२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सरकारी जग्गा अतिक्रमण, निजी संरचना निर्माण

मन्दिर परिसरमा राखिएको काल्पनिक मन्दिरको साइनबोर्ड। तस्बिर : सुरेश/नागरिक

जनकपुरधाम - जनकपुरधाम–२३, बसपार्कस्थित सरकारी स्वामित्वको अर्बौंं रुपैयाँको जग्गा अतिक्रमण गरी धमाधम निजी संरचना निर्माण भइरहेको छ। चलनचल्तीको भाउअनुसार एक करोड रुपैयाँ प्रतिकट्ठाका दरले बिक्री हुने १५ बिघा (तीन सय कट्ठा) जग्गा भूमाफियाले जथाभाबी अतिक्रमण गरेका छन्। ‘श्री रामजानकी दुल्हा भगवान् बेला निकास (मन्दिर)’ नामक धार्मिक कुटीको संरक्षणमा रहेको उक्त जग्गा मन्दिरका नक्कली महन्त र भूमाफियाले मिलेर अवैध तरिकाले खरिदबिक्री गरिरहेको स्थानीयको आरोप छ। सरकारी स्वामित्वमा रहेको जग्गा गुठी संस्थानले अधिकारविपरीत परिचालन गर्दा माफियाको हातमा पुगेको भूमिसुधारका पूर्वअधिकृत लक्ष्मीकान्त झाले बताए।

१८८९ सालमा तत्कालीन राजा राजेन्द्र शाहले मन्दिरमा नित्य पूजापाठ तथा भगवान्को मूर्तिमा भोग लगाउन १५ बिघा ४ कट्ठा जग्गा बिर्ताबकस गरिदिएका थिए। अवकाश प्राप्त अधिकृत झाका अनुसार तत्कालीन राजा राजेन्द्रले मन्दिरको नाउँमा बिर्ताबकस गरिदिएको जग्गाको प्रमाण जीवित छ। उनको भनाइलाई आधार मान्ने हो भने जानकी मन्दिर निर्माण हुनुभन्दा झन्डै ६० वर्षअघि यो मन्दिर चर्चामा थियो।

चलनचल्तीको भाउअनुसार एक करोड रुपैयाँ प्रतिकट्ठाका दरले बिक्री हुने १५ बिघा (तीन सय कट्ठा) जग्गा भूमाफियाले जथाभाबी अतिक्रमण गरेका छन्। ‘श्री रामजानकी दुल्हा भगवान् बेला निकास (मन्दिर)’ नामक धार्मिक कुटीको संरक्षणमा रहेको उक्त जग्गा मन्दिरका नक्कली महन्त र भूमाफियाले मिलेर अवैध तरिकाले खरिदबिक्री गरिरहेको स्थानीयको आरोप छ।

जानकी मन्दिरका महन्त रामतपेश्वर दासका अनुसार अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्ध जानकी मन्दिरको वर्तमान भौतिक संरचना १९५२ सालमा निर्माण भएको हो। रामजानकी दुलहा भगवान्को मन्दिरको संरक्षण र उपभोगमा रहेको आठ बिघा ४ कट्ठा तथा सात बिघा दुई कित्ता गरी १५ बिघा सात कट्ठामध्ये अधिकांश जग्गा अतिक्रमणमा परिसकेको स्थानीय सुरेन्द्र यादवले बताए। मासिक प्रतिबिघा चार हजार रुपैयाँका दरले चार विघा जग्गा बसपार्कले भाडामा लिएको छ । चार कट्ठा जनकपुर–जलेश्वर सडकमा परेको छ। तीबाहेक करिब ९० प्रतिशत जग्गा अतिक्रमण भइसकेको सोही मन्दिरका पूजारी वीरेन्द्रदास वैष्णव भनिने वीरेन्द्र ठाकुरले बताए। मन्दिरका महन्त विषखोपरा भनिने रामएकवाल दासले मन्दिरको जग्गा निजी सम्पत्तिका रूपमा जथाभाबी बिक्रीवितरण गरिरहेको ठाकुरको आरोप छ।

दुई छोरा र पाँच छोरीका पिता रामएकवालमाथि मन्दिरका आधिकारिक महन्त धनेश्वर दासलाई हत्या गरेको अभियोग लागेको छ। उनको निधनपछि औपचारिक प्रक्रिया नै पूरा नगरी महन्त भएको स्वघोषणा गरेका विषखोपराले मन्दिरको नेतृत्व हातमा लिएदेखि जग्गा बिक्री सुरु गरेको आरोप स्थानीयको छ। उनको विरोधमा जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत र उच्च अदालत जनकपुरमा दर्जनौं अभियोग दर्ता छन्। अहिले पनि दैनिक १२ घन्टासम्म विभिन्न मुद्दाकै सिलसिलामा प्रहरी, अदालत र त्यससँग सम्बन्धित व्यक्तिहरुसँग महन्त रामएकवाल दासको समय बितिरहेको पूजारी ठाकुरले बताए।

विषखोपराले साबिक महन्त धनेश्वर दासको नामबाट करिब सात बिघा जग्गा बिक्री गरेको जनकपुरधाम–७ का वडाध्यक्ष शत्रुधन पाण्डेले जानकारी दिए। ‘पाँच धुरदेखि दुई कट्ठासम्मको टुक्रा बनाएर विषखोपराले दुई सय ८ जनाको नाउँमा जग्गा बिक्री गरेका छन्’, रामजानकी दुलहा भगवान् मन्दिरको उक्त जग्गामा हाल निजी घर बनाएर बसिरहेकाको नाम र ठेगानासहितको लिखित विवरण प्रस्तुत गर्दै पाण्डेले भने। धर्मको नाउँमा मठमन्दिरका महन्तले भूमाफियालाई पालेर सामाजिक अपराध बढाइरहेको वडा अध्यक्ष पाण्डेको आरोप छ।

अप्रत्यक्ष रूपमा गुठी संस्थानकै उक्साहट र मिलेमतोमा मन्दिरको अर्बैं मूल्यको सरकारी जग्गा अतिक्रमण भइरहेको पाण्डेको आरोप छ। उनले नेपाल सरकार तथा प्रदेश सरकारको सहयोग प्राप्त भए अहिले पनि उक्त जग्गाको अतिक्रमण रोक्न सकिने दाबी गरे। ‘पूर्वसांसददेखि हरेक राजनीतिक दलका नेता, कार्यकर्ता र उच्च तहका कर्मचारीले घर बनाएर बस्न थालेको यो जग्गा अझै पनि अतिक्रमणमुक्त गराउन सकिन्छ। यसका लागि तीनवटै तहको सरकारले निष्पक्ष रूपमा सहयोग गर्नुपर्छ,’ उनले भने।

प्रकाशित: २० श्रावण २०७५ ००:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App