरी ‘ए’ मा छैटौं स्थानमा रहँदै लिगको अन्त्य गरेको थियो।

अत्यन्तै कमजोर प्रदर्शनमा सीमित मिलान युरोपा लिगमा सीमित हुँदा युभेन्ट्स, नेपोली, रोमा र इन्टर मिलान भने च्याम्पियन्स लिगमा छानिएका थिए । हिग्विनले युरोपा लिगमा राम्रो प्रदर्शन गर्दै मिलानलाई उपाधि जिताउन चाहेको बातए । यसअघि मिलानले २०११ मा उपाधि लिगको जितेको थियो । मिलानले पछिल्लो पटक २०१३–१४ सिजनमा च्यााम्पियन्स लिग खेले पनि अन्तिम १६ बाट माथि बढ्न सकेको थिएन । त्यस्तै मिलान गत सिजन युरोपा लिगको अन्तिम १६ मा आर्सनलसँग पराजित भएको थियो। 

‘युरोपा लिग हाम्रा लागि एउटा लक्ष्य हो । जित निकै प्रभावशाली हुनेछ,’ हिग्विनले भने, ‘मिलानजस्तो टिमले उपाधि जितको लक्ष्य लिएर खेल्न आवश्यक छ।’

गत वर्ष आर्थिक अनुशासन मिचेको आरोपमा युइएफएले यो सिजनको युरोपा लिगमा मिलानमाथि प्रतिबन्ध लगाएको थियो । तर कोर्ट अफ आर्बिट्रेसन फर स्पोटर्स (कास) ले युइएफएको निर्णय उल्टाएपछि टोलीले युरोपेली क्लब फुटबलको दोस्रो श्रेणीको प्रतियोगिता खेल्न पाउने भएको हो।  

गत वर्ष अप्रिलमा चिनियाँ मालिकलाई क्लब बेचेयता मिलान समस्याले घेरिएको छ । पछिल्लो समयका कमजोर प्रदर्शनले क्लबको आर्थिक अवस्था थेग्न पनि कठिन हुने देखिएको थियो । मिलान मैदानमा सफल नतिजा निकाल्दै त्यसबाट मुक्ति पाउने योजनामा छ।

प्रकाशित: २० श्रावण २०७५ ०४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App